• ७ पुस २०८१, आइतबार

हेलचेक्राइँ गर्दा सङ्क्रमण बढ्यो : चिकित्सक

नेपालमा कोरोना सङ्क्रमणको चौथाे लहरको सङ्केत

blog

सिर्जना खत्री 

काठमाडौं, साउन २ गते । नेपालमा कोरोना सङक्रमणदर पुनः बढ्दो क्रममा रहेको छ । सङ्क्रमण बढेसँगै कोरोना सङ्क्रमणको चौथो लहर सुरु भएको अनुमान चिकित्सकहरूको छ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले नेपालमा कोरोना सङ्क्रमणको चौथो लहरको सङ्केत देखिएको बताउनुहुन्छ ।  सोमबार २४ घण्टामा गरिएका परीक्षणमध्ये झन्डै १० प्रतिशत (९९.८२ प्रतिशत) मा कोरोना पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीका अनुसार सोमबार देशभरका ल्याबमा चार हजार ६५१ जनाको आरटी पिसिआर र एन्टिजेन परीक्षण गर्दा ४५७ जनामा सङ्क्रमण देखिएको छ । 

भर्ना भएका अधिकाँश बिरामीमा ज्वरो आउने, घाँटी दुख्ने, जीउ दुख्ने, रुघा लाग्ने, थकित, पसिना आउनेजस्ता लक्षण लिएर अस्पतालमा भर्ना हुने गरेका छन् । 

गत असार १ गते परीक्षण गरिएकामध्ये ०.६४ प्रतिशतमा कोरोना पुष्टि भएको थियो । मन्त्रालयले जारी गरेको कोरोना सङ्क्रमणदर हेर्दा एक महिनामा ९.१८ प्रतिशतले सङ्क्रमणदर बढेको  देखिएको छ । एक महिनामा तीन हजार एक सय ६३ जना कोरोना सङ्क्रमित थपिएका छन् । 

काठमाडौंमा सबैभन्दा बढी

सङ्क्रमण बढेसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएको छ । एक महिनामा सक्रिय सङ्क्रमित एक हजार ७७६ पुगेको छ, जसमध्ये काठमाडौं उपत्यकामा सबैभन्दा बढी एक हजार ११३ जना सक्रिय सङ्क्रमित रहेका छन् । त्यसैगरी, नेपालमा शून्य सङ्क्रमित भएका जिल्ला आठ मात्र रहेका छन् । 

सरकारले गत हप्ता टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जिन सिक्वेन्सिङ गर्दा अधिकाँश नमुनामा ओमिक्रोनको उपप्रजाती बिए टु र अन्य नमुनामा बिए वान र बिए फाइभ पुष्टि भएको थियो । 

मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले अन्तर्राष्ट्रिय नाकाबाट प्रवेश गर्ने यात्रुमा परीक्षण गर्दा अधिंकाश यात्रुमा कोरोना पुष्टि भएकाले नेपालमा सङ्क्रमण बढ्दै गएको जानकारी दिनुभयो । 

त्यसका अलावा नेपालमा पछिल्लो समयमा भीडभाड बढ्दै गएको र मानिसले जनस्वास्थ्यका मापदण्डा पालन गर्न छोडेकाले पनि सङ्क्रमितको सङ्ख्या बढ्दै गएको उहाँले जानकारी दिनुभयो । 

महाराजगन्जस्थित शिक्षण अस्पतालका फोकल पर्सन डा. निरज बमले मौसम परिवर्तन भएकाले भाइरल ज्वरो, रुघा खोकी लागेर अस्पतालमा आउने सङ्ख्या बढेको र जाँच गर्दा उहाँहरुमा कोरोना पुष्टि भएको बताउनुहुन्छ । 

उहाँले भन्नुभयो, “मौसम परिवर्तन, स्वास्थ्यका मापदण्ड पालन गर्न छाडेकाले पछिल्लो केही दिनदेखि भाइरल ज्वरो आउनेको सङ्ख्या पनि बढ्दै गएको छ, उहाँहरुमा जाँच गर्दा कोरोना पुष्टि भएको पाइएको छ ।” 

 अस्पतालमा भर्ना हुने बढ्दै 

अस्पतालमा भर्ना हुने सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएको छ । सरकारी तथ्याङ्क अनुसार एक हजार सात सय सक्रिय सङ्क्रमितमध्ये  ७५ जना अस्पतालको आइसोलेसनमा भर्ना भएका छन् । जीमध्ये १५ जना आइसियु र एकजना भेन्टिलेटरमा उपचाररत छन् । 

 टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ६ जना सङ्क्रमितलाई भर्ना गरिएको छ । अस्पतालका सूचना अधिकृत नवराज गौतमका अनुसार जसमध्ये तीनजना आइसियुमा र तीनजनालाई अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ । त्यसैगरी, टिचिङ अस्पतालमा सामान्य अक्सिजन दिएर दुईजना सङ्क्रमितलाई भर्ना गरिएको छ । 

टेकु अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. बिमल शर्मा चालिसेका अनुसार अस्पतालमा भर्ना भएका अधिकाँश बिरामीमा ज्वरो आउने, घाँटी दुख्ने, जीउ दुख्ने, रुघा लाग्ने, थकित, पसिना आउनेजस्ता लक्षण लिएर अस्पतालमा भर्ना हुने गरेका छन् ।  ओमिक्रोनको उपप्रजाति बिए फाइभ ओमिक्रान भन्दा सङ्कामक र घातक रहेकाले सचेत रहन डा. चालिसेको आग्रह छ । 

सरकारको तयारी 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले नेपालमा कोरोना नियन्त्रणमा बनाइएका संयन्त्र भएकाले सबै अस्पताल, पालिका र सिसिएसिलाई तयारी अवस्थामा रहन निर्देशन दिएको जानकारी दिनुभयो । 

 उहाँले भन्नुभयो, “पहिले नै संयन्त्र तयारी अवस्थामा छन् । त्यसैले थप तयारीको आवश्यक छैन । भएका संयन्त्रलाई तयारी अवस्थामा राख्न निर्देशन दिइसकेका छौँ, आवश्यक अक्सिजन, आइसियु भेन्टिलेटर पनि तयारी अवस्थामा राख्न निर्देशन दिइसकेका छौँ ।” 

पहिलेदेखि नै स्वास्थ्यका मापदण्डा पालन गर्न आग्रह गर्दा गर्दै पनि स्वास्थ्यका मापदण्डा पलान गर्न हेलचेक्राइँ गरेकाले सङ्क्रमण बढेकाले कडाइका साथ स्वास्थ्यका मापदण्डा अपनाउन लगाउन सबै निकायलाई निर्देशन दिइसकेको उहाँले जानकारी दिनुभयो । त्यसका अलावा नाकाहरुमा कडाइका साथ चेक जाँच गरेमात्रै नेपाल भित्राउन दिने व्यवस्था गरेको उहाँको भनाइ छ । 

मापदण्ड पालन गर्न आग्रह 

कोरोना बढ्दै गएकाले स्वास्थ्यका मापदण्ड पालन गर्न भीडभाडमा नजाने, मास्कको प्रयोग गर्ने चिकित्सकको सुझाव छ । विश्वमा ओमिक्रोनको उपप्रजाती बिए वान र बिए टुलाई बिए फाइभले प्रतिस्थपादन गर्दै गएको छ । विभिन्न अध्ययनहरुले बिए फाइभ भेरिएन्ट ओमिक्रोनका अन्य प्रजातिभन्दा बढी सङ्क्रमक भएकाले जनस्वास्थ्यको मापदण्ड अपनाउन मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीको आग्रह छ । 

 ज्वरो आए पनि नआए पनि यदि घाँटी दुखेको छ, खोकी लागेको छ, थकान महसुस भएमा कोभिड हुन सक्ने भएकाले कोभिडको जाँच गराउन चिकित्सको आग्रह छ । कोभिडको पिसिआर जाँच सरकारी स्वास्थ्य संस्थामा निःशुल्क गर्दै आएको छ । कोभिडविरुद्धको खोप लगाएका जोखिम कम हुने हुँदा कोरोनाविरुद्धको खोप लगाउन डा. चालिसेको सुझाव छ । 

नेपालमा कोरोना सङ्क्रमण सुरु भएदेखि अहिलेसम्म आरटी पीसीआर र एन्टिजेन परीक्षण गर्दा ११ लाख २२ हजार ७९३ जनामा कोरोना पुष्टि भइसकेको छ ।  जसमध्ये नौ लाख ६८ हजार ६४ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा सङ्क्रमित निको हुने दर ९८.६ प्रतिशत छ भने ११ हजार  ९५४ जनाको मृत्यु भएको छ । नेपालमा सङ्क्रमितको मृत्युदर १.२ प्रतिशत छ ।

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।