• २८ वैशाख २०८१, शुक्रबार

आर्थिक विधेयक अघि बढाउन सभामुखको ध्यानाकर्षण

blog

गोरखापत्र अनलाइन

काठमाडौं, साउन ३ गते । नेपाल चेम्बर अफ कमर्सले प्रतिनिधि सभामा विचाराधिन रहेका अर्थतन्त्रसँग सम्वन्धित बिभिन्न विधेयकलाई अघि बढाउन सभामुख अग्नि सापकोटालाई ध्यानाकर्षण गराएको छ । सिंहदरवारस्थित सभामुख सापकोटाको कार्यकक्षमा आज भएको भेटबार्तामा चेम्बरले सम्वन्धित विभिन्न एघार वटा विधेयकहरु अघि बढाउन सभामुख सापकोटाको ध्यानाकर्षण गराएको हो । 

चेम्बर अध्यक्ष राजेन्द्र मल्लसहित पदाधिकारीले सभामुख सापकोटासँग बिचाराधिन अवस्थामा रहेका धेरै विधेयकहरु रोकिँदा नीजि क्षेत्रसँग सम्वन्धित कतिपय समस्याहरु सम्वोधन हुन नसकेको बताउनुभएको थियो ।  

धितोपत्रसम्वन्धी ऐनलाई संशोधन गर्नेसम्वन्धी विधेयक अर्थसमितिमा छलफलका क्रममा रहेको छ । यस्तै, बैंक तथा वित्तीय संस्थासम्वन्धी ऐन २०७३ लाई संशोधन गर्नेसम्वन्धी ऐन पनि अर्थ समितिमा छलफलकै क्रममा रहेको चेम्बरले जनाएको छ । बीमासम्वन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक पनि अर्थ समितिमा छलफलकै क्रममा रहेकाले संघीय निर्वाचन अघि अर्थसँग सम्वन्धित सबै विधेयक पारित गर्न पहल गरिदिन अध्यक्ष मल्लले आग्रह गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन एवम् प्रतिनिधि सभा र संसदीय विभिन्न समितिमा रोकिएका अर्थतन्त्र सम्वन्धित सवै विधेयकलाई संघीय निर्वाचन अघि पारित गराउन म सभामुखज्यूलाई आग्रह गर्दछु, ।’

सभामुखसँगको भेटका क्रममा अध्यक्ष मल्लले व्यवस्थित ढंगले गाँजाको खेती गर्ने वातावरण बनाउन समेत सभामुखलाई आग्रह गर्नुभयो । गाँजाको व्यवस्थित उत्पादन र निर्यात प्रवद्र्धन गर्न सकिए वर्तमान व्यापार घाटा कम गर्न सकिने अध्यक्ष मल्लको भनाइ छ । गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयकलाई तत्काल अघि बढाउन पनि अध्यक्ष मल्लले सभामुख सापकोटाको ध्यानकर्षण गर्नुभयो । संघीय निर्वाचन अघि अर्थतन्त्रसँग जोडिएका सवै विधेयक पारित भए मुलुकको आर्थिक क्षेत्रले निकास पाउने अध्यक्ष मल्लले बताउनुभयो ।

चेम्बर पदाधिकारीसँगको भेटका क्रममा सभामुख सापकोटाले रोकिएका विधेयकलाई अघि बढाउन आफुले पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । सभामुख सापकोटाले भन्नुभयो, ‘केही विधेयकलाई अघि बढाउन सम्वन्धित निकायमा भनिसकेको छुँ । बजेटसँग सम्वन्धित विद्येयक करिव सकिएको छ । अरु विधेयकलाई पनि अड्काउन हुँदैन भन्नेमा सचेत छु ।’

छलफलका क्रममा रहेका आर्थिक विधेयकका सम्वन्धमा सम्वन्धित समितिका सभापतिसँग जानकारी लिने समेत सभामुख सापकोटाले बताउनुभयो । सबै आर्थिक विधेयकलाई प्राथमिकतामा राखेर अघि बढाउन आफुले पहल गर्ने सभामुख सापकोटाको भनाइ छ ।

सभामुखसँगको भेटका क्रममा चेम्बरका पदाधिकारीले केही विधेयकहरु संसदीय समितिमा झण्डै चारवर्षदेखि रोकिएको र यसले आर्थिक क्षेत्रमा नकारात्मक असर गरेको भन्दै सभामुख सापकोटाको ध्यानाकर्षण गराएका थिए ।