• १० मंसिर २०८१, सोमबार

कतारमा प्रदर्शन हुँदै तामाङ चलचित्र 'काख्रे'

blog

काठमाडौं, साउन २ गते । कथाकार, निर्देशक तथा नायक रितुराज पाख्रीन र नायिका सुनिता लुङ्बा अभिनित चलचित्र ’काख्रे’ कतारमा प्रदर्शन हुने भएको छ ।  नेपाल प्रवासी तामाङ समाज कतारको संस्कृति तथा कलाकार विभागको आयोजनामा सालिमार इस्तामबुल रेस्टुरेन्ट दोहा, नज्मामा प्रदर्शन हुने भएको हो ।

तामाङ चलचित्र कतारमा प्रदर्शन हुने यो पहिलो पटक भने होइन । विगतमा सेर्कु, काला दाग, जस्ता तामाङ चलचित्र कतारमा प्रदशन भै सकेको छ । कोरोनाको कहरले प्रदर्शन हुन नसकिरहेको तामाङ चलचित्र काख्रे राष्ट्रिय नाचघर जमलमा पनि प्रदर्शन भैसकेको छ ।

चलचित्र प्रदर्शनसँगै सांस्कृतिक कार्यक्रम पनि हुने आयोजक टिमले जानकारी दिएको छ । कार्यक्रममा कलाकार सेलो गायक कुमार ओख्रेली, सेलो गायक सुन्दर मोक्तान गायिका मुस्कान रुम्बा लगायतका कलाकारहरुको भव्य प्रस्तुत रहनेछ ।

ल्हाप्साङकर्पो म्युजिक सेन्टरको ब्यानरमा निर्माण गरिएको उक्त चलचित्रलाई रोशन फ्युवा तामाङले निर्देशन, कथाकार तथा नायक ऋतुराज पाख्रिनको कथा रहेको छ । उक्त चलचित्रको निर्माता प्रबल थिङ रहेको छ भने सह निर्माता शेखर थापा, शंकर पुढाशैनी र सरिता तामाङ रहेका छन् ।

चलचित्रमा ऋतुराज पाख्रिन, सुनिता लुङ्बा, कुईसाङ रुम्बा, प्रबल थिङ, सिंग बहादुर तामाङ,सपना वाईबा, प्रभा घिसिङ, किरण गोर्खे, रेशम श्याउली, किरण साजन, लोप्साङ लामा, राम गोले, गेल्डेन तामाङ, रोशन तामाङ, माया स्याङबो लगायत कलाकारहरुको अभिनय रहेको छ ।

यसैगरी, चलचित्रमा विशाल काल्तान र रिन्जिन लामाको संगीत र प्रकाश तामाङले छायांकन छ । फिल्म जुलाइ २९ मा ११ः०० बजे बिहान प्रदर्शन हुने बताइएकाे छ ।