• ३ कात्तिक २०८२, सोमबार

हत्यामा संलग्न अभियुक्त १९ वर्षपछि पक्राउ

blog

जिल्ला प्रहरी कार्यालय सर्लाही । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री
सर्लाही, कात्तिक ३ गते ।
सर्लाही प्रहरीले १९ वर्षअघि भएको हत्या र लुटपाटको घटनामा संलग्न एक अभियुक्तलाई अहिले बल्ल पक्राउ गरेको छ ।

जिल्लाको चक्रघट्टा गाउँपालिका–१ (साबिकको पडरिया गाविस वडा नं. १) बस्ने राजेन्द्रप्रसाद चौधरीको हत्यामा संलग्न अभियुक्तलाई प्रहरीले १९ वर्षपछि पक्राउ गर्न सफल भएको हो । पक्राउ पर्नेमा कविलासी नगरपालिका–६ (साबिकको जमुनिया गाविस ६) का ४४ वर्षीय महेन्द्र राय रहेका छन् ।

२०६३ साल माघ ७ गते साँझ जमुनियास्थित मदनपुर बजारबाट पसल बन्द गरेर छोरासँगै मोटरसाइकलमा घर फर्किदा गर्दा राजेन्द्रप्रसाद चौधरीको हत्या भएको थियो । मोटरसाइकलको पछाडि बसेर घर फर्किदै गर्दा चौधरीलाई महेन्द्र रायसहितका मानिसले मदनपुर पनपिया पोखरी नजिकै हत्या गरेका थिए ।

चौधरीको साथमा रहेको १६ हजार रुपियाँ नगद लुटपाट गरी गोली प्रहार गरेर हत्या भएको थियो । घटना भएको भोलीपल्टै मृतक राजेन्द्रप्रसादका छोरा सन्तोष चौधरीले जिल्ला प्रहरी कार्यालय सर्लाहीमा किटानी जाहेरी दिनुभएको थियो ।

घटना भएको दिनदेखि फरार रहेका महेन्द्र रायलाई घरमा आएर लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको सर्लाही प्रहरीका डिएसपी सरोज राईले जानकारी दिनुभयो । राईका अनुसार रायलाई कर्तव्य ज्यान र डाँकासम्बन्धी मुद्दामा सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद लिएर १९ वर्षअघि भएको घटनाको अनुसन्धान अघि बढाइएको छ ।