• २० चैत २०८२, शुक्रबार

दोलखाको एवोमा लाखौँको आलुखेती नष्ट, किसान चिन्तित

blog

असिनाले नष्ट पारेको आलुखेती । तस्बिर : बाबुराम शर्मा

बाबुराम शर्मा
दोलखा, चैत २० गते ।
अविरल वर्षासँगै परेको असिनाले दोलखाको वैतेश्वर गाउँपालिका–८ एवोमा लाखौँ रुपियाँ बराबरको आलुखेतीमा क्षति पुगेपछि किसान चिन्तित बनेका छन्।

लगातारको बेमौसमी वर्षासँगै खसेको असिनाले सिंगो गाउँमा लगाइएको आलुखेती नष्ट भएपछि यहाँका किसान समस्यामा परेका हुन्। असिनाले करिब एक हजार पाँच सय रोपनी क्षेत्रफलमा लगाइएको आलु पूर्ण रूपमा नष्ट गरेको किसान बलबहादुर जिरेलले बताउनुभयो।

एवोको जिरेल टोल, कार्की टोल, बस्नेत गाउँ र खत्री गाउँमा लगाइएको करिब सात सय मुरी बराबर फल्ने आलुखेतीमा क्षति पुगेको हो। किसान तिलक जिरेलका अनुसार उहाँको १५ मुरी बराबरको आलुखेती नष्ट भएको छ।

यहाँका किसानहरूको मुख्य आम्दानीको स्रोत तथा दैनिक गुजाराको आधार नै आलुखेती हो। करोडौँ रुपियाँ बराबरको आलुखेती असिनाले नष्ट पारेपछि सिंगो गाउँ नै चिन्तित बनेको छ।

स्थानीय किसानहरूका अनुसार गत वर्ष स्थानीय सहकारीमार्फत करिब साढे दुई करोड रुपैयाँ बराबरको आलु बिक्री गरिएको थियो। यस वर्ष भने प्राकृतिक प्रकोप र रोगका कारण किसान थप समस्यामा परेका छन्।

स्थानीय ललितबहादुर बस्नेतले गत वर्ष छ लाख रुपियाँ बराबरको आलु बिक्री गर्नुभएको थियो। तर यस पटक चैतमै असिनाले आलुमा क्षति पुर्‍याएपछि अर्को सिजनसम्म बारी बाँझै बस्न सक्ने चिन्ता बढेको उहाँले बताउनुभयो।

समुद्री सतहदेखि करिब २२ सयदेखि २५ सय मिटर उचाइमा अवस्थित एवो गाउँ वैतेश्वरकै टाढा र विकट लेकाली बस्ती हो। यहाँका करिब १०८ किसानले वर्षौंदेखि व्यावसायिक रूपमा आलुखेती गर्दै आएका छन्।

नियमित परेको पानी र असिनाले आलुको बोट नै नष्ट गरेको वैतेश्वर–८ का वडाध्यक्ष शान्तबहादुर जिरेलले बताउनुभयो।

मौसमी वर्षे बालीका रूपमा मङ्सिर–पुसमा लगाइने आलु यस क्षेत्रमा साउनदेखि खन्ने गरिन्छ। अहिले बाली नष्ट हुँदा बेमौसमी आलुका लागि बिउसमेत अभाव हुने अवस्था सिर्जना भएको छ।

गाउँपालिका अध्यक्ष छवि लामाले आलुखेती नष्ट हुँदा किसानलाई करोडौँको क्षति भएको बताउँदै पालिकाले राहत उपलब्ध गराउने जानकारी दिनुभयो।

क्षतिग्रस्त बालीको अनुगमन गर्दै आउँदो बजेटमार्फत राहत उपलब्ध गराइने उहाँले बताउनुभयो। क्षतिको विवरण सङ्कलन गर्न पालिका अध्यक्ष लामासहित उपाध्यक्ष कल्पना उप्रेती, प्रमुख प्रशासकीय अधिकृत महेश पौडेल र कृषि प्राविधिकहरूको टोली एवो पुगेको थियो।

टोलीले पीडित ८७ जना आलु किसानको विवरण सङ्कलन गरेर फर्किएको वैतेश्वर गाउँपालिकाका कृषि प्राविधिक निरोज पाण्डेले जानकारी दिनुभयो।