• २४ कात्तिक २०८२, सोमबार

बागलुङमा थपिए ६३१ जना नयाँ मतदाता नामावली

blog

जिल्ला निर्वाचन कार्यलय बागलुङले मतदाता नामावली सङ्कलन गर्दै । तस्बिर : नवराज नेपाली

नवराज नेपाली
बागलुङ (गलकोट), कात्तिक २४ गते ।
पछिल्लो एक महिनामा बागलुङमा ६३१ मतदाता थपिएका छन् । गत असोज १० गतेदेखि हालसम्म ६३१ मतदाता थप भएको निर्वाचन कार्यालय बागलुङका कम्प्युटर अपरेटर उषा सुवेदीले जानकारी दिनुभयो । उहाँका  अनुसार पछिल्लो समय दैनिक ५०/६० जनाको दरले मतदाता नामावलीमा नाम लेखाउन आएको बताइएको छ ।

यो अबधिमा ५१ जनाले त्रुटी सच्याउन आएका छन् भने ३१६ जनाले ठाउँसारी गराएका छन् ।

जिल्ला निर्वाचन कार्यालय बागलुङका जिल्ला निर्वाचन अधिकारी यज्ञ प्रसाद रिजालले पछिल्लो समय मतदाता नामावलीकोलागि आउनेको संख्या बढ्दै गएपनि अपेक्षाकृत नभएको बताउनुभयो ।

‘‘सुरुका दिनहरुमा २५÷३० जना आउनु हुन्थ्यो तर अहिले त्यो क्रम बढेर दैनिक ५० देखि ६० जनासम्म आउनु हुन्छ ।’’ रिजाले भन्नुभयो, ‘‘तर यो सङ्ख्या अल्लि कम हो ।’’

मतदाता नामावलीका लागि बायोमेट्रिक गर्न आउनेको सङ्ख्या कम हुनुमा धेरै कारण रहेको उहाँको बुझाइ छ ।

‘‘धेरै युवा विदेश छन्, १२ पढ्दा वित्तिकै विदेश जाने चलन छ, अर्को कुरा अहिले ७७ वटै जिल्ला जहाँबाट पनि मतदाता नामावलीमा नाम लेखाउन सकिन्छ त्यसैले पनि कम भएको हुनसक्छ, अर्को कुरा पहाडी जिल्लाहरुमा मतदातापनि कम छन् ।’’ उहाँले भन्नुभयो, ‘‘यीनै कारण कम भएको हुन सक्छ ।’’ उहाँले त्यस बाहेक अन्य कारण पनि रहेको हुन सक्ने बताउनुभयो ।

मतदाता नामावलीका लागि आउने धेरै जनाले निर्वाचन हुन्छ र ? भन्ने प्रश्न गर्ने गरेकोले कम भएको हुन सक्ने बताउनुभयो ।

‘‘यहाँ आउने फागुनमा नै निर्वाचन होला ? भनेर आशँकायुक्त प्रश्न गर्नु हुन्छ ।’’ रिजालले भन्नुभयो, ‘‘अपर्झट निर्वाचनको मिति तोकिएकोलेपनि धेरै नागरिकमा तोकिएको मितिमा नै निर्वाचन हुन्छ भन्नेमा आशँका देखिन्छ ।’’ आएका मध्ये अधिकांश युवा पुस्ता रहेको बताइएको छ  ।

हालसम्म बागलुङमा मतदाता सङ्ख्या एक लाख ८९ हजार १७३ पुगेको छ । ति मध्ये महिला मतदाता ९७ हजार २९३ र पुरुष मतदाता ९२ हजार २८३ मतदाता रहेका छन् ।

जिल्लाका १० स्थानीय तहमध्ये सबैभन्दा धेरै मतदाता बागलुङ नगरपालिकामा रहेका छन् । बागलुङ नगरपालिकामा १९ हजार ९६ पुरुष र २१ हजार ९६ महिला गरी ४० हजार १९२ मतदाता रहेका छन् ।

गलकोट नगरपालिकामा ११ हजार ३७२ पुरुष र १२ हजार ४५६ महिला गरी २३ हजार ८३० मतदाता रहेका छन् । जैमिनी नगरपालिकामा ११ हजार ८३५ पुरुष र १२ हजार २१५ महिला गरि २४ हजार ५० मतदाता रहेका छन् । ढोरपाटन नगरपालिकामा ८ हजार ५६२ पुरुष र ८ हजार ७७७ महिला गरि १७ हजार ३४० मतदाता रहेका छन् ।

बडिगाड गाउँपालिकामा १० हजार ६८१ पुरुष र १० हजार ७२९ महिला गरी २१ हजार ४१० मतदाता रहेका छन् । काठेखोला गाउँपालिकामा नौ हजार ९३० पुरुष र १० हजार ९९६ महिला गरी २० हजार ९३६ मतदाता रहेका छन् ।

बरेङ गाउँपालिकामा पाँच हजार १२३ पुरुष र पाँच हजार ८१ महिला गरी १० हजार २०४ मतदाता रहेका छन् । निसीखोला गाउँपालिकामा सात हजार ७७४ पुरुष र सात हजार ६६८ महिला गरी १५ हजार ४४२ मतदता रहेका छन् ।

ताराखोला गाउँपालिकामा तीन हजार ९२८ पुरुष र चार हजार २२२ महिला गरी ८ हजार १५० मतदाता रहेका छन् । तमानखोला गाउँपालिकामा तीन हजार ८३५ पुरुष र तीन हजार ७९४ महिला गरी सात हजार ६२९ मतदाता रहेका छन् ।

मतदाता नामावलीमा नाम लेखाउने अन्तिम समय यहि कात्तिक मसान्तसम्मलाई निर्धारण गरिएको छ ।