• २४ कात्तिक २०८२, सोमबार

कोशीलाई खोरेतमुक्त बनाउन खोप अभियान

blog

खोरेतमुक्त अभियान शुभारम्भ गरिँदै । तस्बिर : महेन्द्र विष्ट

मोरङ समाचारदाता

विराटनगर, कात्तिक २४ गते । कोशी प्रदेशलाई खोरेत रोगमुक्त बनाउने प्रदेश सरकारको लक्ष्यप्राप्तिमा सहयोग गर्न विराटनगर महानगरपालिकाले आइतबारदेखि गाईभैँसीमा निःशुल्क खोप अभियान सुरु गरेको छ । प्रदेश खोरेतमुक्त बनाउने कोशी प्रदेश सरकारको लक्ष्य अनुरूप विराटनगर–१२ स्थित बन्जरा एग्रो फार्ममा रहेका गाईमा निःशुल्क खोप लगाएर अभियानको शुभारम्भ गरिएको हो । 

विराटनगर महानगरपालिकाको आयोजना तथा कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय र भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मोरङको सहयोगमा सुरु गरिएको अभियानले विराटनगरलाई खोरेतमुक्त बनाउने दाबी गरिएको छ । 

विराटनगर महानगरपालिकाको वडा नं. १९ का वडाध्यक्ष तथा आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा गाईलाई खोप लगाएर ‘खोरेत रोगमुक्त कोशी प्रदेश अभियान’ औपचारिक रूपमा प्रारम्भ गरिएको हो ।

सो अवसरमा विराटनगर महानगरपालिकाभित्र हाल २१ हजार छ सय गाईभैँसी रहेको तथ्याङ्क भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मोरङका प्रमुख डा. अजयकुमार साहले प्रस्तुत गर्नुभएको थियो । उहाँका अनुसार पहिलो चरणमा १६ हजार छ सय गाईभैँसीलाई खोरेतविरुद्ध निःशुल्क खोप लगाइने छ । खोप कार्य भ्याक्सिनेटरमार्फत गराइने र तथ्याङ्क डिजिटल प्रणालीबाट अभिलेख राखिने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।

मोरङ जिल्लामै तीन लाख ८० हजार डोज खोप वितरण गरिने लक्ष्य छ । त्यस्तै बङ्गुरका लागि ५६ हजार डोज खोप लगाइने पनि डा. साहले बताउनुभयो ।

यो अभियान कोशी प्रदेशका सबै १३७ वटै पालिकामा सञ्चालन गरिने पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, कोशी प्रदेशका निर्देशक डा. सुशीलकुमार अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार इलाम जिल्लालाई पहिले नै खोरेतमुक्त घोषणा गरिएको छ भने झापा, मोरङ, सुनसरी र उदयपुरलाई पनि खोरेत रोगमुक्त जिल्ला बनाउन आवश्यक तयारी र अभियान अघि बढिसकेको छ ।

“कोशी प्रदेशलाई निकट भविष्यमा पूर्ण रूपमा खोरेत रोगमुक्त बनाउने हाम्रो लक्ष्य हो,” डा. अधिकारीले भन्नुभयो “यस अभियानले पशु स्वास्थ्यमा सुधार ल्याउने मात्र होइन, कृषकको आर्थिक सुरक्षा पनि बलियो बनाउने छ ।”

कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयकी पशुपन्छी विकास महाशाखाकी प्रमुख डा. दीपा दिवालीले खोप अभियानले प्रदेशलाई खोरेत रोग उन्मूलनमा सहयोग पुग्ने दाबी गर्नुभयो । 

महानगरको कृषि तथा पशुपन्छी विकास शाखाका प्रमुख हिरा यादवका अनुसार विराटनगरका १९ वटै वडामा खोप कार्यक्रम निरन्तर सञ्चालन गरिने छ ।  कोशी प्रदेश सरकारको दीर्घकालीन लक्ष्य प्रदेशका सबै जिल्लालाई क्रमिक रूपमा खोरेतमुक्त घोषणा गर्ने रहेको छ । यस अभियानले पशुपालन व्यवसायलाई आधुनिक, सुरक्षित र दिगो बनाउन टेवा पु¥याउने प्रदेश सरकारको विश्वास छ ।