• १८ कात्तिक २०८२, मङ्गलबार

झरीले भिजेको धान स्याहार्न व्यस्त किसान

blog

सिन्धुलीको दुधौली नगरपालिका–४ मा पानीले भिजेको धानबाली स्याहार्दै किसान । तस्बिर : बाबुराम देवकोटा

बाबुराम देवकोटा 

सिन्धुलीमाढी, कात्तिक १८ गते । सिन्धुली जिल्लाका किसान केहि दिन अघिको निरन्तर झरीबाट भिजेको खेतमा काटेर सुकाएको धान स्याहार्न जुटेका छन् ।

मौसममा सुधार आई अविरल वर्षा रोकिएर घाम लाग्न थालेपछि किसानहरू खेतबारीमा भिजेको धान सुकाउन स्याहार्न थालेका हुन् । बङ्गालको खाडीबाट विकसित ‘मोन्था’ चक्रवातको कारण भएको वर्षाले खेतबारीमा काटेर सुकाएकै ठाँउमा धान भिजेर पानीमा डुबेको किसानले बताएका छन् । 

कमलामाई नगरपालिका–४ निवासी किसान राजेन्द्र राय पानीले भिजेर धान सुकाएकै ठाँउमा उम्रिन थालेको गुनासो गर्नुहुन्छ । उहाँले भन्नुभयो, ‘भिजेको धान(निहिन)लाई सुकाउन ओल्टाई पल्टाई गरेका छौं । तर, खान हुने खालको के होला र ? पानीले भिजेर चिउरा कुट्ने जस्तै ढाडी सकेको छ ।’

वर्षदिन खाने बाली भएकोल भिजेको धान स्याहारेको उहाँको भनाइ छ । अझै केहि समय घाम लाग्ने र बादल लाग्ने भई रहेकाले चिन्ता नै रहेको किसान बताउछन् । तीन, चार दिन राम्रोसँग घाम लागे भिजेको धान सुक्ने र भित्र्याउन सकिन्थ्यो की भन्ने आसमा किसान बसेका छन् ।

दुधौली नगरपालिका–४ निवासी किसान नवराज बराल बेमौसमी वर्षाले किसानलाई बज्रपात परेको गुनासो गर्नुहुदै पानीले भिजेर क्षती भएको धानको मूल्याङ्कन गरी पीडित किसानलाई सम्बन्धित निकायले राहत उपलब्ध गराउनु पर्ने बताउनुहुन्छ ।

‘जताबाट पनि किसानलाई सकस नै सकस छ,’ उहाँले भन्नुभयो, ‘रोपाइँ गर्ने बेलामा पानी र मलको अभाव । धान भित्र्याउने बेला पानीको डर । किसानलाई केही गरी पनि सुख छैन ।’ तिहार लगत्तै काटेर खेतमा सुकाएको धान खराब मौसमका कारण किसानले अझै भित्र्याउन नपाएको उहाँले जानकारी दिनुभयो ।

स्थानीय किसानको अनुसार खेतबारीमा वर्ष दिन खाने धानबाली पाकेर पँहेलपुर बनेपछि किसानलाई चाडपर्व भन्दा पनि धान काट्नै हतार थियो । त्यसैले तिहार सकिए लगत्तै धेरै जसो किसानले आफ्नो खेतबारीमा भएको धान काटेर सुकाएका थिए । जिल्लाकै अन्न भण्डारको रूपमा परिचित कमलाखुँज, मरिण र तीनपाटन क्षेत्रमा पानीले भिजेर काटेको धान बाली बढी क्षती भएको कृषि विकास कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख अनुप अधिकारीले जिल्ला भरिमा एक हजार हेक्टरमा काटेको धान पानीमा डुबेर क्षति भएको अनुमान गरिएको र स्थानीय तहबाट क्षतीको विवरण सोचेभन्दा बढी आई रहेको जानकारी दिनुहुन्छ । उहाँले भन्नुभयो, ‘धेरै क्षती भएको दुधौली र कमलामाई नगरपालिकाबाट विवरण आउन बाँकी छ । फिल्ड घुम्ने क्रममा दुधौली नगरपालिकाको धेरैजसो ठाँउमा डुबेकै ठाँउमा धान उम्रेको पाइँयो ।’

अझै काट्न बाँकी धान तीन दिनजति मौसमको अवस्था हेरेर मात्रै काट्न किसानलाई सल्लाह दिँदै आएको कार्यालय प्रमुख अधिकारीको भनाइ छ । कार्यालयका अनुसार जिल्लामा यो वर्ष १२ हजार ८६२ हेक्टर जमिनमा वर्षे धान खेती भएको र हालसम्म किसानले ५० प्रतिशत भन्दा बढी जमिनमा धान काटी सकेका छन् । जिल्लामा गत वर्ष १३ हजार ४४५ हेक्टरमा वर्षे धान खेती भएको र उत्पादन ५० हजार ११४ मेट्रिक्टन उत्पादन भएको थियो ।