• १४ माघ २०८२, बुधबार

नेपालबाट खानेतेलको व्यापार

सत्तरी अर्बको कच्चा पदार्थ आयात, साठी अर्बको तेल निर्यात

blog

काठमाडौँ, माघ १४ गते । प्रशोधित खाने तेल (भटमास, सूर्यमुखी) ले मुलुकको निर्यात व्यापार बढाएको छ । तथापि यो पूर्णतः स्वदेशी उत्पादन नभई बाहिरी मुलुकबाट कच्चा पदार्थ आयात भई प्रशोधन गरेर निर्यात हुने गरेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२/८२ को छ महिनामा नेपालबाट ६० अर्ब रुपियाँ बराबरको भटमास र सूर्यमुखी (सोयाबिन एन्ड सनफ्लावर) तेल निर्यात भएको छ । मुलुकभित्र पर्याप्त उत्पादन नहुने भटमास नै नेपालबाट सबैभन्दा धेरै निर्यात हुने वस्तुको सूचीमा छ ।

विभागका अनुसार छ महिनामा ७२ अर्ब ६८ करोड ३७ लाख नौ हजार रुपियाँ बराबरको सोयाबिन, सनफ्लावर र पाम आयलको कच्चा पदार्थ आयात हुँदा नेपालबाट ६० अर्ब ८६ करोड ६९ लाख १४ हजार रुपियाँको निर्यात भएको छ । सो अवधिमा नेपालबाट सबैभन्दा धेरै ५६ अर्ब ८२ करोड ४२ लाख रुपियाँको सोयाबिन र चार अर्ब ७८ करोड ४४ लाख ८८ हजार रुपियाँ बराबरको सनफ्लावर तेल निर्यात भएको छ । 

छ महिनामा बाहिरी मुलुकबाट ५८ अर्ब २७ करोड ९२ लाख ७६ हजार रुपियाँको सोयाबिनको कच्चा पदार्थ, पाँच अर्ब ८२ करोड ७९ लाख ७६ हजार रुपियाँको सूर्यमुखी तेलको कच्चा पदार्थ आयात भएको छ । यस्तै पाँच अर्ब ४९ करोड ४१ लाख ७९ हजार रुपियाँ बराबरको पाम आयलको कच्चा पदार्थ आयात भएको छ । 

चालु आवको छ महिनामा निर्यात व्यापार ४३.७६ प्रतिशतले बढेर एक खर्ब ४२ अर्ब रुपियाँ पुगेको छ । जसमा ४८ प्रतिशत हिस्सा खानेतेलको छ जुन स्वदेशी उत्पादन नभई बाहिरी मुलुकबाट आयात भई मूल्य अभिवृद्धि (भ्यालुएडिसन) गरेर निर्यात हुने गर्छ । व्यापार प्रवर्धन तथा निकासी केन्द्रका वरिष्ठ तथ्याङ्क अधिकृत कृष्णराज बजगाईंले निर्यातमा खानेतेलको हिस्सा ४८ प्रतिशत भए पनि स्वदेशी उत्पादन नभएकाले दिगो रूपमा निर्यात नहुने बताउनुभयो । 

निर्यातको हिस्सा बढेको देखिए पनि स्वदेशी उत्पादन नभएकाले भारतले नीति परिवर्तन ग¥यो भने निर्यात व्यापार हवात्तै घट्न सक्ने हुँदा स्वदेशी वस्तुको उत्पादन बढाएर निर्यात गर्नेतर्फ लाग्नुपर्ने उहाँको भनाइ छ । स्वदेशमै कच्चा पदार्थ भएको र भ्यालु एडिएसन धेरै हुने वस्तुको निर्यातमा जोड दिनुपर्ने उहाँको भनाइ छ । नेपाल निर्यात परिषद्का पूर्वअध्यक्ष नरेशलाल श्रेष्ठले खाने तेलको कच्चा पदार्थ आयात गरी ३० प्रतिशतसम्म भ्यालुएडिसन गरेर निर्यात हुने गरेको जानकारी दिनुभयो । अधिकांश वस्तुको कच्चा पदार्थ आयात गर्नुपर्दा लागत मूल्य महँगो पर्दा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न कठिन हुने उहाँको भनाइ छ । 

नेपालले अर्जेन्टिना, ब्राजिल जस्ता दक्षिण अमेरिकी मुलुकबाट कच्चा भटमासको तेल ल्याउने र प्रशोधन गरेर पुनः भारतमा निर्यात गर्छ । केही परिणाम आन्तरिक बजारसमेत खपत हुने गर्छ ।   

भारतमा कच्चा भटमासको तेलको भन्सार महसुलका कारण व्यापारीले नेपाललाई प्रशोधन गर्ने स्थानका रूपमा उपयोग गरिरहेका छन् । भारतसँगको दक्षिण एसियाली स्वतन्त्र व्यापार (साफ्टा) को व्यापार सुविधा अन्तर्गत पाँच प्रतिशत भन्सार सुविधामा नेपालबाट व्यवसायीले भारतमा तेल निर्यात गर्ने गरेका छन् । 

नेपालबाट निर्यात भएका अन्य स्वदेशी उत्पादनमा अलैँची, गलैँचा तथा कार्पेट, जुटका सामान, चिया, छुर्पी, सिमेन्ट र प्लाइउड रहेका छन् । छ महिनामा सात अर्ब ७८ करोड ४४ लाख ८८ हजार रुपियाँ बराबरको तीन लाख ४६१ केजी अलैँची निर्यात भएको छ ।