• ७ जेठ २०८१, सोमबार

सडक निर्माणमा सरकार गम्भीर छ : मन्त्री कार्की

blog

जयकृष्ण यादव 

इनरुवा, असार २९ गते । प्रदेश १ सरकारका भौतिक पूर्वाधार निर्माण तथा सहरी विकासमन्त्री हिमाल कार्कीले दुहवी इनरुवा सडक खण्ड निर्माणमा प्रदेश सरकार गम्भीर रहेको बताउनुभएको छ । बुधबार सुनसरी सदरमुकाम इनरुवामा इनरुवा–दु्हबी सडक निर्माण दवाव समितिले आयोजना गरेको संयुक्त भेलालाई सम्बोधन गर्नुहुदै मन्त्री कार्कीले सो कुरा बताउनुभएको हो । 

मन्त्री कार्कीले विगतकोभन्दा शहरीकरण र जनसंख्या वृद्धिले सडक बाटो फराकिलो गर्नुपर्ने आवश्यक भएपनि अनावश्यक अतिक्रमण र थप बाटोका लागि जग्गा लिनुपर्नेमा मुआब्जाको समस्या हुने भएकाले जोखिमकाबीच पनि प्रदेश सरकारले सडक निर्माण र विस्तारमा ध्यान दिएको बताउनुभयो । 

उहाँले अधिकांश सडकहरु साँगुरो भएकाले बढदो शहरीकरण र जनघनत्वका कारण सडकमा आवत जावतमा समस्या भएको बताउनुभयो । कतै भएको सडक बाटोमा अतिक्रमण बढेकोे छ भने कतै भएको सडकमा काम नहुँदा दुर्घटनाको जोखिम बढेको उहाँको भनाइ छ ।

पूर्व मख्यमन्त्री भिमप्रसाद आचार्यले पनि कार्यक्रममा सडक निर्माण हुनुपर्ने र त्यसकालागि आफूले पनि पहल गर्ने बताउनुभयो । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका नेता तथा पार्टीका केन्द्रिय सदस्य राजिव कोईरालाले सडक निर्माणका सवालमा आफूले सदनमा कुरा उठाएको भएपनि सुनुवाई नभएको बताउनुभयो । 

प्रदेश सांसद ताहिर अंसारी र ज्योती सुब्बाले पनि शहरीकरण र जनसंख्या वृद्धिले पुराना सडक बाटो अभाव भएको र सवारी चाप बढेकाले फराकिलो गर्नुपर्ने आवश्यक रहेको बताउनुभयो ।