• १४ असार २०८१, शुक्रबार

वन समूहको बहुउपयोग नीति

blog

लीलाधर वली 

घोराही, साउन ४ गते । डिभिजन वन कार्यालय दाङले सामुदायिक वनको खाली जग्गामा कुरिलो खेती सुरु गरेको छ । सामुदायिक वन उपभोक्ता समूहमा आबद्ध विपन्न समुदायको आयआर्जनमा सहयोग पु-याउने उद्देश्यले खाली जमिनमा सो खेती गरिएको हो । सामुदायिक वन समूहका माध्यमबाट तरकारी खाने कुरिलोको व्यावसायिक खेती सुरु गरेको हो । 

घोराही उपमहानगरपालिका–१८, अखबरेस्थित वसन्त हरियाली सामुदायिक वन उपभोक्ता समूहको जमिनमा पहिलो पटक कुरिलो रोपिएको हो । लुम्बनी प्रदेश सरकारको वन वातावरण तथा भू–संरक्षण मन्त्रालयको पाँच लाख, डिभिजन वन कार्यालयको थप २५ प्रतिशत र उपभोक्ताको लागत सहभागिता करिब एक लाख ४० हजार रुपियाँ गरी छ लाख ४० हजार रुपियाँ खर्च गरेर दुई हेक्टर जमिनमा छ हजार दुई सय बिरुवा रोपिएको समूहका सचिव राममाया रोकाले जानकारी दिनुभएको छ । 

वन समूहले श्रीखण्ड रोपेको ४.१५ हेक्टर क्षेत्रफलकै खाली रहेको जमिनलाई उपयोग गर्दै समूहको आम्दानी बढाउने उद्देश्यअनुसार कुरिलो रोपिएको उहाँले बताउनुभयो । वन समूहले ६२ सय कुरिलोसँगै तीन सय टिमुरका बिरुवासमेत रोपिएको छ । चार वर्षअघि श्रीखण्ड रोपेको थियो । अहिले ती बिरुवा हुर्कंदै छन् । 

कुरिलोका २५ प्रतिशत बिरुवाहरू बचाउन सकिए मात्रै पनि दुई वर्षपछि उपभोक्ताले वार्षिक छ लाख रुपियाँ कुरिलो बेचेर आम्दानी लिन सक्ने प्रमुख श्रेष्ठले बताउनुभयो । कुरिलो रोपेपछि कम्तीमा दस वर्षसम्म उपयोग गर्न सकिने र  एकै वर्षमा तीनदेखि चार पटकसम्म बोटबाट आम्दानी लिन सकिने बताउनुभयो ।