• १५ असार २०८१, शनिबार

खडेरीका कारण खेतमा धाँजा फाटेपछि किसान चिन्तित

blog

पानी अभावकाकारण पश्चिम नवलपरासीको पाल्हीनन्दनमा धाँजा फाटेका खेत । तस्विर : गोपी ज्ञवाली

गोपी ज्ञवाली

नवलपरासी, साउन २ गते । पछिल्लो करिब एक महिनादेखि परेको खडेरीले पश्चिम नवलपरासीका धान खेतहरुमा धाँजा फाट्न थालेपछि किसानहरु चिन्तित भएका छन । मल अभावको मार झेल्दै खेतमा रोपाई सकेका केही किसानलाई करिब एक महिनादेखि परेको खडेरीले धान खेतमा धाँजा फाट्न थालेपछि उत्पादन घटने चिन्ताले किसान चिन्तित बनेका हुन् । 

पश्चिम नवलपरासी रामग्राम नगरपालिका कृषक सञ्जालका अध्यक्ष शिवकुमार यादवका अनुसर नवलपरासीको दक्षिणी भेगमा असार १५ भन्दा पहिला नै अधिकांश खेतमा धान रोपिसकिएको थियो । आकाशे पानी नआएका कारण पम्पसेट वा नहरको पानी लगाएर धानको रोपाइँ गरिसकेका किसानलाई रोपाइँपछि पानी पर्ला भन्ने आशा भए पनि पानी नपरेपछि धान रोपिएको खेतमा धाँजा फाटेका छन् । 

नवलपरासीमा २१ हजार हेक्टेयर क्षेत्रफलमा धानखेती गरिन्छ । जसमध्ये जिल्लाको दक्षिणी भागमा धानको रोपाइँ भएको भए पनि उत्तरतर्फका अधिकांश खेतमा पानीको अभावमा रोपाइँ हुन सकेको छैन । विद्युतको सम्पर्क पुगेका कतिपय खेतहरुमा पम्पसेट, भूमिगत पानी निकालेर खडेरीले सुकेको खेतमा सिंचाइ गर्ने प्रयास गरिएको छ । 


पश्चिम नवलपरासीको परासीदेखि दक्षिणका पालहीनन्दन, प्रतापपुर, सरावल लगायतका क्षेत्रमा असारको पहिलो हप्तासम्ममा खेतमा धान रोपाई सकिएको थियो । अहिले पानीको अभावमा धान पहेंलो हुन थालेपछि किसानहरु चिन्तित बनेको पाल्हीनन्दन गाउँपालिकाका किसान ध्रुवनारायण बनियाँले बताउनुभयो । 

नवलपरासीको उत्तरीतर्फका खेतहरुमा अहिले पानीको अभावले खेतमा रोपाइँ हुन नसकेको किसानहरुको भनाइ छ । धान नेपालको प्रमुख खाद्यान्न वाली हुनुका साथै देशको अर्थतन्त्रमा सबैभन्दा बढी योगदान गर्ने बाली भए पनि पानीको अभावमा यस वर्ष धान कम उत्पादन हुने किसानको दुःखेसो छ ।