• २० चैत २०८२, शुक्रबार

समाज रूपान्तरणमा दल

blog

हाम्रो राजनीतिक प्रणालीमा राजनीतिक दलहरूले निर्वाचनको माध्यमबाट शासनसत्ता सञ्चालन गर्ने परिपाटी बसेको २००७ सालपछि मात्रै हो । २००७ सालपछि पनि ३० वर्ष त निर्दलीय पञ्चायत प्रणाली चलेको थियो । सात सालपछि राजनीतिक पार्टीहरूको शासनसत्तामा कार्यकर्ताको भूमिका के कस्तो रह्यो र रहनु पर्छ भन्नेबारे गम्भीर अध्ययन अनुसन्धान भएको छैन । यसमा ध्यान नपुग्दा प्रणालीमा परिमार्जन हुन सकेको छैन र राजनीतिक शून्यता छाएर समय समयमा जनताले आन्दोलन र विद्रोह गरेका थुप्रै उदाहरण छन् । 

दल वा पार्टीका कार्यकर्ताको परिचालन जहाँ सुव्यवस्थित र नियमबद्ध रूपमा हुन्छ, त्यहाँ चाँडै विकास हुन्छ । चाँडै आर्थिक प्रगति हुन्छ । सरकारका काम प्रभावकारी ढङ्गले सम्पादित हुन्छन् । समाजको रूपान्तरण सहज गतिमा अगाडि बढ्छ । हामीकहाँ राजनीतिक कार्यकर्ताको परिचालन प्रणाली छँदै छैन भने पनि हुन्छ । त्यसैले हामी पछौटे छौँ, अल्पविकसित छौँ । राजा महेन्द्रले गाउँफर्क जस्ता कार्यक्रम दिएर, पञ्चहरूलाई श्रमदान, कामको अनुगमन र गुप्तचरी गर्न लगाएर कार्यकर्ता परिचालन गराउने प्रयास थालेका थिए । त्यति मात्र होइन, राजा महेन्द्रले आफँै सर्वेसर्वा नेता भएर पनि प्रधानमन्त्री या कार्यकारी प्रमुखमा कार्यकर्तालाई जिम्मेवारी दिएका थिए । यो पनि कार्यकर्ता परिचालनको एक महत्वपूर्ण कुरा हो । अहिलेको नयाँ सन्दर्भमा हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बालेन साहलाई प्रधानमन्त्री बनाउँदा यो राजनीतिक परिपाटी कति धेरै प्रभावकारी ढङ्गले परिचालित हुने रहेछ भन्ने देखिन्छ । एमाले नेता मदन भण्डारीको कार्यशैली पनि यस्तै प्रभावकारी नै रहेको थियो । वरिष्ठ नेता मनमोहन अधिकारीलाई पार्टी अध्यक्ष बनाउनुमा उहाँको यस्तै उच्च सोच थियो । यद्यपि उहाँलाई सरकार सञ्चालनको अवसर आएन । पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले यति कमजोर बन्नुको कारण पनि आफू पछाडि बसेर कार्यकर्तालाई काम गराउनुको सट्टा आफैँ प्रधानमन्त्री बन्न लालायित रहनु नै हो भन्ने विश्लेषण राजनीतिक वृत्तमा गरिन्छ । 

यी त माथिल्लो तहका कुरा भए । तल्लो तहका कार्यकर्ताको परिचालन पनि पार्टीको सफलताका लागि एक मुख्य कारण मानिन्छ । हामीकहाँ बेला बेला अमुक पार्टीका यति लाख कार्यकर्ता छन् भनेर समाचार सार्वजनिक हुने गरेका छन् । त्यस्ता लाखौँ कार्यकर्ताको परिचालन आखिर केमा गरिएको छ ? बेला बेला नेताहरूले आआफ्ना गुटको प्रचारबाजी गर्न आयोजना हुने विचार गोष्ठीमा, एनजिओ आइएनजिओका औपचारिक कार्यक्रममा, नियुक्तिका प्रतिस्पर्धामा वा कार्यालयमा काम गर्न पैसावालाको फाइल बोकेर मध्यस्थता गर्न हिँड्ने काममा वा नेताहरू गिरफ्तार भए भने सडकमा जुलुस निकालेर टायर बाल्ने, रेलिङ भाँच्ने काममा बढी देखिन्छन् तर जति लाख कार्यकर्ता भए पनि कार्यकर्ताको परिचालन सही ढङ्गले भएन भने त्यस्तो पार्टीले कुनै परिणाम दिन सक्तैन ।

पार्टीका नेताहरूमा नै कार्यकर्ता परिचालन कसरी गर्ने भन्ने कुनै अवधारणा नै पाइन्न । सिर्जनात्मकता वा मानसिक स्वस्फूर्तभन्दा फाइल बढुवाबाट नेता बनेका कारणले पनि कार्यकर्ताहरू काम नपाएर पार्टीमा निराश देखिन्छन् । जो छट्टु छन् तिनले पार्टीको आडमा चन्दा वा कमिसन लिन्छन्, नेतालाई भेटी चढाएर बेला बेला मद्दत गर्छन् । केही राम्रो, जनतालाई भलो हुने काम गर्न सकिन्छ कि भनेर पार्टीमा लागेकाहरू आफ्नै पार्टी सत्तामा पुगेपछि पनि काम या जिम्मेवारी नपाएर निराश हुन्छन् । अब पार्टी कार्यकर्तालाई के कसरी जिम्मेवारी दिन सकिन्छ 

भन्नेबारेमै विचार गर्नु पर्छ । निर्वाचनको समयकै कुरा गरौँ न; त्यो राजनीतिक महाअभियानमा त सबै पार्टीका नेता कार्यकर्ता घरदैलो, जुलुस, सभासमारोहमा हिँडेकै हुन्छन् । सामूहिक र व्यक्तिगत भेटघाटमा हजारौँ प्रकारका समस्या सुन्न र बुझ्न पाएका हुन्छन् । तिनले जनताले दिएका सुझाव, गुनासा र समस्या एक कानले सुनेर अर्को कानले उडाइरहेका पनि हुन्छन् तर यसो गर्नुको बदला आफँैले वा आफ्ना निजी सहायक वा आफ्ना स्थानीय एकाइका कार्यकर्तामार्फत जनताका ती समस्याको टिपोट गरेर राख्नुपर्ने हो र पछिसम्म पनि त्यसको अनुगमन गर्नुपर्ने हो नि तर धेरै नेताले त्यसो गरेको पाइएन । अझ केन्द्रीय नेताले त देशभरिका यस्ता समस्याको टिपोट मगाएर अभिलेखीकरण गरी आफू सरकारमा गएको बेला सम्बोधन गर्नुपर्ने हो तर त्यसो गरेको पाइँदैन । 

चुनावको सन्दर्भमा मात्र होइन, सरकारमा गएपछि देशभर राष्ट्रिय महत्वका र स्थानीय महत्वका योजना र कार्यक्रमको अवस्था के छ ? तिनका समस्या के छन् र जनताले कस्तो समाधान चाहेका छन् भन्ने कुराको रिपोर्ट पनि नेताहरूले कार्यकर्ताबाट प्राप्त गरिरहनु पर्छ र तिनको अनुगमनमा कार्यकर्तालाई खटाइरहनु पर्छ । जस्तै नेपालको वर्तमान समयका केही समस्यालाई उदाहरणका रूपमा लिने हो भने कुनै आयोजना वा संस्थान समयमा काम सम्पन्न गर्ने अवस्थामा छैनन् । यसो हुनमा त्यहाँभित्रको समस्या के हो ? श्रमिकको समस्या हो कि ? व्यवस्थापनको कमजोरी या लापर्बाही हो कि ? ठेकेदारको बेवास्ता वा सरकारले समयमा रकम भुक्तानी नगर्दा अथवा वन/विद्युत् आदि सरकारी निकायसँगको समन्वय र तदारुकताको अभावले समस्या पैदा भएको हो भन्ने जानकारी कार्यकर्ताको अनुगमन अध्ययनबाट प्रस्ट बुझ्न सकिन्छ । यस्तो अध्ययन केन्द्रीय नेतृत्व या सङ्घीय सरकारले गर्नु पर्छ र तद्अनुरूपको निर्देशन निकायहरूलाई दिनु पर्छ । यसो गरिएन भने मन्त्रीको निर्देशन पनि कार्यान्वयन नभई थन्किन्छ । 

यसै गरी नेपालमा बढ्दो विकासका पूर्वाधार निर्माणका काममा कति जनशक्ति या श्रमिकहरूको खपत भएको छ ? त्यो कहाँबाट कसरी किन आपूर्ति भएको छ ? नेपालका बेरोजगार युवालाई त्यहाँ रोजगारी दिलाउन खाडी क्षेत्र र मलेसियाका कम्पनीले जस्तै विज्ञापन गरेर खुला प्रतिस्पर्धामा लगाउन कति सम्भव छ भन्ने अध्ययन पनि गराउन आवश्यक छ । रोजगारी दिँदा दिगो विकासको काममा दिने र सत्ताको भनसुन र पहुँच नभएकालाई पनि निष्पक्ष प्रतिस्पर्धाबाट दिने परिपाटी बसाल्न आवश्यक छ । यो कार्यकर्ता परिचालनको एउटा उदाहरण मात्र हो । जिम्मेवारीमा रहेका नेताको दैनिक काममा यस्ता सयौँ समस्या आइपर्छन् । तिनको अध्ययन, विश्लेषण र समाधानमा सरकारी कर्मचारीको मात्र भर नपरी आफ्ना कार्यकर्ताको परिचालन गर्नु सफल राजनीतिज्ञको काम हो । आफ्नै सरकारी गुप्तचरका रिपोर्ट पनि नहेरेर लापर्बाही गर्ने नेताले कार्यकर्ताको यस्तो परिचालन र रिपोर्ट के हेर्लान् ? मेरा यति लाख र उति लाख कार्यकर्ता छन् भन्ने अनि जनता र देशले कर्मचारीले गरेका कामको प्रतिफलमा भर पर्नुपर्ने अवस्थाले जनताका लागि पार्टी कार्यकर्ता धेरैथोरै हुनुको कुनै अर्थ रहँदैन । भरखर सत्तामा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता कति पुगेका छन् भन्ने अहिले यकिन छैन । किनभने ज्यादै छोटो समयमा यो पार्टीप्रति आकर्षणका लहर देखिएको हो । त्यसैले यो पार्टीले चाहिँ अब कार्यकर्ता यति छन् नभनोस् । सबै रूपान्तरणका काम कर्मचारीबाट मात्र सम्भव हुन्छ भन्ने पनि नठानोस् ।