• २० चैत २०८२, शुक्रबार

विद्यालय शिक्षा परीक्षा (एसइई) सुरु

उत्तरपुस्तिका परीक्षण तत्कालै

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत २० गते । २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) बिहीबारबाट सुरु भएको छ । परीक्षाको पहिलो दिन सबै केन्द्रमा सौहार्दपूर्ण वातावरणमा परीक्षा सम्पन्न भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । 

परीक्षाको पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा थियो । बोर्डका अनुसार परीक्षामा पाँच लाख १२ हजार ४२१ जना सहभागी भएका छन् । बोर्डको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का अनुसार परीक्षामा दुई लाख ५७ हजार ६१३ जना छात्रा र दुई लाख ५४ हजार ८०१ जना छात्र छन् । 

परीक्षाका लागि एक हजार ९६६ केन्द्र तोकिएको परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिनुभयो । जसमध्ये नेपाली भाषाको पढाइ भइरहेको जापानको विद्यालयका लागि एउटा केन्द्र तोकिएको छ । उक्त केन्द्रबाट २३ जना परीक्षार्थी सहभागी भएका छन् । एसइई चैत २९ गतेसम्म सञ्चालन हुने तालिका यसअघि नै सार्वजनिक भइसकेको छ । जस अनुसार परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा थियो । 

चैत २० गते अनिवार्य नेपाली, २२ गते अनिवार्य गणित, २३ गते विज्ञान तथा प्रविधि, २४ गते सामाजिक अध्ययन, २५ गते ऐच्छिक प्रथम खण्डका सबै विषय र २६ गते ऐच्छिक द्वितीय खण्डका सबै विषयको परीक्षा सञ्चालन हुने छ । चैत २७, २८ र २९ गते भने प्राविधिक धारका बाँकी विषयको परीक्षा सञ्चालन हुने छ । परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार परीक्षामा अनिवार्य विषयका प्रश्नपत्र प्रदेश अनुसार सात प्रकारकै रहेका छन् । यसैबिच यस पटक परीक्षा भएकै दिन उत्तरपुस्तिका परीक्षण पनि सुरु गरिएको छ । उहाँका अनुसार कतिपय केन्द्रले बिहीबार परीक्षा भएको 

अङ्ग्रेजी विषयको उत्तरपुस्तिका परीक्षणसमेत सकिसकेका छन् । 

यस पटक परीक्षा सकिएको बढीमा एक महिनाभित्रमा नतिजा प्रकाशन गर्ने योजना बोर्डले बनाएको छ । सोही योजना अनुसार उत्तरपुस्तिका परीक्षणको काम परीक्षा सम्पन्न भएकै दिनदेखि सुरु गरिएको हो । 

केही जिल्लाबाट बिहीबार नै उत्तरपुस्तिका परीक्षण सकिएको जानकारी आएको अधिकारीले बताउनुभयो । यस पटक परीक्षाकेन्द्रमै उत्तरपुस्तिका परीक्षणको अधिकार दिइएको थियो । यसअघि भने एक प्रदेशको उत्तरपुस्तिका अर्को प्रदेशमा लगेर परीक्षण गराउने गरिएको थियो । तर परीक्षा सम्पन्न भएको केन्द्रमै परीक्षण गराउँदा नतिजाको गोपनीयता र निष्पक्षतामा सरोकारवालाले शङ्का गरेका छन् ।