अमरराज नहर्की
तनहुँ, कात्तिक ३ गते । तनहुँको आँबुखैरेनी गाउँपालिका-१, यान्चोकमा महिलाहरुको सयपत्री फूलखेतीमार्फत आफ्नो आयस्तर परिवर्तन गर्न सफल भएका छन् । यहाँका ४५ महिलाले तीन वर्षदेखि सङ्गठित रूपमा फूल उत्पादन गर्दै आर्थिक रूपमा आत्मनिर्भर बनेका हुन् ।
गाउँपालिकाले फूलको बजारीकरण, अनुदानमा बिरुवा, प्राविधिक ज्ञान र भण्डारणको चिस्यान केन्द्रको व्यवस्था गर्दै महिला किसानलाई सक्रिय प्रोत्साहन गरेको गाउँपालिकाका उपाध्यक्ष दुर्गा अर्यालले बताउनुभयो । अर्यालले भन्नुभयो, ‘‘गाउँपालिकाले महिला उत्पादनलाई बजारसम्म पुर्याउन र आत्मनिर्भर बन्न सहयोग गरिरहेको छ । यसले महिला सशक्तिकरण र स्थानीय उत्पादन प्रवर्धनमा ठुलो योगदान पुर्याइरहेको छ ।”
गाउँपालिका कृषि शाखा प्रमुख सन्तोष केसीका अनुसार, “तीन वर्षदेखि महिलाहरूले सयपत्री फूल उत्पादनमा जोड दिइरहेका छन् र यसलाई देश–विदेशमा निर्यात गर्ने पहल भइरहेको छ ।” यान्चोक आमा समूहकी सदस्य सावित्रा थापाले जानकारी दिनुभयो । थापाका अनुसार यस वर्ष ५० रोपनी क्षेत्रफलमा फूलखेती गरिएको छ र करीव सात लाख रुपियाँको बिक्री भएको छ । बजार पाएपछि यसपटक क्षेत्रफलमा दोब्बर वृद्धि गरिएको समुहले जनाएको जनाएको छ ।
समूहले दसैँ, तिहार, एकादशी मेला, आँधीमुल वाराही र मङ्सिरमा हुने विवाह कार्यक्रमलाई मध्यनजर गरी विभिन्न समयमा फूल उत्पादन गरिरहेको छ । उत्पादन आँबुखैरेनी, डुम्रे, दमौली बजारसँगै काठमाडौँ र पोखरामा पनि व्यवसायिक रूपमा लैजाने गरिन्छ ।
समूहकी अध्यक्ष सुनिता थापाका अनुसार गत वर्षको तुलनामा मूल्य राम्रो पाएकोले हौसला बढेको छ । प्रति किलो मूल्य तीन सयबाट ३७५ रुपियाँ पुगेको छ र प्रति माला पनि मूल्य वृद्धि भएको छ । गत वर्ष प्रतिमाला ७५ रुपियाँको बिक्री गरिएकोमा यस वर्ष एक सय रुपियाँमा बिक्री भएको छ । सोमबार हाट बजारमा बिक्रीका लागि राखिएको माला र फूलको माग बढी भएकोले गर्दा फूल टिप्न र माला उन्न भ्याईनभ्याइ भएको छ ।