काठमाडौँ, फागुन १९ गते । नेपालभाषाको पहिलो ओटिटी प्लेटफर्म ‘नेवा-फ्लिक्स’ को घोषणा सभा कीर्तिपुरस्थित कीर्तिपुर सिनेप्लेक्समा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी उपस्थित रहनुभएको थियो।
कार्यक्रममा ईलोहं प्रकाशनका प्रबन्ध निर्देशक नरेशवीर शाक्यले स्वागत मन्तव्यको क्रममा ईलोहं प्रकाशन विगत २६ वर्ष देखि निरन्तर सञ्चालन भै राखेको र हालको प्रविधिहरू पहिला भन्दा धेरै फरक भइसकेको कारण यसै प्रविधि सँग बढ्न ईलोहं इन्टरटेनमेन्ट सञ्चालनमा आएको कुरा राख्नुभयो ।
कीर्तिपुर सिनेप्लेक्सका अध्यक्ष नरेन्द्र महर्जनले नेपालभाषाका चलचित्र प्रदर्शनमा समस्या परे आफूलाई सम्झन आग्रह गर्नुभएको थियो।
विगतमा नेपाली फिल्मका रिल पाँच वटासम्म हुने तर भारतीय फिल्मका रिल हजारभन्दा बढी हुने गरेको प्रसङ्ग उल्लेख गर्दै उहाँले समयसँगै प्रिमियर र प्रदर्शनको स्वरूप परिवर्तन भएको बताउनुभयो।
अहिले ओटिटी प्लेटफर्ममार्फत रिलिज गर्ने प्रचलन बढ्दै गएको र अब नेपालभाषा सिनेमा पनि यसै माध्यमबाट संसार भरका दर्शकमाझ पुग्ने विश्वास वरिष्ठ फोटोग्राफर राजभाइ सुवालले गर्नुभयो ।
प्रमुख अतिथि दिनेश डिसीले विगतमा “पद्मरत्न यात त्याका दिसँ, प्रतिगामी तत्व यात बुका दिसँ” भन्ने पम्प्लेट छाप्ने र भित्ते लेखनको समय सम्झँदै सांस्कृतिक आन्दोलनको सन्दर्भ प्रस्तुत गर्नुभयो।
उहाँले ईलोहं प्रकाशनका सीओओ दर्शनवीर शाक्यको मुक्तकण्ठले प्रशंसा गर्दै सम्पदा र संस्कृतिका लागि काम गर्नु ठुलो कुरा भएको बताउनुभयो।
“बाँच्नु मात्र ठुलो कुरा होइन,” भन्ने धारणा राख्दै उहाँले नेपाल चलचित्र विकास बोर्ड ले ‘सिलु’ र ‘राजमती’ जस्ता कृतिहरू डिजिटलाइजेसन गर्नु पर्ने कुराको जोड दिनुभयो। नेपालभाषाका सामग्री प्रवर्धनका लागि (नेवा९ फ्लिक्स) उपयुक्त प्लेटफर्म हुने विश्वास व्यक्त गर्नुभयो ।
नेपालभाषाको पहिलो ओटिटी प्लेटफर्म ‘नेवा-फ्लिक्स’ घोषणा कार्यक्रममा इलोहं प्रकाशनका सिओओ दर्शनवीर शाक्य ले यस पहललाई नेपालभाषा क्षेत्रमा नयाँ आयामका रूपमा व्याख्या गर्नुभयो ।
उहाँले सानैदेखि नेपालभाषा क्षेत्रमा हुर्किएको स्मरण गर्दै यस क्षेत्रमा निरन्तर योगदान दिँदै आएको बताउनुभयो। दुई वर्षको मिहिनेतपछि ‘नेवा-फ्लिक्स’ सार्वजनिक गर्न सफल भएको उल्लेख गर्दै इन्टरनेटको माध्यमबाट नेपालभाषाका सम्पूर्ण सिनेमा र म्युजिक भिडियो हेर्न सकिने जानकारी दिनुभयो।
“यसलाई माया गरिदिनुहोस्,” भन्दै उहाँले दर्शकको साथ र सहयोगको अपेक्षा व्यक्त गर्नुभएको थियो। सिनेमा हलसम्म पुग्न नसक्ने दर्शकका लागि यो प्लेटफर्म उपयुक्त माध्यम हुने विश्वास व्यक्त गर्दै उहाँले डिजिटल प्रविधिले पहुँच विस्तार गर्ने धारणा राख्नुभयो।
२०२२ सालतिर नेपालभाषामाथि बन्देजको अवस्था रहेको स्मरण गर्दै अहिले समय परिवर्तन भइसकेको र समय अनुसार अगाडि बढनुपर्ने कुरा राख्नुभयो।
नेपालभाषाका चलचित्रलाई व्यावसायिक रूपमा सशक्त बनाउन ‘नेवा-फ्लिक्स’ प्रभावकारी र उपयुक्त मञ्च हुने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा ईलोहं इन्टरटेनमेन्टका अध्यक्ष प्रज्ञादेवी शाक्यको सभापतित्वमा सम्पन्न भएको थियो साथै उहाँले अतिथिहरूलाई मायाको चिनो प्रदान गर्नुभएको थियो।
उहाँले नेपालभाषा चलचित्र, संस्कृति र सम्पदालाई डिजिटल माध्यममार्फत विश्वदर्शकमाझ पुर्याउने लक्ष्यसहित ‘नेवा९फ्लिक्स’ को औपचारिक घोषणा गर्नु भयो। यसमा टेक्निकल पक्ष प्लुटोनिक मिडियाको रहेको छ ।