• ४ कात्तिक २०८२, मङ्गलबार

तेस्रो ज्योतिपुञ्ज कपको उपाधी आयोजकलाई

blog

च्याम्पियन बन्न सफल ज्योतिपुञ्ज युवा क्लवको टिम । तस्बिर : इमान सिं राना

इमान सिं राना
रामपुर (पाल्पा), कात्तिक ४ गते ।
आयोजक ज्योतिपुञ्ज युवा क्लव रामपुरले वाइवाइ तेस्रो ज्योतिपुञ्ज कपको उपाधी जितेको छ । जिल्ला कै सर्वाधिक पुरस्कार राशीसहित रामपुरमा भएको प्रतियोगिताको फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन युनाईटेड युथ क्लव गिरुबारी, नवलपुरलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधी हात पारेको हो ।

सोमबार भएको फाइनल खेलमा ज्योतिपुञ्ज युवा क्लवले सुमित श्रेष्ठको गोल योगदानमा च्याम्पियन बन्न सफल भएको हो । फाइनल खेलको पहिलो हाफमा दुवै टिमले एक अर्कालाई दबाबमा राखेपनि खल गोल रहित बराबरीमा टुङ्गिएको थियो । दोस्रो हाफको ७३ औं मिनेटमा श्रेष्ठले ज्योतिपुञ्जका लागि गोल गर्दै १–० को अग्रता दिलाउन सफल भएको छ । अन्ततः उहाँले गरेको गोल नै खेलको निर्णायक बन्न पुग्यो ।

साविक विजेता युनाईटेड युथले खेलमा पराजित भएसँगै रामपुर–७, किसानबारी ज्योतिपुञ्ज खेल मैदानमा भएको प्रतियोगिताको उपविजेताम चित्त बुझाएको छ । फाइनल खेलको म्यान अफ दि म्याच आयोजक ज्योतिपुञ्जका सुमित श्रेष्ठ बन्न सफल हुनुभयो । उहाँ नगद तीन हजार पुरस्कारबाट सम्मानित हुनुभएको छ । त्यस्तै, जया गुरुङले रेडबुल इनर्जेटिक प्लेयर अफ दि म्याचको उपाधीसँगै गिफ्ट ह्याप्पर प्राप्त गर्नुभएको छ । 

तेस्रो संस्करणको च्याम्पियन बन्न सफल ज्योतिपुञ्ज युवा क्लव सेमिफाइनलमा देवदह ब्वाईज, रुपन्देहीलाई ३–२ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो भने उपविजेता युनाईटेड युथ सेमिफाइनल खेलमा अभिषेक चर्च रजहर, नवलपुरलाई टाइब्रेकरमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । ज्योतिपुञ्ज युवा क्लवको २९ औं वार्षिक उत्सवको अवसरमा आयोजित प्रतियोगितामा ए डिभिजन क्लव सहित १० वटा समूहको सहभागीता रहेको थियो ।

प्रतियोगिताको विजेता आयोजक ज्योतिपुञ्जले नगद तीन लाख ५० हजारसहित ट्रफी र मेडल प्राप्त गरेको छ । साथै उपविजेता युनाईटेड युथ क्लवले नगद दुई लाखसहित ट्रफी, मेडल पाएको छ । सेमिफाइनलमा पराजित टिम अभिषेक चर्च रजहर र देवदह ब्वाईजलाई २५–२५ हजार रुपियाँ प्रदान गरिएको छ ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी ज्योतिपुञ्ज युवा क्लवका आशिष गुरुङ भएको छ । उत्कृष्ट गोलकिपर ज्योतिपुञ्ज युवा क्लवका सरोज तामाङ, उत्कृष्ट डिफेन्डर युनाईटेड युथ क्लव गिरुबारीका सुमित मल्लाह,  हाईस्कोरर देवदह ब्वाईजका आशिष जिसी, इमर्जिङ प्लेयर युनाईटेड युथ क्लव गिरुबारीका याम प्रसाद बुढा र उत्कृष्ट कोच ज्योतिपुञ्ज युवा क्लवका केशवराज श्रेष्ठ भएको खेल संयोजक अनिल शाहीले जानकारी दिनुभयो । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले १७ हजार रुपैयाँ र ट्रफी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, इमर्जिङ प्लेयर, उत्कृष्ट कोचलाई जनही ८ हजारसहित प्राप्त गरेको छ ।

प्रतियोगिताको विजेता समूहलाई रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा, समाजसेवी शेषकान्त पुरी, अन्तर्राष्ट्रिय विपि चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दीप राना र जापानिज समाजसेवी काजुमासा काकिमी (ओके बाजे) ले पुरस्कार प्रदान गर्नु भएको थियो । रामपुर नगर प्रमुख थापाले प्रतियोगिताले रामपुरको पहिचान संगै नयाँ खेलाडीहरुलाई उत्प्रेरणा प्रदान गरेको बताउनुभयो । उहाँले किसानबारी खेल मैदान निर्माणका लागि नगरपालिकाले दुईकरोड रुपियाँ विनियोजन गरेको जानकारी दिनुभयो ।

गत असोज २६ देखि सुरु भएको  प्रतियोगिता ‘फुटबल खेल मैदान निर्माणको अभियान :  रामपुरको गौरवमा तपाईको योगदान’ भन्ने नाराको साथ सञ्चालन भएको थियो । पहिलो र दोस्रो संस्करण रामपुरको पहिचानको लागि प्रतियोगिता सञ्चालन भएकोमा तेस्रो संस्करणको प्रतियोगिता खेलमैदान निर्माण सहयोगार्थ सञ्चालन गरिएको ज्योतिपुञ्ज युवा क्लवका अध्यक्ष सुन्दर रानाले बताउनुभयो ।