• १३ वैशाख २०८१, बिहिबार

२९ दिनमा एक हजार ८७७ जनामा कोरोना पुष्टि

blog

काठमाडौं, असार २९ गते। नेपालमा पछिल्लो केही दिनदेखि कोरोना सङक्रमणदर बढ्दै गइरहेको छ। बुधबार परीक्षण गरिएकामध्ये ६.४८ प्रतिशतमा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क केलाउँदा असार १ गते परीक्षण गरिएकामध्ये ०.६४ प्रतिशतमा कोरोना पुष्टि भएको थियो। सो सङ्ख्या बढेर असार  ५ गते १.१३ प्रतिशत पुगेको थियो। त्यसैगरी, असार १९ गते सङ्क्रमणदर बढेर २.५ प्रतिशत पुगेको थियो। सो सङ्ख्या असार २९ गते पुग्दासम्म बढेर ६.४८ पुगेको छ। 

मन्त्रालयको तथ्याङ्क अनुसार असार १ गतेदेखि असार २९ गतेसम्म एक हजार ८७७ जनामा कोरोना पुष्टि भएको छ। असार २५ गतेबाट सङ्क्रमण एक सय बढीमा पुष्टि भएको मन्त्रालयले जनाएको छ। बुधबार देशभर ३ तीन हजार १७५ जनाको आरटी पीसीआर र एन्टिजेन परीक्षण गर्दा २०६ जनामा कोरोना पुष्टि भएको छ।

उपत्यमा मात्रै कुल सङ्क्रमित मध्ये ६०.६७ प्रतिशत अर्थात् १२५ जना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभयो। बुधबार थपिएका सङ्क्रमित मध्ये काठमाडौंमा एक सय, ललितपुरमा  १८ र भक्तपुरमा सात जना छन्।

बुधबार देशभर सक्रिय सङक्रमितको सङ्ख्या एक हजार पाँच पुगेको छ।  जसमध्ये ६९४ जना काठमाडौं उपत्यका भित्र रहेका छन्। सक्रिय सङ्क्रमितमध्ये काठमाडौंमा ६०७ भक्तपुरमा ११ र ललितपुरमा ७६ जना रहेका छन्। 

मन्त्रालयका सहप्रवक्ता अधिकारीले अन्तर्राष्ट्रिय नाकाबाट प्रवेश गर्ने यात्रुमा परीक्षण गर्दा अधिंकाश यात्रुमा कोरोना पुष्टि भएकोले नेपालमा सङ्क्रमण बढ्दै गएको जानकारी दिनुभयो। डा. अधिकारीका अनुसार मन्त्रालयले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा दुई हप्तामा एक पटक जिन सिक्वान्सीङ् गर्दै आएको छ।  परीक्षण गरिएका अधिकांश नमूनामा ओमिक्रोनको उपप्रजाती बिए टु र अन्य नमूनामा बिए वान र बिए फाइभ पुष्टि भएको डा. अधिकारी बताउनुहुन्छ। 

विश्वमा ओमिक्रोनको उपप्रजाती बिए वान र बिए टुलाई बिए फाइभले प्रतिस्थापन गर्दै गएको छ। विभिन्न अध्ययनले बिए फाइभ भेरियन्ट ओमिक्रोनका अन्य प्रजाति भन्दा बढी सङ्क्रमक भएकाले जनस्वास्थ्यको मापदण्ड अपनाउन डा. अधिकारीले आग्रह गर्नुभयो।

अध्ययनले कोरोना विरुद्धको खोप लगाएको ६ महिनापछि शरीरको एन्टिबडी विस्तारै कम हुँदै जाने देखाएको छ।  जनस्वास्थ्यविद् डा. केदार बराल कोरोना विरुद्धको खोपले काम गर्न छोड्दै गएकाले नेपालमा सङ्क्रमणदर बढ्दै गएको हुनसक्ने बताउनुहुन्छ। अस्पतालमा कस्ता खाले बिरामी भर्ना भएका छन् त्यसको विषयमा अध्ययन भएपछि मात्र नेपालमा सङ्क्रमणदर किन बढ्यो भन्ने कुरा यकिनका साथ भन्न सकिने डा.बरालको तर्क छ। 

 उहाँ भन्नुहुन्छ, “अस्पतालमा तथा आइसियूमा कस्तो खालको बिरामी भर्ना भएका छन्। दीर्घरोगी हुन् कि, खोप लगाएका छन् कि छैनन्, यदि लगाएका छन् भने एउटा मात्र लगाएका छन् कि दुई मात्रा लगाएका छन् वा बुस्टर लगाएका छन् कि छैनन् भनेर अध्ययन गरिसकेपछि मात्रै नेपालमा किन सङ्कमणदर बढ्दै गएको छ भन्ने कुरा एकिनका साथ भन्न सकिन्छ।” चिकित्सकका अनुसार खोप लगाउँदैमा रोग नलाग्ने होइन, खोप लगाएकालाई सङ्क्रमण भए पनि त्यसबाट हुने जोखिम कम हुनुका साथै मृत्युदर घटाउँछ।

यो भेरियन्ट नेपालमा देखिएको भए पनि दोस्रो र तेस्रो लहरमा जस्तै अवस्था नआउने डा.पुनको भनाइ छ। डा.पुन भन्नुहुन्छ, “सङ्कमणदर बढे पनि यसले खासै अस्पतालमा भर्नादर र मृत्युदर निकै कम भएको विदेशमा फैलिएको तथ्याङ्कले देखाएको छ। यदि नेपालमा सोही भाइरस फैलिहाल्यो भने पनि धेरै जनाले  खोप लगाइसकेकाले पहिलाको जस्तो आउँदैन।’’

नेपालमा कोरोना संक्रमण सुरु भएदेखि अहिलेसम्म आरटी पीसीआर र एन्टिजेन परीक्षण गर्दा ११ लाख २१ हजार ५०७ जनामा कोरोना पुष्टि भइसकेको छ।  जसमध्ये नौ लाख ६७ हजार ८१० जना सङ्क्रमणमुक्त भएका छन् भने ११ हजार  ९५२ जनाको मृत्यु भएको छ। नेपालमा सक्रिय संक्रमितको संख्या हाल एक हजार पाँच रहेका छन्। संक्रमितमध्ये ९८४ जना होम आइसोलेसन, संस्थागत आइसोलेसनमा २१ र आईसीयुमा १२ र एकजना भेन्टिलेटरमा उपचाररत छन्। कोरोना बढ्दै गएकाले जनस्वास्थ्यका मापदण्ड अपनाउन र भीडभाडमा नजान चिकित्सकको सुझाव छ। 

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।