कुनै बेला पुरास (भोट) जान बझाङ र दार्चुलाको उत्तरी सीमा पार गर्नु पथ्र्यो । पुर्खाहरू १२/१४ दिन नाक छुने उकालो पैदल हिँडेर भोट पुग्थ्ये । नुन र उनको गरुङ्गो भारी बोकेर झन्डै एक महिनाको पैदल हिँडाइपछि घर पुग्थ्ये । पाल्नु चेलो हाट (झुलाघाट, टनकपुर, मण्डी) फाल्नु चेलो भोट भन्ने कथन थियो त्यस बेला । समयले कोल्टे फे¥यो । अहिले त्यस्तो छैन । माल (तराई) बाट हिमालको फेदीसम्म पुग्न मानिस गाडीको यात्रा गर्छन् । दिनहुँ माल (तराई) का गाडी बझाङ, बाजुरा, डोटी, अछाम, दार्चुला, बैतडी पुग्ने गर्छन् । विगत २५ वर्षदेखि सङ्घीय राजधानी काठमाडौँबाट बझाङ, बाजुरासम्म पुग्न गाडीको सिधा व्यवस्था भएकाले यात्रु दुई रात एक दिनमा गन्तव्यमा पुग्ने गर्छन् । ३५ सय गाडी भाडा तिरेर घर पुगिने सो रात्रि र दिवा सेवाको यात्रा भने त्यति सहज छैन ।
कैलालीको धनगढीबाट पहाडी जिल्ला पुग्नका लागि कैलालीको गोदावरी भएर जानु पर्छ । जब उकालो लाग्छौँ, भावर प्रदेशमा उकुसमुकुस भएका यात्रु आनन्दको अनुभूति गर्छन् । रमणीय जङ्गल, नागबेली सडक, ठाउँ ठाउँमा यात्रुका लागि स्थापना गरिएका होटल, स्वादिलो खाना, बझाङ्गी, डोटेली शैलीका भाषा, सच्चाइको व्यवहारले सुदूरपश्चिमको प्रारम्भिक संस्कृति झल्किने गर्छ माटोमा । पहाडी जिल्लामा कुनै बेला काठमाडौँबाट सिधा हवाई सम्पर्क थियो । विसं २०५२ फागुन १ गतेबाट तत्कालीन नेकपा माओवादीद्वारा सुरु गरिएको सशस्त्र सङ्घर्षका कारण सो सेवा बन्द गरिए । तराईबाट उडान गरिने १८ सिटका टुइनेटर विमान बन्द गरिए । टावरमा क्षति भयो, एयरपोर्ट घाँसे मैदानमा परिणत भए । सरकार र निज वायुसेवा कम्पनीले नेपालगन्जको राझा एयरपोर्टबाट हुम्लाको सिमकोट र जुम्लाको खलङ्गा एयरपोर्टमा भने दिनको ४/५ पटक उडान भर्ने अनुमति दिइएको थियो । मुगुको ताल्चा विमानस्थलमा हवाई सेवा नरोकिए पनि सुचारु राम्ररी हुन नसकेको गुनासो सुनिँदै आएको छ । सुदूरपश्चिमका पहाडी जिल्लामा विगत वर्षदेखि हवाई यातायात ठप्प हुँदा हजारौँ यात्रु गाडीमा सवार गर्न बाध्य छन् । गाडीको यात्रा गर्दा जोखिम बेहोर्नु त छँदै छ ।
खानीडाँडा, फल्टुडे, भासुको भिर, जोराइल, बसडर, गैरा, गाङखेत, साऊखर्क, गन्यामधुरा र स्याउले हुँदै डडेलधुरा पुगिन्छ । एकातिर तेल्याको लेकबाटको चिसो हावा, अर्कोतिर अनारखोली, रुवाखोला, डडेलधुरा सदरमुकाम आसपासका घना र रमणीय जङ्गलबाट बहने चिसो बतासका कारण डडेलधुरा बजार, तुफान डाडामा मध्य ग्रिष्म ऋतुमा पनि चिसो बतास चल्ने गर्छ, सिरक नओडी सुत्न सकिँदैन । साग तरकारी, फलफूल खेती र महका लागि प्रख्यात मानिएको डडेलधुरा जिल्ला सुन्दर सुदूरपश्चिमको रानी जिल्ला हो, जहाँ पानी न मिसाइको खिर खान पाइन्छ । मौसम, कागती, अमिलो ज्यामिर आदि फलफूल १०÷१५ रुपियाँमा गाउँ गाउँमा सजिलै खरिद गर्न सकिन्छ । जिल्लावासीको बोलीमा र व्यवहारमा मायालुपन, सच्चा र इमानदारिता बढी झल्किन्छ । विद्वान् विदुषी जन्माउने सुदूरपश्चिम र कर्णाली प्रदेशको आँगनीमध्ये डडेलधुरा पनि प्रमुख भूमि हो । यी दुवै प्रदेशका प्रत्येक जिल्लामा इतिहास जीवित छन्, संस्कृति र संस्कारले प्रत्येक गाउँबस्ती पोतिएका छन् । त्यसैले होला डडेलधुरा, बझाङ, अछाम, डोटी, बैतडी, दार्चुला, हुम्ला, कालीकोट, जुम्ला, बाजुरालगायतका जिल्लावासीका मुखमा प्राचीन नेपाली भाषा झुन्डिएको पाइन्छ । देउडा गीतका विविध भाका सुन्न पाइन्छ । थुम्का थुम्काबाट उत्तरतिर फर्केर हेर्दा साइपाल, अपि, जेठी बहुरानी हिमाल हाँसेको देखिन्छ, दक्षिण फर्केर हेर्दा माल (तराई) को मैदानी भूमि देखिन्छ, जहाँ हिउँदमा तोरी फुलेर पहेलपुरको दृश्य र शरद ऋतुमा धानका बाला झुलेर सुदूरको भूमिमा सुन फलेको आभास हुन्छ । हिमालमा डाँफे र कस्तुरी, तराईमा मयूर नृत्य गर्ने यो सुन्दर आँगनी हिमाली जडीबुटी यार्सागुम्बा, पाँचऔले, चिराइतो र सल्लाका खोटोका लागि पनि प्रख्यात छ । त्यसैले यो भूमिको ऐतिहासिक गीतले हामीलाई सम्झाउछ –
डोटी राम्रो डडेलधुरा अछाम राम्णो साँफ्या
मलाई पनि उडाई लैझा हिमालका डाँफ्या ।
संस्कृति, सभ्यता र मानवताको जिउँदो इतिहास सुदूरपश्चिम र कर्णाली प्रदेशमा ताजा छ । सङ्घीय राजधानी काठमाडौँबाट निकै टाढा छ । यहाँका देव मन्दिरहरूमा हरेक बिहान शङ्ख घण्ट बनाउने गर्छन् भक्तजन । दुःखको कुरा भन्नु पर्छ आस्थाका देवीदेवताले विपिन जोशी र निर्मला पन्तमाथि न्याय दिन सकेनन् । कोरोनाकालमा धार्चुलाबाट स्वदेश दार्चुला फर्कने व्रmममा जयबहादुर धामी महाकाली नदीमाथि तुइनको डोरी काटेर नदीमा फालेको भारतीय प्रहरीमाथि नेपाल सरकारले बदलाको भाषा बोल्न सकेन ।
बैतडी जिल्लामा पर्ने खोड्पे सुदूरपश्चिमको नारायणगढ हो, जुन कहिल्यै निदाउँदैन । यहाँबाट पश्चिमतिर बैतडीको सदरमुकाम गोठालापानी र दार्चुला पुग्न गाडी हुइकिन्छन् । पूर्वउत्तर गयो भने बझाङका गाडी कुद्ने गर्छन् । जयपृथ्वी राजमार्गका नामले प्रख्यात सो सडकको लम्बाइ १४३ किमी छ बझाङको उत्तरी सीमा साइपाल गाउँपालिकासम्म । बिच सडकका बस्ती विजयपुर, झौलेक, वृन्दावन, नाचन्थली, वचपानी, वित्थड बजार, दुध ढोल्ना, कचर, स्याडी, देउलेख, धरान, सुनकुडा, बागथला देउरा, झोता, झनाला, मौरीबगर, बगरगाऊ, तमैल, सुवेदीगाउँ हुँदै सदरमुकाम चैनपुर पुगिन्छ । आधा भूमि बैतडी घुम्दै बझाङ पुग्दा सुमेरु पर्वत घुमेको अनुभूति हुन्छ । कर्णालीको चिसापानीबाट अछाम र डोटीको मेल्लेख भएर पहाडी लोकमार्ग हँुदै गाडीको सुविधा भए यात्रुलाई ५ घण्टाको छोटो दुरीको यात्रा गरी गन्तव्यमा पुगिन्थ्यो । कैलाली जिल्लाको उत्तरी सिमाना पर्ने डरलाग्दो भासुको भिर, बैतडी जिल्लाका अनारखोली, खोड्पे, वित्थड, दुध ढोल्नाका लेक, रमितापुरको भिर डडेलधुरा जिल्लामा पर्ने तेल्याको लेक भएर सवार गर्दा निकै जोखिम मोल्नुपर्ने हुन्छ ।
यसैगरी बझाङ जिल्लाको सुनकुडा, देउलेक, माल्ल्वापड सारै डरलाग्दा गन्तव्य हुन् । लेकाली भागको साँघुरो सडक, मन कम्पित हुने भिर र मोड पार गर्दै दिनमा कैयौँ गाडी ज्यान हत्केलामा राख्दै गुडाउने गर्छन् चालक । दक्षिणमा अविरल सेती नदी बगिरहन्छन्, उत्तरतिर लेकाली भाग जहाँ गर्मी महिनामा पनि तापक्रम १० डिग्रीभन्दा माथि जादैन, त्यस्तो जोखिम मोलेर यात्रा गर्ने यात्रु र गाडी चालकको हिम्मत त मान्ने पर्छ ।
सिरानमा साइपाल हिमाल बोकेको बझाङ जिल्ला सुदूरपश्चिमको रमणीय र पर्यटकीय जिल्ला हो । दक्षिणमा खप्तड राष्ट्रिय निकुन्ज पर्छ । बिच भागमा हिमनदी सेती (सीता) नदी बग्छिन् । शाखा नदी (जसलाई गाड भनिन्छ) कालङ्गा, बाउलीगाड, सुनिगाड र तलकोटी गाड विभिन्न डाडाकाडा, खोल्सा पार गर्दै बग्ने गर्छन् । यो जिल्लामा मार्सी बासमती, अन्जना, लडमण्या धान फल्ने मलिला फाँट छन्, जसलाई जिउला भनिन्छ । बुङ्गलका सेरा, जुजीको जिउला, पिखेत, छान्नाका जिउला, सुवेडा, देउल, थलीको जिउलो, पडेस र गोलाइको जिउला, चिण्डीसेरा, खेइरा, साइलाबगर र भात्याखोलाको जिउला बझाङका अन्नका भण्डार हुन् । तलकोटीगाउँ, छान्न थालारा, जयपृथ्वीनगरका काप्रीकोट, खैइरा बाजगाउँलगायतका बस्तीमा हिँउदे फलफूल पाकेर पहेला देखिन्छन् । तलकोटमा त कागती, ज्यामिर, अमिलो पाकेर भुइँमा खसेका छन्, सुन्तला किलोको ४० मा प्रशस्तै पाइन्छ भने केराका घारी पाकेर बोट नुहेका देखिन्छन् । गाउँमा फलफूल खाने मान्छे धेरै छैनन्, वृद्धवृद्धा आश्रम जस्तै देखिन्छन् गाउँ । कसैको निधन भएमा ३÷४ दिनसम्म मूर्दाघरमा कुर्नुपर्ने बाध्यता छ । बम्बई, बेङ्ग्लोर, दिल्ली मात्र नभएर आजकल त समुद्रपारिका मुलुकमा कामको खोजीमा गएका आफन्त घर पुग्न सामान्य रूपमा ४/५ दिन त बित्ने नै भयो, अनि मात्र दाहसंस्कार गरिन्छ मृतकको ।
गाउँका अधिकांश मानिस सुविधा खोज्दै कोही काठमाडौँ सहर पसे । धेरै जसो धनगढी, महेन्द्रनगर, नेपालगन्ज, टीकापुर, अत्तरियालगायतका भूभागमा ओर्लिए । यसो हुँदा गाउँबस्ती रित्तो हुने नै भयो । खेतीयोग्य जमिन अधिकांश अँधियामा छन् भने कतिपय ठाउँमा त बाँझो जग्गा पनि देखियो । स्वर्ग जस्तो गाउँको आँगन रित्तिएको देख्दा साह्रै दुःख लाग्दो रहेछ । घिउ, मह, आलु, कोदो, फापर, चोतोको लागि प्रख्यात बझाङ जिल्ला मस्टादेवता, कालिकादेवी, कालसैन आदि देवीदेवताको बासस्थानको पुण्यभूमि हो । गाउँका बुढापाका मानिस आआफ्ना कुलदेवताको श्रद्धापूर्वक पूजा गर्ने गर्छन्, विशेष गरी मङ्सिर पुसमा ।
चार महिनाको अमेरिका, स्कटल्यान्ड र लन्डनको बसाइपछि हालै स्वदेश फर्कें । संसारका सबै मुलुकभन्दा नेपाल सुन्दर छ, सात वटै प्रदेशका सुन्दरताका आआफ्ना गुण छन् । यिनै विशेषताको अवलोकन गर्न विदेशी भित्रिने गर्छन् । विदेशमा बस्दा मलाई त
‘होमसिक’ जस्तो भयो । काठमाडौँ पुगेको तेस्रो दिनमा म बझाङ पुगेँ । केही दिन जन्मभूमिको काखमा बसेँ । मौलिक खाना खान पाएँ । मातृभूमि र आफन्तको मुटुभरिको माया पाएँ । सानो छँदा गाइबस्तु चराउन गएको जङ्गल घुमे, सानो छँदा नुहाउने गरेको धारामा नुहाएँ, चौतारामा साथीसङ्गीसँग बसेँ । अति आनन्दको अनुभूति भयो । काठमाडौँ फर्कनु त छँदै छ । बिदाइको बेला गाउँका बौजु (भाउज्यू) हरूले पठाएका विभिन्न थरी दाल, रातो चामल, कोदाको पिठो अलिकति फलफूल र मह बोकेर दाजु र भाउजूको अपार माया सँगालेर राजधानी फर्कें ।
कसैले सोधे भने लहरा पहरा, छाँगा छहरा र हिमाली मुकुट भएको मेरो देशबाहेक सुन्दर अरू छैन भन्छु । नेपालमा पनि सुन्दर सुदूरपश्चिम र कर्णाली प्रदेश नै बढी मन पर्छ । सुदूरपश्चिमको भूमिमा पनि बझाङ जस्तो प्यारो अन्त लाग्दैन । बझाङ जिल्ला हीराको टुक्रा हो, स्वर्गको बगैँचा हो, मानस खण्डकै पवित्र देवलोक होे ।
धिपिधिपी बत्ती बल्यो बझाङ्गी बाराको
यति माया म क्या लागी सुनका हाराको ।