• २० कात्तिक २०८२, बिहिबार

अवैध काममा फसेका १४ नेपालीको उद्धार

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक २० गते । म्यान्मारमा अवैधानिक कार्यमा लगाइएका १४ नेपाली नागरिकको नेपाल सरकारले उद्धार गरेको छ । अझै ११  नेपाली नागरिक म्यान्मारमा अवैद्य काममा फसेको फेला पारिएको छ । परराष्ट्र मन्त्रालयको पहलमा १४ नेपाली नागरिकको उद्धारपछि थाइल्यान्डको बैङ्ककस्थित नेपाली दूतावासले बुधबार नेपाल फिर्ता पठाएको छ । 

दूतावासका अनुसार विभिन्न प्रलोभनमा पारी म्यान्मारमा पु¥याई अवैद्य रूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङको अवैद्य धन्दामा लगाइएकामध्ये १४ जनाको उद्धार यस पटक गरिएको हो । यसअघि पनि पटक पटक त्यस्ता काममा लगाइएका नागरिकको उद्धार गरिएको थियो । म्यान्मार तथा थाइल्यान्डका सम्बन्धित निकायको समन्वय र सहयोगमा म्यान्मारको म्यावडी क्षेत्रबाट उद्धार गरी थाइल्यान्डको टाक प्रान्तको अध्यागमन कार्यालय मेसोट हुँदै थाइल्यान्ड पु¥याइएको दूतावासले जनाएको छ । त्यहाँबाट नेपाल एयरलाइन्सको उडानमार्फत बुधबार नेपाल फर्काइएको हो । त्यसै गरी म्यान्मारमा रहेका थप ११ नेपालीलाई यथाशीघ्र नेपाल फर्काउने गरी म्यान्मार तथा थाइल्यान्डका सम्बन्धित निकायसँग समन्वय भइरहेको पनि दूतावासले प्रस्ट पारेको छ । 

म्यान्मारको म्यावडी क्षेत्रमा अवैद्य रूपमा सञ्चालित अनलाइन स्क्यामिङ केन्द्रबाट गत महिनायता ३८ नेपाली नागरिकसमेत गरेर विभिन्न २८ मुलुकका दुई हजारभन्दा बढी विदेशीलाई अवैद्य काममा लगाउनका लागि थाइल्यान्ड पु¥याइएको पाइएको छ । ती ३८ नेपाली नागरिकलाई समेत नेपाल फर्काउनका लागि थाइल्यान्ड सरकार र सम्बन्धित निकायसँग समन्वय भइरहेको दूतावासले उल्लेख गरेको छ । राम्रो र सहज कामको प्रलोभनमा त्यसरी नजान दूतावासले अपिल गरेको छ । साथै नेपाल सरकारले तोकेका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान भनिएको छ । 

कसैको प्रलोभनमा परी छिटो र धेरै पैसा कमाउने लोभमा परेर कम्बोडिया, लाओस, म्यान्मार, थाइल्यान्डलगायतका मुलुकमा भ्रमणको बहाना गरी वैदेशिक रोजगारीमा नजान पनि अपिल गरिएको छ । धेरै जसो भिजिट भिसामा थाइल्यान्ड पुगेका पनि अवैद्य मानव तस्करीमा परेर फसेको पाइएको छ ।