• १२ पुस २०८१, शुक्रबार

भानुभक्तको महिमा

blog

विजयराज न्यौपाने  

भानुभक्त आचार्य हाम्रा राष्ट्रिय विभूति एवं आदिकवि हुन् । उनैले हाम्रो नेपाली भाषा, साहित्यमा नेपालीपनले भिजेका सरल र सरस कविता दिए । उनले लेखेको महाकाव्य रामायण पनि उस्तै सरल र सरस छ । उनले लेखेको रामायणलाई भानुभक्तीय रामायण भनिन्छ । 

संस्कृतमा लेखिएको वाल्मीकि रामायणलाई नेपाली शैलीमा अनुवाद गरेर भानुभक्तीय रामायण आएको हो । उनले यसलाई प्रभावशाली ढङ्गले मौलिक रूपमा प्रस्तुत गरे । आदिकवि भानुभक्तसँग हामी सबै नेपालीको आत्मीयता गाँसिएको छ ।

कुनै पनि देशले आफ्नो भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा योगदान पु-याउने आफ्ना लेखक, कवि, साहित्यकारहरूलाई उच्च सम्मान दिएको हुन्छ । उनीहरूको कृति छाप्ने र प्रचारप्रसार गर्ने काम पनि गरेको हुन्छ । उनीहरूको जन्मस्थलहरूलाई साहित्यिक, सांस्कृतिक स्थल बनाइएको पाइन्छ । यसबाट देशको राष्ट्रिय गौरव बढेको हुन्छ । हाम्रा आदिकवि भानुभक्तको जन्मस्थल तनहुँ जिल्लाको चुँदी, रम्घा हो । पृथ्वीराजमार्गको डुम्रे बजारबाट चुँदी, रम्घा पुग्न १४ किलोमिटर पर्दछ । भानुभक्तकै नामबाट राखिएको भानु नगरपालिकाको मध्यभागतिर भानुको जन्मस्थल चुँदी, रम्घा पर्दछ ।    

भानु जन्मस्थलको बृहत् विकास गर्ने ध्येयले हालै भानु साहित्य उद्यान समिति (२०७८) बनेको छ । छोटै समयमा यसले भानु साहित्य उद्यानको गुरुयोजना तयार पारेको छ । उक्त योजनाअनुसार चुँदी, रम्घाको डाँडोलाई साहित्यिक तीर्थस्थल तथा राष्ट्रिय एकता केन्द्रका रूपमा विकास गर्न यसले जोड दिएको छ ।