टोपलाल अर्याल
रेसुङ्गा(गुल्मी), कात्तिक २३ गते । पुर्सुङ्गे धुर्कोट गाउँपालिका–३ हाडहाडेका ७९ वर्षीय भविराम पुनको जोँस देखेर हेर्ने दर्शक पनि जुरुक–जुरुक बने । मदले बसन्त र भिम पहराईसँगै भुपाल काउछा, लक्ष्मण परियार र सोनु विकको मादलको तालमा समूहका गुरु बा लुम बहादुर पहराईले भैलोको भाका झिकेपछि भविरामलाई नाच्न उमेरले छेकेन् ।
पाका पुस्तासँगै भैलो नाचेका मारुनी सुमन पहराई, टेलिसा काउछा र सुमिना रानाले तालमा ताल मिलाउँदा धनमुडा भैलो समूहले दर्शकको निकै माया पायो । धुर्कोट गाउँपालिका स्तरीय भैलोको प्रतिस्पर्धामा साविकका आफ्नै वडा जितेको धनमुडाले पालिकाकै छ वटा वडालाई उछिनेर प्रथम स्थान प्राप्त गरेको छ ।
समूहका गुरु बा लुम बहादुर पहराईकै अनुसार धनमुडा समुह सोरठीका हरेक बिधामा खप्पिस छ । गाउँका हरेक उत्सवमा विभिन्न प्रकारका सोरठी, भैलो, झुमरा, ख्याली र गर्रा गाउँने र नाच्ने प्रचलन रहेको छ । आफुहरुले पछिल्लो पुस्तालाई समेत स्थानीय सँस्कृतिको संरक्षण र अनुसरणमा अगाडि सारेको पहराईले बताउनुभयो । उहाँ आफैँ पेसाले शिक्षक हो । पहराई १२ बर्षको उमेरबाटै भैलो र सोरठीमा मादल बजाउन र गाउँन हिँड्नु हुन्थ्यो ।
गाउँकै चर्चित पुराना पहराईबाट सोरठीका भाका सिकेकाले जोगिएको सोरठी सँस्कृति नयाँ पुस्तामा पुस्तान्तरणको प्रयास भइरहेको लुम बहादुरले बताउनुभयो । उहाँले धुर्कोट गाउँपालिकाले सोरठी सँस्कृति भित्रको मौलिक भैलो संरक्षण देखाएको सक्रियता निकै उत्कृष्ट रहेको बताउँदै समय निकै कम भएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “प्रतिस्पर्धामा मौलिक भैलो र सोरठीलाई समय पुगेन, कसैले समय धेरै भएर ड्याग बजाएर नाचे । पछिल्लो समय लोप हुने अवस्थामा पुगेका सँस्कृतिको संरक्षण गर्ने अभियान सुरु भएको छ ।”
धुर्कोट गाउँपालिकाले बर्सेनी भैलो महोत्सवको आयोजना गर्ने गरेको छ । जसका लागि सात वडाहरुले आन्तरिक समूहबिच प्रतिस्पर्धा गराएर गाउँपालिकामा पठाउने गर्दछन् । गाउँपालिकामा सात वडाका समूहबिच उत्कृष्ट हुने समूहलाई पुरस्कृत गर्ने गरिएको गाउँपालिकाले जनाएको छ । यो वर्षको भैलो प्रतियोगीतामा धनमुडा भैलो समूह धुर्कोट गाउँपालिका–३ हाडहाडे प्रथम, वडा नं २ पिपलधारा द्वितीय, वडा नं १ नयाँगाउँ तृतीय र वडा नं ४ जैसीथोक सान्त्वना भएको धुर्कोट गाउँपालिकाका कम्प्युटर अपरेटर रमेश पाण्डेयले जानकारी दिनुभयो ।
प्रथम, द्वितीय, तृतीय र सान्त्वनाले क्रमशः दुई हजार ५००, दुई हजार, एक हजार ५०० र एक हजार रुपियाँ नगद र प्रमाणपत्रप्राप्त गरेका छन् । मौलिक भैलोको संरक्षणनै आफुहरुको प्रमुख उद्देश्य रहेको धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोख्रेलले बताउनुभयो । मौलिक कला सँस्कृति र परम्परा अमूल्य सम्पत्ति भएकाले प्रतिस्पर्धाले गाउँ–गाउँमा उत्सव र सिकाईको अभ्यास सुरु भएको पोख्रेलले बताउनुभयो । उहाँले भैलो मौलिक सँस्कृति भएकाले बाह्रै महिना जहिले पनि प्रस्तुत गर्न सकिने तर्क गर्नुभयो ।
अहिले गाउँहरुमा पनि पश्चिमा सँस्कृतिले छपक्कै छोपेको छ । नयाँ पुस्तामा सँस्कृति संरक्षणको जाँगर छैन । धुर्कोट गाउँपालिका–१ नयाँगाउँका नारायण जिसी मारुनी हो । १० वर्षको उमेरबाट बुबा र काकाहरुसँग हिँड्दाहिँड्दै देउँसी भैलो र सोरठी सिक्नुभएका जिसी बर्सेनी तिहारमा नाच्ने गर्नुहुन्छ । आफुहरुले रातभर नसुतेर पनि देउँसीभैलो र सोरठी नाचेको स्मरण गर्दै मौलिक संस्कृति स्पिकर बजाएर नाच्नेहरुको चङगुलमा परिरहेको जिसीले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले सिक्ने बेला बुबा र काकाहरुको डर हुन्थ्यो बेग्लै खटाइ र सिकाई थियो । अहिलेको पुस्ता सुन्न, हेर्न र सिक्न उत्सुक छैनन बरु स्पिकरमा हिन्दी गीत बजाएर नाच्छन् ।”
तिहारमा खेलिने देउँसी, भैलो, मारुनी र सोरठी लोप हुने जोखिम बढेको छ । कुकुरतिहारदेखि एकादशीसम्म गाउँ टोलहरुमा देउँसी, भैलो र सोरठी खेल्ने चलन छ । अहिले मादलको तालमा मौलिक गीतभन्दा स्पिकरको भरमा पप र हिन्दी गीतमा नृत्य गर्ने किशोरकिशोरीको समूह धेरै छन् । सोरठीका पाका मान्छेहरु कोही रहेनन् कसैले गाउँनै छोडे ।
१२ वर्षको उमेरबाट सोरठी गाउँदै र नाच्दै आउनु भएको इस्मा गाउँपालिका–२ हस्तिचौरका राजेन्द्र बिक्रम कुवँरले विद्यालयहरुबाटै सोरठी, मारुनी र देउँसी भैला लगायतका मौलिक परम्पराका अभ्यास हुनुपर्नेमा जोड दिनुभयो । यी सँस्कृतिको संरक्षण गर्न धुर्कोट बाहेकका स्थानीय सरकारबाट अपेक्षाकृत काम नभएको कुवँरले बताउनुभयो । उहाँले पर्व अनुसारका हाम्रा कला सँस्कृति समुदायकै पहिचान पनि भएकाले सामुदायिक संघ–संस्था र क्लवहरुले पनि जोगाउनुपर्ने सुझाव दिनुभयो ।