जसरी रेशमको किराले आफ्नै जालको परिग्रहमा परेर मरेको हुन्छ । त्यसरी नै अज्ञानले मानव चोला आफ्नै परिग्रहमा भौतारी समय नष्ट गरिरहेका हुन्छन् । यो महत्वपूर्ण मानव चोला सचेत प्राणी भइकन पनि अन्य प्राणीले झैँ दुष्कर्म गर्नु मानव जन्म व्यर्थ हुनु हो । सबैभन्दा उपकार, धर्म मनुष्यले गर्ने भए पनि सबैभन्दा अपराध पनि मनुष्यले नै गरिराखेका छन् । बुद्धको वाणी शान्ति उत्कृष्ट ज्ञान भए पनि यसलाई अल्पसङ्ख्यक मानवले मात्र मनन गरी लागु गर्न सकेका छन् । बुद्ध भगवान्को उपदेशलाई राष्ट्रको सरकारमा बसी मार्ग निर्देशन गर्नेले चिन्तन मनन गर्ने हो भने जैविक हतियार आवश्यक पर्ने थिएन । विश्व युद्धदेखि पर भई शान्तिको बगैँचा बन्ने थियो । मनुष्यको चेतनाले उत्कृष्ट भए पनि इच्छा, ईष्र्या, लोभ, मोह, छलकपट, घमण्ड पनि मनुष्यमा भएकाले दुष्कर्म पनि मनुष्यले नै गरिरहेका छन् ।
आशिष दिने जिब्रोले सराप दिनु, उपकार गर्ने हातले अपराध गर्नु, यो सबै अज्ञानको कारणले गर्ने कर्म हो । आफ्नो शरीरलाई मात्र आफू ठान्नु, आत्मालाई नचिन्नु अज्ञानता हो भनी धार्मिक शास्त्रमा उल्लेख छ । अज्ञानले द्वैष कामबाट पार हुन कठिन हुन्छ । जसरी साधनबिना पौडी खेल्न नजान्ने समुद्र पार गर्न कठिन हुन्छ । ज्ञानबिना सिल पालना गर्न मुस्किल, सिल पालनाबिना धार्र्मिक हुन कठिन हुन्छ । अज्ञानले जानी नजानी विभिन्न व्रिmयाकलापमा दुष्कर्म गरेका हुन्छन् । दुष्कर्मीले धर्मको विधिविधानमा बसेर कर्म गर्न कठिन हुन्छ । दुष्कर्मले चित्त अकुशल हुन्छ । अकुशल चित्तले सागरमा डुङ्गा चलाए जस्तै मनमा अशान्ति भई कुरा खेलाइन्छ । कुशल चित्तले कुशल उपचारले रोग निको हुँदा आराम भए झैँ आनन्द हुन्छ । शुद्ध धर्मले भौतिक व्रिmयाकलापमा अनाशक्ति भई दिव्य सन्तुष्टिको अनुभव हुन्छ । चित्त सन्तुष्टिको लागि भौतिक साधन भोग गर्ने स्वभाव बढेको हुन्छ । भौतिकवादी कुसङ्गत गर्ने व्यक्ति संसारको गहन अन्धकारतिर अग्रसर हुँदै जान्छन् । यो भौतिक साधन धनमार्फत प्राप्त हुने भएको हुनाले यो समाजमा धनैलाई बढी प्राथमिकता दिएको पाइन्छ ।
धन कमाउन जति कठिन छ । धन भएपछि अझ त्योभन्दा बढी चिन्ता भइरहन्छ । अझ बढी कमाउने चिन्ता, नाश भएर जाला कि भन्ने चिन्ता । त्यस्तो मानिस हिँड्डा, खाँदा, बस्दा, सुत्दा सदा धनकै चिन्ता गरी दुःख पाउँछ र चिन्ता गर्दागर्दै रोग लाग्दछ र मर्छ । धनीले ऐसआराम बढी चिन्ता धेरै लिने हुनाले रोग पनि धेरै लाग्छ । गरिब ऐसआराम लिए भोकै हुन्छ । शारीरिक थकान हुने काम गर्नु पर्ने हुन्छ । थकानले निद्रा लाग्छ । चिन्तालाई समाली राख्न पाउँदैन । शरीर स्फूर्ति हुन्छ कम मात्रमा रोग लाग्छ ।
जन कमाउन धन कमाउनुभन्दा कठिन छ । नाम बचाइराख्न पनि त्यत्तिकै कठिन छ । नाम र दामभन्दा अझ धर्म गर्नुमा कठिन छ । जनधन कमाउन मेहनतको अलावा अरू केही न केही चाहिने हुन्छ । धन कमाउनुमा मेहनतको साथमा लगानी, मौका, स्रोत र उपयुक्त ठाउँ आवश्यक हुन्छ । जन कमाउन नैतिक चरित्रवान् भई इमानदारीको आवश्यकता पर्छ । नाम कमाउन विशेष प्रतिभाको आवश्यकता पर्छ । धर्मका लागि भौतिक साधन र धन नभएर पनि गर्न सकिन्छ । केवल भक्तिभावको मन चाहिन्छ । सुदामा गरिब भइकन कृष्ण भगवान्को भक्तिभावको प्रेमले गर्दा भगवान्ले भवसागर पार लगाए ।
भगवान् भक्तिभावलाई प्रेम गर्ने भएकाले कृष्ण भगवान् नामको अगाडि राधाको नाम जोडिएको छ । देवीभागवतको नामक ग्रन्थमा उल्लेख अनुसार जो भक्तले राधाको नाम लिन्छ । श्रीकृष्ण भगवान्ले उनको पुकार सुन्छन् । त्यसैले कृष्णलाई पुकार गर्दा राधाको नाम भक्तहरूले लिने गरेका छन् । राधाले भगवान् श्रीकृष्णको नाम जप्न थालेपछि नगरमा सबैले कृष्णको नाम लिन थाले । नगरवासी सबैले भगवान् कृष्णको नाम लिए पनि भगवान् त्यति प्रसन्न हुनुभएन । नारदले भगवान् कृष्णसँग सोध्नुभयो । नगरवासीले हजुरको नाम जप्दा पनि नगरवासीसँग हजुर त्यति प्रसन्न हुनुभएन ? श्रीकृष्ण भगवान् भन्नुहुन्छ, “मेरो नाम लिनुभन्दा मेरो प्रियतमकी नाम लिँदा म बढी प्रसन्न हुन्छु ।”
कृष्णको यस्तो वचन सुनेर राधाको आँखा आसु भरिएर आए । महलमा गएर शुकदेवलाई राधाले यी कुरा भन्न थालिन् । त्यस बेलादेखि शुकदेवले कृष्णको नामभन्दा पहिला राधाको नाम लिन थाले । भगवान्लाई आफ्नो प्रियवरको नाम लिँदा खुसी हुने भएकाले भगवान्को भक्तहरूले राधाकृष्ण, सीताराम, उमामहेश्वर नामले पुकार्न थालेका हुन । धर्म सबैले गर्न सक्छन्, धर्म धेरै गरे पनि असङ्ख्य मानिसमध्ये सीमित मानिसले मात्र पूर्णता प्राप्त गर्न सक्छन् । मनबाट ईश्वरलाई सम्झी भक्ति गरे पुग्ने भए पनि यो सहज भइकन पनि कठिन छ । जो पुण्य कर्म गर्दै पाप कर्ममाथि विजय प्राप्त गर्न प्रयत्नमा लागेका छन् । त्यस्ता मनुष्य कुकर्मबाट वञ्चित भई भक्तिको माध्यमबाट शुद्ध ज्ञान प्राप्त गर्न सक्छन् । त्यसपछि मात्र ईश्वरको ध्यान गरी समाधि प्राप्त गर्न सकिन्छ । शील पालना नगरी ध्यान प्राप्त हुँदैन, लाखाैँ मानिसमा १०/१५ जनालाई मात्र ध्यान लागेको हुन्छ । असङ्ख्य ध्यानीहरूमा पनि कसै कसैले मात्र समाधि प्राप्त गर्न सक्छन् । जो मोक्ष भयो, जन्मबाट मुक्त भयो, तब सम्पूर्ण दुःखबाट मुक्त भयो । धर्म गर्न पनि धर्मकै लगानी गर्नु पर्छ । त्यसैले पुण्य काम गर्दै पुण्य सञ्चय गर्नु पर्छ ।
दान दिएर जानेले पुण्य लिएर जान्छन् ।
अकुत सम्पत्ति बटुलेर, आखिर छोडेर जान्छन् ।।
मरेर लानु के छ र भनी चेष्टा गर्नु छ ।
पुण्य काम गरेर पुण्य लिएर जानु छ ।।
पुण्य काम गर्ने चेष्टा गरेपछि पानीको मूल फुटे जस्तै मनमा सत्कर्म गर्ने भावना जाग्छ । प्रकृतिले त्यही अनुसार पुण्य गर्ने अवसर दिन्छ । हिलोमा कमलको फूल फुले झैँ हिरण्यकशिपुको पापले घडा भरेको राज्यमा प्रह्लाद जन्मे । फूल आँधिहुरी र शीतताप सहेर हासेका हुन्छन् । त्यसैले फूलमा ईश्वर बसेको हुन्छ भनी कलाकारले चित्रमा दर्शाएका हुन्छन् । फूलमा ईश्वर बसे झैँ प्रह्लादको मनमा पनि ईश्वरको बास बसेको हुनाले असुरका बिच भक्तिको सुगन्ध फैलाउन सके । पवित्र आत्मा पवित्र विचारले नै मनुष्यलाई परस्थितिले परमात्माको अनुकूल
वुद्धिमान बनाई दिन्छ ।
हिरण्यकशिपु जस्तो दानवको कुलमा प्रह्लाद जन्मेर पवित्र विचारले सत्यको दीप जलाउन सके । प्रह्लादले अटुट धर्मको विश्वासले गर्दा अनेकाैँ सङ्कटमा पनि जगत्का ईश्वर, जगदीश्वरको साथ पाए । सत्य र निष्ठावान्बाट मनमा शान्ति हुन्छ । शान्तिबाट मन मस्तिष्कमा ऊर्जा आउँछ । ऊर्जाबाट उत्साह, उत्साहले मन मस्तिष्कलाई साम्राज्य बनाउँछ । यही साम्राज्यबाट वीर पुरुष हुन्छ । यसैबाट सुनौलो अक्षरले इतिहास लेखाउन सफल हुन्छ । यस्तो युग पुरुषयुगमा एकचोटि जन्मिन्छ ।
सिद्धार्थ गौतमले राग द्वेष, लोभ मोहलाई त्यागेर राज्य नै छोडे भगवान् बने । आखिर मनग्गे सम्पत्ति कमाएर धनधान्य भएर चौरासी व्यन्जन खान पाए पनि संसारै जितेर सम्राटै बने पनि यो सबै यही छोडेर जाने हो । इहलोकबाट परलोक लिएर जाने भनेको कर्मको फल हो । जुन यो लोकमा गरेर परलोकमा पाउँछ । त्यो हो पाप र पुण्य । पुण्य कर्मलाई बेवास्ता गरी भोग विलासमा मस्ती हुनु मनुष्य भएर जन्मनुको कुनै औचित्य छैन । मनुष्य भएर जन्मेपछि हामी अन्य प्राणी झैँ यो धर्तीमा जन्मेर, आएर, डुलेर, मर्नलाई मात्र होइन भनी सोचेर उत्कृष्ट काम गर्नु पर्छ । अहिलेको परिस्थितिलाई मात्र ध्यानमा राखि लोभ मोहमा डुबेर कुकर्मलाई अँगाल्नाले निच प्राणीमा परिणत हुन्छ ।
पाएको जति गुम्छ नै तै पनि लोभले लालायित
आफू नै आफ्नो होइन भने तैपनि मोहले प्रभावित
यो जगत्लाई बनाउन आफैँ बन्नु पर्छ
अर्को दियो बाल्नलाई आफैँ बल्नु पर्छ
बिउ जस्तै फल त्यस्तै रोप्नु पर्ने धर्र्मै हो
धर्मकै लागि जन्मेर कुकर्म नै किन गर्ने हो
धर्मभन्दा ठुलो कर्म अरू छैन भने
अरूलाई दुःख दिएर पापी किन बन्ने
त्यसैले शुभप्रभातमा दुई हात जोडेर उठेर आजको कार्य शुभ होस् भनी सोच्ने । धर्तीमातालाई तीनचोटि ढोगेर पुण्य कार्य गर्ने अवसर पाइओस् भन्ने । जीवनमा हामीले जानी, नजानी गल्ती गरिरहेका हुन्छाँै भने थाहा नपाइकन पुण्य कार्य पनि गरिहेका हुन्छौँ । जीवनमा सबै अपूर्णतामा पूर्णता, सबै पूर्णतामा अपूर्णता छुपिरहेको हुन्छ । त्यस्तै सबै ज्ञानमा अज्ञानता, सबै अज्ञानतामा ज्ञान छुपिरहेको हुन्छ । रावण सबै वेद पढेर ज्ञानी भएर पनि अज्ञानीले गर्ने कार्य गरे । उनको ज्ञानलाई अज्ञानले छोपिदियो । ज्ञानको औचित्य भएन । ज्ञान भनेको प्रकाश हो, प्रकाशकोे काम अन्धकार हटाउनु हो भने ज्ञानको काम अरूलाई दुविधा हुने दुष्कर्म नगर्नु हो ।
अज्ञानमा ज्ञान छुपिरहेको हत्यारा अङ्गुलिमालाई भगवान् बुद्धले अङ्गुलिमालाको चेतना जगाए, मनको बत्ती बाली दिए । अङ्गुलिमालाले ज्ञान पाएर मोक्ष प्राप्त गरे । ज्ञानी पुरुषले अरू ज्ञानी भएको हेर्न चाहन्छ । ज्ञानीले आफू मैनबत्ती झैँ बलेर अर्कोलाई प्रकाश दिन्छ । त्यस्तै ज्ञान भएर नै नारदले रत्नाकर डाकु अज्ञानीलाई ज्ञान दिएर पाप मुक्त गरिदिए । ज्ञान प्राप्त भएपछि ब्रह्माले वाल्मीकि नाम राखे । ब्रह्माकै वरदान पाएर रामायण लेखे । हामीसँग भएको अज्ञानमा ज्ञान पाएर मोक्ष प्राप्त हुन सक्छन् । त्यसैले हामीमा पनि अज्ञानमा ज्ञान छुपिरहेको हुन सक्छ । ज्ञानको चक्षु खोल्ने प्रयत्न गरौ । हामी दिन दुःखीको सेवाको निम्ति जन्मेको ठानी अबोध, अनाथ र निमुखालाई दयादृष्टि राख्न सके हाम्रो अज्ञानमा छुपिरहेको ज्ञान उजागर हुन्छ ।