• ७ जेठ २०८१, सोमबार

खानेपानी महसुल घटाइयो

blog

पाल्पा, साउन १ गते । खानेपानी उपभोक्ताको विरोधपछि रामपुरमा खानेपानीको महसुल घटाइएको छ । खानेपानीको महसुल अत्यधिक भएको भन्दै स्थानीय उपभोक्ताले विरोध गरेपछि रामपुर साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले खानेपानीको महसुलमा परिवर्तन गरेको हो । 

उपभोक्ताले रामपुर खानेपानीको महसुल महँगो भएको, न्यूनतम मूल्य बढी भएको बताउँदै आएका थिए । उपभोक्ताको माग र नगर विकास कोषको सहमतिअनुसार यसअघि कायम गरिएको मूल्यभन्दा कम बनाएर उपभोक्ता समितिले मूल्य समायोजन गरेको समितिका अध्यक्ष राजुप्रसााद श्रेष्ठले जानकारी दिनुभयो । 

समितिले उपभोक्ताले प्रयोग गर्ने पानीको परिणाम र न्यूनतम मूल्य घटाएको छ । समितिका अनुसार न्यूनतम आठ युनिटसम्म १७५ रुपियाँ, नौदेखि २० युनिटसम्म प्रतियुनिट ४० रुपियाँ थप र २१ देखि माथि प्रतियुनिट ६३ रुपियाँ प्रतियुनिट मूल्य कायम गरिएको छ । 

यसअघि यहाँका उपभोक्ताले पहिलो १० युनिटसम्म २७५ रुपियाँ तिर्दै आएका थिए । यस्तै १० देखि २० युनिटसम्म प्रतियुनिट ४२ रुपियाँ र २१ देखि माथि प्रतियुनिट ६३ रुपियाँ थप रकम लिएको थियो । रामपुरभित्रका विपन्न परिवारका लागि भने नगरपालिकाको सहयोगमा निःशुल्क पानी वितरण हुँदै आएको छ । उपभोक्ता समितिले नगर विकास कोषलाई तिर्नुपर्ने रकम बाँकी रहेकाले यसअघि पानीको महसुल समायोजन गर्न नसकेको समितिका कोषाध्यक्ष विष्णुमाया ढकालले जानकारी दिनुभयो । 

“अझै नगर विकास कोषको ऋण तिर्न बाँकी छ, उहाँले भन्नुभयो, “ऋण तिरेपछि महसुल दर समायोजन गर्न सकिन्छ ।” खानेपानीको महसुल दर परिवर्तन गर्न नगर विकास कोषसँग उपभोक्ता समितिले अनुमति दिनुपर्छ । सोही कारणले पनि महसुल दरमा लामो समयसम्म परिवर्तन गर्न नसकेको कोषाध्यक्ष ढकालले बताउनुभयो । 

पाँच वर्षअघि नेपाल सरकारको ५० प्रतिशत, एसियाली विकास बैङ्क र नगर विकास कोषको ४५ प्रतिशत ऋण र उपभोक्ताको पाँच प्रतिशत गरी कुल २६ करोड ४० लाख १५ हजारको लागतमा रामपुरमा खानेपानी आयोजना सम्पन्न भएको थियो । रामपुरका ३५ हजार बढी जनसङ्ख्यालाई खानेपानीको पहुँच विस्तार गर्ने गरी यहाँ खानेपानीको योजना बनाइएको थियो ।

हाल सोही खानेपानीको योजनाबाट रामपुर नगरपालिकाभित्रका वडा नम्बर ४, ५, ६ र ७ का उपभोक्तालाई खानेपानी वितरण हुँदै आएको छ । यो योजनाबाट हालसम्म तीन हजार सात सय ६४ धारा वितरण भइसकेको छ । सहरीकरण बढेकाले रामपुरमा वार्षिक रूपमा १५० बढी नयाँ उपभोक्ता थपिने क्रम जारी रहेको उपभोक्ता समितिले जनाएको छ ।