• १२ वैशाख २०८१, बुधबार

पर्यटनमन्त्री श्रेष्ठसँग नाइजेरियाका राजदूतको भेट

blog

गोरखापत्र अनलाइन

काठमाडौं, साउन १ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग नेपालका लागि नाइजेरियाका राजदूत अहमद सुलेले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच नेपाल र नाइजेरियाबीच द्विपक्षीय सम्बन्ध र सहकार्यका साथै नेपालको पर्यटन विकास एवम् प्रवर्धनका विषयमा विचारविमर्श भएको थियो । 

मन्त्री श्रेष्ठले प्राकृतिक, सांस्कृतिक तथा भौगोलिक सम्पदाको विविधताले भरिपूर्ण नेपाल पर्यटनका लागि आकर्षक गन्तव्य रहेको बताउनुभयो । पर्वतारोहण, पदयात्रा तथा सांस्कृतिक सम्पदाको अवलोकन गर्न उल्लेख्य सङ्ख्यामा विदेशी पर्यटक नेपाल आउनेगरेको बताउनुभयो । 

कोभिड महामारीको असर कम भएपछि नेपालको पर्यटनबारे अन्तर्राष्ट्रिय बजारमा प्रवर्दनको योजना अघि बढाइएको उहाँले बताउनुभयो । प्राकृतिक, आर्थिक र सांस्कृतिक विविधतामा उस्तै रहेका नेपाल र नाइजेरियाबीच अनुभव आदानप्रदानबाट एकापसमा लाभ लिन सक्ने मन्त्री श्रेष्ठले बताउनुभयो । 

प्रकृति र संस्कृतिलाई पर्यटन समृद्धिको मुख्य आधारको रुपमा लिएका नेपाल र नाइजेरिया दुवै मुलुकबीच पर्यटन क्षेत्रको साझेदारी गर्न तयारी अघि बढाउनेबारे पनि उहाँहरुबीच छलफल भएको थियो । पर्यटन क्षेत्रमा हुने साझेदारीले जनस्तरको सम्बन्धलाई समेत प्रगाढ बनाउने राजदूत सुलेले बताउनुभयो । 

मन्त्री श्रेष्ठले नेपालमा रहेर नाइजेरियन खेलाडीहरुले फुटबल खेल्नेगरेको बताउनुहुँदै खेलकुदले पनि दुई देशको सम्बन्ध विकासका साथै पर्यटन विकासमा सहयोग गरेको बताउनुभयो । भेटमा मन्त्रालयका सचिव महेश्वर न्यौपाने र परराष्ट्र मन्त्रालयका प्रतिनिधि सहभागी हुनुहुन्थ्यो । भारतको नयाँदिल्लीमा आवासीय राजदूतका रुपमा रहनुभएका सुले नेपालसहित बङ्गलादेश र श्रीलङ्काका लागि गैरआवासीय राजदूत हुनुहुन्छ ।