हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), माघ ४ गते । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुस्ताङका उम्मेदवार टुंगाएको छ । नेकपाले मुस्ताङमा ‘टाइगर’को पहिचान बनाएका नुटुक गुरुङलाई मनोनयनका लागि पार्टीको तर्फबाट टिकट हस्तान्तरण गरेको छ ।
कृषि, खेलाडी र निर्माण व्यवसाय पृष्ठभूमिका नुटुक पछिल्लो समय मुस्ताङमा धेरै स्याउ बिक्री गर्ने कृषि फार्मका सञ्चालक हुनुहुन्छ । साविक नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश सदस्य रहेका नुटुक यसअघि वि.स. २०७० को संविधानसभा सदस्यमा पनि उम्मेदवार बन्नुभएको थियो ।
संविधानसभा सदस्यमा निर्वाचित कांग्रेसका रोमी गौचन थकालीसँग नुटुक र त्यसबेलाका स्वतन्त्र उमेद्वार प्रेम तुलाचन (वि.स. २०७४ मा एमालेबाट प्रतिनिधीसभा सदस्य निर्वाचित)बिच कडा प्रतिस्पर्धा भएको थियो । पाँच वटा स्थानीय तह र एक निर्वाचन क्षेत्र रहेको मुस्ताङमा नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी सहित अन्य दलले उम्मेदवार टुङ्गाएका छैनन् ।