• १० मंसिर २०८१, सोमबार

साउने सङ्क्रान्तिको महिमा

blog

धार्मिक, सांस्कृतिक, जातीय र जैविक विविधताको धनी मुलुक नेपालको विशेषता भनेकै यहाँका चाडपर्व हुन् । यिनै चाडपर्वमध्ये साउने अर्थात् कर्कट सङ्क्रान्तिको आफ्नै महत्त्व छ । साउने सङ्क्रान्ति वैदिक सनातन धर्मावलम्बीका लागि विशेष दिन हो । यो दिनलाई उत्सवकै रूपमा मनाइन्छ, परम्परागत रूपमा चलिआएका विधि पूरा गरिन्छ । धार्मिक मान्यता र गणितीय हिसाबबाट तिथि, बार, महिना, मसान्त,  सङ्क्रान्ति, औँसी, पूर्णिमालगायत जीवनशैलीमा महत्त्व राख्ने चाडपर्वकै निरन्तरता हो साउने सङ्क्रान्ति ।

साउन महिनाले त्यो वर्षको चाड भिœयाउँछ । स्नान, दान, होम, श्राद्धजस्ता विशेष कार्यको सुरुवात यही दिनदेखि गरिन्छ । हिन्दू धर्मअनुसार सूर्य दक्षिणायन हुँदा देवताका रात र पितृको दिन हुने भएकाले साउन महिनादेखि पितृकार्यको थालनी गर्ने प्रचलन छ ।

ज्योतिषशास्त्रअनुसार सौरमासका हिसाबले साउने सङ्क्रान्तिदेखि सूर्य कर्कट राशिमा प्रवेश गर्ने हुनाले यस दिनलाई कर्कट सङ्क्रान्ति पनि भनिन्छ । सामान्यतया सूर्यले सबै राशिलाई प्रभावित गरे पनि सूर्यको कर्कट राशि (साउने सङ्क्रान्ति) र मकर राशि (माघे सङ्क्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले महŒवपूर्ण मानिन्छ । यो दिनदेखि सूर्य उत्तरी गोलाद्र्धबाट दक्षिणी गोलाद्र्धतर्फ प्रवेश गर्ने भएकाले दिन छोटो र रात लामो हुँदै जान्छ ।

साउने सङ्क्रान्ति मानो खाएर मुरी फलाउने असारमासको समाप्ति पनि हो । कृषिप्रधान मुलुक नेपालमा किसानले महिनाभरि झरीमा रुझेर हिलोमा खेलेर रोपाइँ समाप्त गर्दछन् र आनन्दले चाडपर्व मनाउँछन् । यसका अतिरिक्त विभिन्न रोगव्याधि पनि लाग्ने सम्भावना भएकाले यो दिन विभिन्न वनस्पति जम्मा गरेर साँझ लुतो फाल्ने चलन छ ।

साउने सङ्क्रान्तिको दिन असारे वर्षात्, हिलोबाट लाग्न सक्ने रोगबाट जोगिन लुतो फाल्ने प्रचलन छ । फलफूल, नैवेद्य चढाएर कण्डारक नामक राक्षसको पूजा गर्नाले दाद, लुतो, खटिराजस्ता छालाजन्य रोगबाट बच्न सकिने विश्वास रहिआएको छ । कुकुरडाइनो, कागभलायो, कुरिलो, सिस्नो, पानीसरो, देवीसरो, पुरेनी, धसिङ्गरे, गलेनीजस्ता औषधिका रूपमा प्रयोग हुने वनस्पतिको आगो बालेर ताप्ने तथा आ–आफ्ना घर आँगनबाट चारै दिशामा अगुल्टोद्वारा लुतो फाल्ने गरिन्छ ।

यसो गर्दा घरवरिपरि भएका रोगप्रसारक कीटाणु नाश हुन्छ । जेजति सर्दामबाट लुतो फालिन्छ ती सबै औषधीय वनस्पति भएकाले यसलाई एउटा परम्परा मात्र नमानेर वैज्ञानिक दृष्टिले पनि अति महŒवपूर्ण छ भन्ने मान्यता स्थापित भइसकेको छ । परम्परागत रूपमा एक हिसाबले साउने सङ्क्रान्तिको दिनबाट वर्षायामको अन्त्य भई हिउँदको प्रारम्भ हुन्छ भन्ने मान्यता रहिआएको छ । यो दिन नासपाती, कागती, निबुवा, अम्बा, अनार, फलफूल आदि चढाई काण्डरक राक्षसको पूजा गरेमा दाद, लुतो, खटिराजस्ता विभिन्न रोगबाट मुक्त भइन्छ भन्ने विश्वास छ ।

लुतो फ्याँक्दा नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढिकी कुट्ने र एकछिन घरको ढोका बन्द गर्ने चलन छ । यसो गर्दा घरवरिपरि भएका रोगप्रसारक कीटाणु नाश हुन्छ । यी आवाजले कीटाणु तथा किरा 

फट्याङ्ग्रा भाग्ने गर्छन् । दुई वर्षअघि मुलुकमा भित्रिएका सलह भगाउन शङ्ख फुक्ने र थाल ठटाउने गर्नुको कारण पनि यही हो । जेजति सर्दामबाट लुतो फालिन्छ ती सबै औषधीय वनस्पति भएकाले यसलाई एउटा परम्परा मात्र नमानेर वैज्ञानिक दृष्टिले पनि अति महत्त्वपूर्ण छ भन्ने मान्यता स्थापित भइसकेको छ ।

यति मात्र होइन साउने सङ्क्रान्ति मनाउने अर्को प्रमुख कारण आराम र आनन्द पनि हो । असार महिनाभर गरिएको खेतीपातीका कारण थाकेका किसान हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी यस दिन भोज खाने गर्छन् ।

महिला साउने सङ्क्रान्तिका दिनदेखि एक महिना सौभाग्यको प्रतीक हरियो चुरा र मेहन्दी लगाउनुका साथै शिवलाई प्रसन्न पार्न सोमबारे व्रत बस्छन् । देवी पार्वतीले साउन महिनाभरि निराहार रही कठोर व्रत बसेकाले सोमबारको व्रतको महत्त्व छ । साउन महिना जताततै हरियाली हुने भएका कारण पनि हरिया चुरासहित  शृङ्गारका समान पहिरिनु प्रकृतिसम्मत प्रचलन मानिन्छ । साउन महिना भगवान् शिवको महिना भएकाले यो महिनाभर शिवालयमा दर्शनार्थीको अत्यधिक भीड लाग्ने गर्छ । साउन महिनाको सोमबार देशभरकै वातावरण मनोरम हुनेछ । 

हाम्रा परम्परा कुनै पनि हिसाबले अवैज्ञानिक र अव्यावहारिक छैन भन्ने कुरा त आधुनिककालमा आएर प्रमाणित नै भइसकेको छ । जस्तो कि हामी तुलसी घरको मूल ढोेकानेर रोपेर हरेक दिन पूजा गर्छौं यसको कारण अहिले आएर स्पष्ट भएको छ कि तुलसी औषधिको पनि राजा हो । त्यस्तै गाईको गहुँत घरमा छर्कने चलनलाई अन्धविश्वास भनियो । कालान्तरमा गहुँतमा कति गुण रहेछ भन्ने प्रमाणित भयो । 

तसर्थ हाम्रा सामाजिक पर्व गुरु पूर्णिमा, मातातीर्थ औँसी, भाइतिहार, माघे सङ्क्रान्ति, संवत्सर पडेवा, साउने सङ्क्रान्ति, गङ्गादशहरा, नागपञ्चमीलगायतका चाडपर्व आफैँमा अति महŒवपूर्ण छन् । यी सबै जीवन र जगतको सुरक्षा र स्वचालनका लागि बसाइका नियम हुन् । एक किसिमले भन्नुपर्दा कानुन नै हो । आज यिनै नियमको पालना नगर्दा विश्वमा विपत्ति बढेको छ । प्रकृतिलाई सन्तुलनमा राख्न र मानव समाजलाई निरोगी र सक्रिय बनाइराख्न वेदमा उल्लेख यस्ता विधिविधानलाई दुत्कारेर यान्त्रीकृत बनेको मानवले आज जुन सङ्कट भोग्दै गएको छ यसको 

कारण यही हो । वैदिक शास्त्रले मानव जीवनलाई सक्रिय र सफल बनाउन खान–पान, रहन–सहन, आचार–विचार र सांस्कृतिक सबै पक्षलाई समेटेर विधान नै बनाइदिएको थियो र यसलाई पुस्ता–पुस्तामा हस्तान्तरण हुँदै आएकोमा आजभोलि यो प्रथा हटेर आयातीत शिक्षाले सांस्कृतिक अतिक्रमण सुरु भएको छ । अर्थात् पुस्ता–दरपुस्ता चल्दै आएको पूर्वीय जीवनशैलीको अभिन्न अङ्ग ध्वस्त भएको छ ।

पाश्चात्य संस्कृति इसापश्चात् विकसित संस्कृतिले यस्ता कैयौँ पक्षलाई रूढीवादी वा अन्धभक्ति र अवैज्ञानिक भनेर लाञ्छित गर्दै मानव अधिकार, प्रजातन्त्र, समानता र विकासको नाममा धार्मिक तथा सांस्कृतिक अतिक्रमण गरेर यसलाई नष्ट गर्ने प्रयास गरिरहे पनि उनीहरू सफल हुन सकेका छैनन् । यसको विपरीत तिनै देशमा हाम्रा सांस्कृतिक पक्षका अभ्यास हुन थालेको छ ।

अहिले पनि साउने सङ्क्रान्तिमा फुलौरा पकाउने वा लुतो फाल्ने र सूर्य दक्षिणायन भएको प्रकृतिको सम्झना गर्ने तथा माघे सङ्क्रान्तिमा घिउ, चाकु खाने सूर्य उत्तरायण भएको प्राकृतिक पारिस्थितिकीय परिवर्तनअनुरूपको जीवनशैली व्यवस्थित गर्न उद्यत हुने तथा यस्ता समग्र कुरा पञ्चाङ्ग (पात्रो)मा लिपिबद्ध गरेर वर्षदिनकै जीवनशैलीको रूपरेखा प्रस्तुत गर्ने कार्य भएको स्मरणीय छ ।

वेदमा जे छ त्यो विज्ञानमा पनि छ भन्ने दृढता पूर्वीय दर्शनका ज्ञाताको छ । वेद नै विज्ञान हो भन्ने उनीहरूको मत छ । मानव समाजलाई मात्र होइन समग्र सृष्टि संरचनालाई व्यवस्थित राख्ने सूत्र शास्त्रले लिपिबद्ध गरेको र यिनै शास्त्र पढेर पश्चिमाहरू अत्यधिक प्रभावित भएर वैदिक धर्म संस्कृति अङ्गीकार गरेका घटना प्रशस्तै छन् । वैदिक ज्ञानको स्रोत नेपालमा यसै भएर कुनै पनि चाडपर्व यहाँका विविध जातजाति, धर्म, क्षेत्रका नागरिकले आ–आफ्नै किसिमले एकैदिन मनाउने गर्छन् । यसको एउटै कारण सृष्टि र सभ्यताको जगेर्ना नै हो ।