• ९ जेठ २०८१, बुधबार

तीस अर्बले बढ्यो विदेशी विनिमय सञ्चिति

blog

काठमाडौँ, असार २८ गते । एक महिनामा विदेशी विनिमय सञ्चिति ३० अर्ब रुपियाँले बढेको छ । नेपाल राष्ट्र बैङ्कले सोमबार सार्वजनिक गरेको ११ महिनाको तथ्याङ्कमा विदेशी विनिमय सञ्चितिमा सुधार देखिएकोे हो । 

वैशाखमा विदेशी विनिमय सञ्चिति ११ खर्ब ४६ अर्ब ८८ करोड रुपियाँ रहेकामा जेठमा ११ खर्ब ७६ अर्ब ८४ करोड रुपियाँ पुुगेको हो । गत फागुनमा ११ खर्ब ६७ अर्ब ९२ करोड र चैतमा आठ महिनामा ११ खर्ब ७१ अर्ब रुपियाँ थियो । गत आर्थिक वर्षको जेठ महिनाको तुलनामा यो वर्षको जेठमा भने विदेशी विनिमय सञ्चिति घटेको छ ।

गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा (जेठ)मा कुुल विदेशी विनिमय सञ्चिति १५ दशमलव ९ प्रतिशतले घटेर ११ खर्ब ७६ अर्ब ८४ करोड रुपियाँमा झरेको राष्ट्र बैङ्कले जनाएको छ ।  

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकामा यो वर्षको जेठ मसान्तमा १९ प्रतिशतले कमी आई नौ अर्ब ४५ करोड रहेको छ । चालू आर्थिक वर्षको जेठ मसान्तमा कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुुद्राको अंश २५ प्रतिशत रहेको छ । 

चालू आर्थिक वर्षको प्रथम ११ महिनाको आयातलाई आधार मान्दा बैङ्किङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७ दशमलव ५३ महिनाको वस्तुु आयात र ६ दशमलव ७३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैङ्कले जनाएको छ । 

चालू खाता छ खर्ब 

समीक्षा अवधिमा चालू खाता घाटा बढेको छ । चालू आर्थिक वर्षको ११ महिनामा चालू खाता घाटा पाँच खर्ब ९५ अर्ब ७३ करोड रुपियाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता दुई खर्ब ९८ अर्ब ११ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको जेठमा दुई खर्ब ५४ करोडले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा चार अर्ब ९६ करोडले घाटामा थियो । 

शोधनान्तर घाटा उच्च

समीक्षा अवधिमा शोधनान्तर स्थिति दुई खर्ब ६९ अर्ब ८१ करोड रुपियाँले घाटामा रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा शोधनान्तर स्थिति १५ अर्ब १५ करोड रुपियाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको तुलनामा सोही अवधिमा १४ करोड आठ लाखले घाटामा रहेको शोधान्तर स्थिति समीक्षा अवधिमा दुई अर्ब २६ करोड घाटामा रहेको छ । 

विप्रेषण आप्रवाह ३.८ प्रतिशतले बढ्यो

अघिल्लो वर्षको ११ महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३ दशमलव ८ प्रतिशतले वृद्धि भई नौ खर्ब चार अर्ब १८ करोड रुपियाँ पुुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १२ दशमलव ६ प्रतिशतले बढेको थियो । 

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १ दशमलव ५ प्रतिशतले वृद्धि भई सात अर्ब ५१ करोड पुुगेको छ । अघिल्लो वर्ष सो अवधिमा आप्रवाह १० दशमलव ५ प्रतिशतले बढेको थियो । जेठ महिनामा वैदेशिक रोजगारीमा जान अन्तिम श्रम स्वीकृति लिने तीन लाख १३ हजार ३६७ पुुगेका छन् । 

आयात निर्यात दुवै बढ्यो

अघिल्लो वर्षको सोही अवधिको तुलनामा चालू आर्थिक वर्षको ११ महिनामा वस्तु निर्यात ५३ दशमलव ३ प्रतिशतले बढेर एक खर्ब ८५ अर्ब रुपियाँ पुुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा निर्यात ३७ दशमलव ८ प्रतिशतले बढेको थियो । 

यो अवधिमा भारततर्फ ६१ दशमलव ८ प्रतिशत र अन्य मुलुकतर्फ ३० दशमलव १ प्रतिशतले निर्यात बढेको छ । पाम तेल, सोयाबिन तेल, धागो, ऊनी गलैँचा, जिङकक सिटलगायतका वस्तुको निर्यात बढेको छ भने अलैँची, औषधि, दन्त मञ्जन, तयारी पोसाकलगायतका वस्तुको निर्यात घटेको छ ।

यस्तै अघिल्लो वर्षको जेठ महिनाको तुलनामा यो वर्षको जेठमा आयात २७ दशमलव ५ प्रतिशतले बढेर १७ खर्ब ६३ अर्ब २२ करोड रुपियाँ पुुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा आयात २५ दशमलव ७ प्रतिशत बढेको थियो । सो अवधिमा पेट्रोलियम पदार्थ, औषधि, कच्चा पाम तेल, सुन, मेसिनरी पार्टस्लगायतका वस्तुको आयात बढेको छ भने रासायनिक मल, सिमेन्ट, धान तथा चामल, दालको आयात घटेको राष्ट्र बैङ्कको तथ्याङ्क छ । 

नगद मौज्दात तीन खर्ब ५१ अर्ब

चालू आर्थिक वर्षको जेठ महिनासम्म सरकारका विभिन्न खातामा तीन खर्ब ५१ अर्ब ९१ करोड रुपियाँ नगद मौज्दात रहेको छ । गत वर्ष असार मसान्तमा मौज्दात एक खर्ब ९८ अर्ब ७६ करोड रुपियाँ थियो ।