काठमाडौँ, पुस २५ गते । बर्सेनि करोडौँ रुपियाँको प्याज भारत र चीनबाट आयात हुन्छ तर यहाँको एक गाउँ भने हरेक वर्ष एक करोड रुपियाँभन्दा धेरै प्याजको बेर्ना उत्पादन गरिरहेको छ । कुनै समय परम्परागत खेतीभन्दा थप केही नहुने गाउँका मानिस अहिले प्याजको बेर्ना बेचेर घरखर्चको जोहो गर्ने भएका छन् ।
पाको र बलौटे माटो भए पनि त्यहाँका स्थानीयले तोरी र गहुँ मकै खेती गर्दा मनग्गे आम्दानी भने हुन सकेको थिएन । त्यही माटोमा प्याजको बेर्ना भने हलक्कै बढ्यो अनि गाउँलेले प्याजको बेर्ना उमार्ने कार्यलाई व्यावसायिक बनाए ।
प्याजको बेर्ना उत्पादन हुने गाउँको नामबाट परिचित बन्न पुग्यो भुम्लु गाउँपालिका–९, अमरटार । अमरटारका २५ घरपरिवारका सदस्यले प्याजका बेर्ना व्यावसायिक रूपमा उमार्छन् । त्यसलाई बजारमा लगेर बेच्छन् । ज्याम्दी अमरटारको प्याजको बेर्ना किसानको पहिलो रोजाइ हुने गरेको छ ।
ठुलो गाँठा लाग्ने, मिठो स्वाद र बास्नादार हुने भएपछि काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिका–९, ज्याम्दीको अमरटारमा उत्पादन हुने प्याजको बेर्ना मध्यपहाडी जिल्लाका किसानको पहिलो रोजाइमा पर्ने गरेको छ । त्यही भएर सो गाउँले दुई महिनामै प्याजको बेर्ना बेचेर एक करोड रुपियाँसम्म भित्र्याउँदै आएका छन् । अहिलेसम्म किसानले रैथाने प्याजकै बिउबाट बेर्ना उत्पादन गरिरहेका छन् । एक पाथीदेखि एक मुरीसम्म प्याजको बिउको बेर्ना बनाउने किसान ज्याम्दीमा छन् ।मङ्सिर–माघ महिना प्याज लगाउने सिजन हो । यही सिजनमा त्यहाँका किसानको दिनचर्या अलि फरक तरिकाले बित्छ । बिहान ५ बजे नै उनीहरू मोटरसाइकलको पछिल्तिर क्रेटमा प्याजको बेर्ना राखेर बेच्न विभिन्न गाउँसम्म जान्छन् ।
“दुई/चार रुपियाँका लागि अरूको भर पर्नुपर्ने बाध्यता थियो, प्याजको बेर्ना बेच्न थालेपछि दुई/चार रुपियाँको अभाव हुन छाड्यो,” स्थानीय सेती तामाङले भन्नुभयो । उहाँका अनुसार तीन महिना प्याजको बेर्नाले राम्रो आम्दानी हुन्छ । बाँकी समय तरकारी खेती हुन्छ । सेती मात्रै होइन, उहाँसँगै गाउँका अन्य महिला पनि प्याजको बेर्ना बिक्री गर्छन् ।
अमरटारको प्याजको बेर्ना काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली र भक्तपुरसम्म पुग्ने गरेको छ । धेरै ठाउँमा प्लास्टिक टनेलभित्र प्याजको बेर्ना उत्पादन हुने भए पनि ज्याम्दीमा भने किसानले खुला आकाशमुनि नै प्याजका बेर्ना उत्पादन गर्दै आएका छन् । जसले किसानले खेतबारीमा प्याज रोपेपछि मर्ने समस्या भने कम हुन्छ भने उत्पादनमा कुनै पनि समस्या देखिँदैन । “ज्याम्दीका प्याजका बेर्ना बलिया र राम्रो उत्पादन हुने प्रकृतिका हुन्छन्,” महादेवस्थानका महेश्वर दाहालले भन्नुभयो, “हाम्रा बुवाको पालादेखि नै ज्याम्दीमा उत्पादन भएको प्याजको बेर्ना रोप्छौँ ।”
अमरटारमा प्याजको बेर्ना उत्पादन सुरु भएको पाँच दशकभन्दा धेरै भइसकेको स्थानीय प्रेम लामाले उल्लेख गर्नुभयो । उहाँले पुर्खाले अमरटारका स्थानीयलाई प्याजको बेर्ना उत्पादनका गर्न ठुलो सिप हस्तान्तरण गरेको बताउनुभयो । दुई महिनामा एकै गाउँका २५ घरघुरीले एक करोड रुपियाँसम्म भित्र्याउन सफल भएको बताउनुभयो । न्यूनतम ६० हजारदेखि छ लाख रुपियाँसम्म आम्दानी गर्ने किसान अमरटारमा रहेको बताउँदै प्याज उत्पादनमा प्रोत्साहनका लागि स्थानीय सरकार, कृषि विकास कार्यालयको सहयोग आवश्यक हुने उहाँले स्पष्ट पार्नुभयो ।
एक दशकअघिसम्म प्याजको बेर्ना लिन ज्याम्दीसम्म पुग्ने भए पनि अहिले किसानका घरघर पुगेर बेर्ना बेच्न मोटरसाइकल प्रयोग हुन थालेको छ । मोटरसाइकलको पछि व्रmेटमा बेर्ना बोकेर माग अनुसार बेच्ने गरेको पदम लामाले बताउनुभयो । एक मुठा बेर्नाको २० रुपियाँदेखि सङ्ख्याका आधारमा एक सय रुपियाँसम्ममा बेच्ने गरेको उहाँले बताउनुभयो ।
प्याजको बेर्ना उमार्न सजिलो छैन । दुई महिनाअघिदेखि नै तयारी गर्नुपर्ने लामाले बताउनुभयो । जमिनलाई जोत्ने, पोटास मल हाल्ने, गोठेमल प्रयोग गरेर ठिक्क पारेर राख्नुपर्ने पदमले बताउनुभयो । नवजात शिशुलाई स्याहार गरे जसरी स्याहार गरेर मात्रै बेर्ना तयार हुने बताउँदै बेर्ना उत्पादनमा मुनाफा भने कम हुने उहाँले बताउनुभयो ।