परको खोल्सातिरबाट आएको मन्द बतासको शीतलताले निधारका पसिना सुकाएपछि बिस्तारै उँभो लागेका गाउँलेहरूसँग मिसिएर अनेकौँ पटक हिँडेको छु म । कहिलेकाहीँ एक्लिएको बिसौनीमा कैयाैँ साँझहरू बिताएको छु मैले । उतिबेला त्यसको अर्थ थिएन मलाई । उतिबेला त्यहाँ बसेर लिएको माटोको बास्ना यसबेला मेरा सिर्जनामा अलिकति घोलिएको होला । त्यहाँ बसेको बेला टाढा कतैबाट आएको मुरलीको धुन यसबेला पनि सम्झिरहेँछु म ।
सूर्यास्त प्रहरमा डाँडाबाट देखिने पारिका घर अनि तुवाँलोले छोप्दै गएका अलि टाढाका बस्तीहरू नियाल्दै घन्टौँ बस्नुको पनि अर्थ थिएन त्यसबेला । तर त्यसबेला मैले देखेका दृश्यका चित्रले मेरा शब्दलाई अलिकति स्पर्श गरेका हुन सक्छन् ।
यस्ता पूर्व किशोरकालीन स्मृतिहरू अनगिन्ति छन् । के ती अर्थहीन थिए त ! तिनले तत्काल मलाई आनन्द दिए, त्यति हो । म त्यसबेला आत्मविस्मृत भएर रमाएँ तिनै अर्थहीनताहरूभित्र ।
आगतका चिन्ता र चिन्तनबाट मुक्त रहेर सामुन्नेको निर्बोध प्रकृतिमा पौडनुको सुखानुभूति अन्यत्रबाट प्राप्त हुँदैन । त्यहाँ आदिम सत्य भुल्भुलाएर प्रस्फुटित हुन्छ । स्रष्टाहरू तिनै सत्यका थोपाहरू बटुलेर अनमोल सिर्जनाका घडाहरू भर्दछन् । हाम्रै देवकोटा, पौड्याल, घिमिरेलगायतका स्रष्टाले प्रकृतिबाटै प्रेरणा लिए र काव्योद्यानको रचना गरेका छन् । अनि काव्यमा जीवनको गीत गाएका छन् । उनीहरूले रचना गरेको काव्योद्यानको छहारी कति शीतल र सुन्दर छ ! परबाट अनुमान मात्र गरिरहेछु म । त्यसभित्र पस्न सके क्या आनन्द मिल्थ्यो होला ! सिर्जनाबाट प्राप्त हुने आनन्दानुभूतिलाई देखेर होइन, मनले स्पर्श गरेर मात्र प्राप्त हुन्छ । अमर स्रष्टाहरूले निर्माण गरेको आकाशमा जीवनका लागि गति र गीत दुवै छन् । त्यहाँबाट चुहिएको उज्यालोले निथ्रुक्क भिज्न पाए हुन्थ्यो !
जीवनको गतिमा गीत एकाकार हुने हो भने त्यसबाट उत्पन्न हुने ध्वनि निकै सुमधुर र कर्णप्रिय लाग्ने थियो । म दिवास्वप्नको रङ्गमहलमा चढेर कल्पना गर्छु, मानव जीवन आफैँमा गीतमय छ । त्यसलाई गाउन सिक्ने र लय हालेर गाउन जान्नेहरू पर पुगेका छन् क्षितिजमा । घरको आँगनदेखि क्षितिजसम्मको दूरी लामो छ । म देख्दैछु, त्यहाँ गोरेटा, गौँडा र अक्करहरू छन् । त्यहाँ तिखा पत्थरहरू निर्मित पट्यारलाग्दा बाटा र झोरझाडीहरू छन् । म झसङ्ग हुन्छु, त्यहाँ पुग्ने यात्राक्रममा पैतालामा ठेला उठ्छन् र फुट्छन् अनेकौँ पटक । तर उनीहरू गुन्गुनाउँदै हिँडेका छन् ।
सुनेको छु, एकलासमा अनि आँखा अघिल्तिरको शून्यतामा पनि जीवन छाम्न खोज्नेहरू कहिल्यै हार्दैनन् । ती कतै गीतका बीजहरू भेट्छन् र तिनलाई सुम्सुम्याउँछन् । कतै अङ्कुर भेट्टाउँछन् र तीसँग साउति गर्दछन् । कतै कोपिला र कतै ढकमक्क फूल भेट्टाउँछन् र तीसँग उदात्त रमाउँछन् ।
पहरामा टेकेर गाएको गीत नै प्रतिध्वनित भएर गुञ्जन्छ । उचाइतिरको नागबेली बाटोमा सुस्तरी हिँड्नुको स्वाद मैदानमा हिँड्नुभन्दा कैयौँ गुना बढी रहन्छ । तपस्याले जीवनका लागि गति र गीत दुवै प्रदान गर्दछ । तपस्याको उद्देश्य उज्यालोको प्राप्ति नै हो । उज्यालोको परिधिमा निराकार रहँदैन, शून्यताले आकार प्राप्त गर्दछ । त्यहाँ पुग्नेहरू नै जीवनको सबभन्दा नजिकमा पुग्छन् र गीत गाउन सक्छन् । बाँकी सब अधुरा प्रयत्नहरू मात्र हुन् ।
म आँखाहरू घुमाउँदै कोलाहलको भूमरीमा उभिएर दूर क्षितिजमा मुस्कुराइरहेको उज्यालोको झिल्का नियालिरहेछु । मनुष्य कोलाहलकै मुस्लाहरूबाट घेरिएको छ । कोलाहलमा कर्कशता हुन्छ । त्यसभित्र सौन्दर्य हुँदैन, गीत हुँदैन । बालुवामा उम्रने बिरुवा कोमल माटोको आधार नपाएर राम्ररी हुर्कनै नपाई जीवनबाट विश्राम लिन्छ । कोलाहलले उत्पन्न गराउने जीवन रङहीन अनि फिका हुन्छ, त्यसमा कुनै सुगन्ध हुँदैन । कोलाहलभित्र निसास्सिएर मान्छे जीवनको खडेरी सुसाइरहेछ । भीडका अनुहारहरूबाट बगिरहेको आर्तनादको सुसाइमा गीत छैन, जीवनको महक छैन ।
म निर्विकार प्राकृति सौन्दर्यसँग लुट्पुटिँदै हुर्किएँ जहाँ जीवनका निर्बोध अर्थहरू छताछुल्ल बगिरहेथे । तिनलाई टिप्न मसँग चेतना र ज्ञानको सामथ्र्य थिएन ।
स्मृतिको आँखीझ्यालबाट चियाउँदै गर्दा मानिस उसको अतितको आँगनमा पुगेर उसबेला नभेटिएका अर्थहरूसँग आत्मालाप गर्न थाल्दोरहेछ । ती अर्थहरूको उछ्वासले ऊ निथ्रुक्क भिज्दोरहेछ । तिनमा घोलिएको अनुभूति उसका लागि जीवनको सबभन्दा मीठो गीत बन्दोरहेछ ।
सुन्दर स्मृतिहरू नै जीवनका सबैभन्दा प्यारा गीतहरू बन्दा रहेछन् । गीतहरू विलोप भए भने मानिस आधारहीन बन्दो रहेछ ।
जीवनदायी द्रष्टा /स्रष्टाहरूले भन्दै आएका छन्, प्रत्येक वर्तमान विगतको ऐना हो । शब्दमा गाइने गीतले केहीबेरका लागि मात्र आनन्द दिन्छ तर हृदयको गीतले मनलाई अन्त्यहीन शीतलता र न्यानो दुवै दिइरहन्छ ।
सबभन्दा सुन्दर गीतहरू सायद गाइँदैनन् । तिनै गीतहरूले नै मानिसलाई अतितसँग मात्र होइन, वर्तमानको जीवनसँग पनि जोड्दोरहेछ । अनि मात्र जीवनले गति पाउँदो रहेछ । अनि मात्र जीवनको आरम्भ हुने रहेछ ।
मेरो गति मन्द छ । म जहाँ थिएँ उहीँ छु । अलिअलि घस्रिएको बहाना गर्दैछु । पुग्नुको अन्त्य छैन भने बोध भने भर्खरै पल्हाउन थालेको छ । मेरो घस्राइ नै मेरो गति हो ।
भुइँमा छरिएका सुकेका पत्करहरूमा मिसिएको माटोको सुगन्ध पिउन तिनलाई नछामी कहाँ सकिन्छ र ! मेरो गीत मैले टेकेको र घस्रेको भुइँसँग स्वयंले गरेको आत्मालाप हो ।