• ८ असार २०८१, शनिबार

खुल्यो कालीगण्डकी करिडोर

blog

कालीगण्डकी करिडोरमा गएको पहिरो पन्छाउदै डोजर । तस्बिर : तिलाचन पाण्डे

तम्घास, असार २७ गते । गत असार १६ गते देखि सडकमा पहिरो खसेका कारण अवरुद्ध भएको कालीगण्डकी करिडोर खुलेको छ ।

जिल्लाको कालीगण्डकी गाउँपालिकाको अर्बेनीदेखि पुर्तिघाट सडक खण्डको कनौटामा सडक माथिबाट ठुलो पहिरो खसेकाकारण सडक अवरुद्ध हुँदा यहाँका स्थानीयले सास्ती भोग्नुपरेको थियो  ।

नेपाली सेनाले बम व्लाष्ट गरेर  खोलेको कालीगण्डकी करिडोरको हर्मिचौर पुर्तिघाट सडक खण्डमा सामान्य पानी परे पनि  पहिरो खस्ने समस्याले  विगतदेखि नै आफुहरु हैरान भएको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले बताउनुभयोे ।

लामो समयको कसरतपछि अहिले पहिरो पन्छाउने कार्य सकिएको भन्दै दीर्घकालिन रुपमा समस्याको समाधान नखोजेसम्म समस्या जस्ताको तस्तै रहने उहाँको दाबी छ । जसका लागि करिडोरको कार्यालयले समयमै ठेक्का लगाउने र पहिरो खस्ने जोखिम स्थानहरुमा वाल लगाएर अगाडि बढ्नुपर्ने उहाँको भनाइ छ ।

कालीगण्डकी करिडोर गैडाकोट, राम्दी, मालढुङ्गा सडक आयोजना पाल्पाका प्रमुख कल्पना अधिकारीले तत्काल पहिरो पन्छाउनका लागि वर्षायामको समय भर मेसिन फिल्डमै रहने जानकारी दिनुभयो । 

केही समय अगाडि देखि करिडोरको पहिरो पन्छाउने कार्य करिडोरको कार्यालयले गर्ने व्यवस्था मिलाएको थियो । यस अघि कार्यालयमा  मर्मत सम्भारका लागि बजेटको व्यवस्था नभएकाले समस्या भएको र हाल बजेटको व्यवस्था भएकोले समस्याको समाधान भएको अधिकारीको दाबी छ । 

पहिरोका कारण पुुर्तिघाटदेखि बुटवल सम्म छुटने सवारी साधनहरु र यात्रुहरु अलपत्र पर्ने गरेका छन् भने कार्यालयको कामले गाउँपालिकासम्म जान पनि समस्या पर्ने गरेको यात्रुहरुले बताउँदै आएका छन् । 

सडक अवरुद्ध हुँदा गाउँपालिकाको केन्द्र पुर्तिघाट जानका लागि स्याङ्जाको सेतिबेनी र पर्वतको बिहादी गाउँपालिका हुँदै कालीगण्डकी नदिको पुल तरेर जानुपर्ने बाध्यता आएको स्थानीय तिलक रानाले गुनासो गर्नुभयो । राष्ट्रिय गौरबको कालीगण्डकी करिडोर लामो समयसम्म अवरुद्ध हुनु दुःखद भएको रानाले बताउनुभयो ।

Author

तिलाचन पाण्डे