• ९ जेठ २०८१, बुधबार

चामलको मूल्य वृद्धि

blog

काठमाडौँ, असार २९ गते  । पछिल्ला एक सातामा चामलको मूल्य प्रतिबोरा १०० देखि ११० रुपियाँ बढेको छ । नेपालमा प्रतिबोरा १७ सयदेखि १९ सय रुपियाँसम्म चामल पाउने गरेको छ । भारतमा चामलको मूल्य बढेको हल्ला आउने बित्तिकै नेपालका व्यापारी मौज्दात रहेको चामलसमेत बढाउन थालेका हुन् । 

नेपाल खाद्य किराना तथा थोक व्यवसायी सङ्घका अनुसार पछिल्ला चार-पाँच दिनदेखि नेपालमा प्रतिबोरा चामलको मूल्य १०० रुपियाँ बढेको छ । सङ्घका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले नेपाल चामलमा लगभग भारतमै निर्भर रहेको र हाल भारतमै चामल प्रतिकेजी पाँच रुपियाँ भारतीय बढेको हुँदा प्रतिबोरा १०० रुपियाँ बढ्नु स्वाभाविक भएको दाबी गर्नुभयो । 

भारतमा प्रतिकेजी पाँच रुपियाँ भारतीय बढ्दा त्यही चामल नेपालमा आइपुग्दा १०० रुपियाँ मात्रै बढ्नु एकदमै न्यूनतम मूल्य हो, उहाँले भन्नुभयो, “भारतमा बढेको मूल्य नेपालमा बढ्यो भने ढुवानीसहित जोड्दा प्रतिबोरा २०० रुपियाँ हुन जान्छ ।” 

नेपालमा अन्य खाद्यान्न, दाल, चिनी, तेलजस्तो चामल मौज्दात राख्न सक्ने अवस्था नरहेको र दैनिक आउने हुँदा भारतमा बढ्ने बित्तिकै नेपालमा बढेको उहाँको  भनाइ छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चामलका मिल तथा उद्योगी र खाद्यान्नका थोक व्यापारीसँग चामलको मूल्य बढ्नुको कारण पेस गर्न निर्देशन दिएको छ । विभागले मङ्गलबार उद्योगी तथा व्यापारीसँग एक छलफलको आयोजना गरी चामलको मूल्य बढ्नुको स्पष्ट प्रमाणसहितको कारण पेस गर्न निर्देशन दिएको हो । 

विभागका महानिर्देशक लीलाप्रसाद शर्माले चामलको मूल्य बढ्नुको कारण प्रमाणित हुने बिलसहितको विवरण सक्दो छिटो पेस गर्न निर्देशन दिनुभएको छ । नेपालमा चामलको मौज्दात कति छ, कहिलेदेखि मूल्य बढेको हो, त्यो प्रमाण चाहिन्छ । मुखले भारतमा बढेपछि नेपालमा बढ्यो भन्ने सजिलो नहुने उहाँले बताउनुभयो । 

नेपालमा हाल चामलको मौज्दातको अवस्था नेपाली उत्पादनलगायतका विषयमा पनि छलफल भएकाले उहाँहरूले एक/दुई दिनभित्रै विवरण पेस गर्ने प्रतिबद्धता गरेको पनि उहाँले जानकारी गराउनुभयो । छलफलमा सहभागीहरूले पठाएको विवरण हेरेर मात्रै अहिले मूल्य वृद्धि स्वाभाविक वा अस्वाभाविक थाहा हुने, अस्वाभाविक भए त्यस्ता व्यापारीलाई कानुनअनुसार हदैसम्म कारबाही हुने महानिर्देशक शर्माले थप्नुभयो । 

चामल आयात

भन्सार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो ११ महिनामा २८ अब ५० करोड रुपियाँ बराबरको चामल नेपालमा भित्रिएको छ । यो तथ्याङ्क हेर्दा पनि नेपाल चामल परनिर्भर जस्तै देखिन्छ । नेपाल खाद्य किराना तथा थोक व्यापार सङ्घले नेपालमा उत्पादन भएको चामलले मागको २०-२२ प्रतिशत भन्दा नधान्ने दाबी गर्दै आएको छ । भन्सार विभागको तथ्याङ्क हेर्दा पनि सङ्घको दाबीमा धेरै हदसम्म सत्यता भएको देखिन्छ ।

नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको तथ्याङ्कअनुसार जेठमा वार्षिक विन्दुगत उपभोक्ता मूल्य वृद्धि ८.५६ प्रतिशत पुगेको छ । गत वर्षको ११ महिनामा यस्तो मूल्य वृद्धिदर ४.१९ प्रतिशत थियो । चालू आर्थिक वर्षको ११ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धि ७.४३ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको ९.४४ प्रतिशत रहेको राष्ट्र बैङ्कको मासिक प्रतिवेदनले देखाएको छ ।