• १२ असोज २०८१, शनिबार

अर्थमन्त्रीले राजिनामा दिएर छानबिनमा सहयोग गर्नुपर्छ : महामन्त्री थापा

blog

गोरखापत्र अनलाइन

काठमाडौं, असार २० गते । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुपर्ने बताउनुभएको छ । सोमवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदैँ महामन्त्री थापाले अर्थमन्त्री शर्माले पदबाट राजीनामा दिएर छानविनमा सहयोग गर्नुपर्ने बताउनुभएको हो ।  

अर्थमन्त्री शर्माको सम्बन्धमा संसदभित्र र बाहिर प्रश्नहरु उठेकाले राजीनामा दिनुपर्ने उहाँले बताउनुभयो । अर्थमन्त्रीले स्वेच्छाले राजीनामा नदिएमा प्रधानमन्त्रीले पदबाट हटाएर तत्काल छानबिन गर्नुपर्ने उहाँको भनाइ छ । यस विषयमा छानविन नगर्ने हो भने गलत नजिर बस्ने भएकाले छानबिनमा दोषी देखिए कारबाही गर्नुपर्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो– “अहिले अर्थ मन्त्रालयले सीसीटीभि फुटेज जम्मा १३ दिनको छ भनेर भनिसके पछाडी मलाई के लाग्छ भने तत्काल प्रधानमन्त्रीले यसबारेमा एउटा एक्शनमा जानुपर्छ । यत्रो विषय संसदमा उठ्यो । बाहिर उठ्यो । हो, होइन मलाई थाहा छैन । तर यो विषय उठिसकेपछि मैले बुझेको कि अर्थमन्त्रीजीले अहिले राजीनामा दिनुपर्छ । कि प्रधानमन्त्रीजीले उहाँलाई अहिले हटाउनुपर्छ ।” 

तत्काल छानबिन गर्नुपर्छ, हाम्रो आफ्नै कार्यविधि उहाँले बताउनुभयो । “हाम्रो आफ्नै नियम, कानूनले पनि हामीलाई कम्तिमा तीन महिनासम्मको सीसीटीभि फुटेज राख्नेकुरा भन्छ । त्यसमाथि पनि बजेट यो संसदले जुन पारित गरेको छ । यसको करको दर भनेको चाहीँ सामान्य कुरा होइन ।” कसैले सामान्य मानवीय त्रुटी भयो भनेर यसबाट उम्कन नसक्ने उहाँले बताउनुभयो । “सदनमा यति कुरा उठिसकेपछि अब यो उठ्यो, उठ्यो यत्तिकै गयो भनेर हुँदैन । यस्तो ग¥यौँ भने अत्यन्त यसको एउटा नजिर बस्छ । जे गरेपनि हुन्छ भन्ने कुरा रहन्छ ।”

“छानविन गरिनु अर्थमन्त्रीको पनि हीतमा छ । तत्काल उहाँले राजीनामा दिएर छानविनमा सहयोग गर्नुपर्छ” नेता थापाले भन्नुभयो, “प्रधानमन्त्रीले उहाँलाई अहिले हटाएर यसको छानबिन गराउनुपर्छ । छानविन गरेपछि दोषी ठहर भएमा सजाय भोग्न पनि तयार हुनुपर्छ । दोषी होइन भने देशलाई, जनतालाई थाहा हुन्छ ।” 

महामन्त्री थापाले अर्थमन्त्रालयको सीसीटीभी फुटेज नरहेको विषय बाहिर आएपछि झन चौतर्फी प्रश्न उठेको बताउनुभयो । अर्थमन्त्री शर्मालाई राजीनामाका लागि आफुहरुले अनौपचारिक रुपमा भनिसकेको पनि उहाँले जानकारी दिनुभयो ।