• २६ असोज २०८२, आइतबार

मतदाता नामावली बनाउन युवाहरु उत्साहित

blog

प्रदेश निर्वाचन कार्यालयमा नयाँ मतदाता नामावलीमा नाम दर्ता गराउँदै १८ वर्ष उमेर पुगेका युवाहरु । तस्बिरः धर्बेन्द्र झा

धर्बेन्द्र झा  

जनकपुरधाम, असोज २६ गते । नेपाल सरकारले अगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभाको निर्वाचन घोषणा गरेपछि नयाँ मतदाता नामावलीमा नाम समावेश गराउन १८ वर्ष उमेर पुगेका युवाहरु उत्साहित देखिएका छन् । 

निर्वाचन आयोगको असोज ९ गतेको निर्णयअनुसार प्रदेश निर्वाचन कार्यालय मधेश प्रदेश जनकपुरधामले नयाँ मतदाता नामावलीमा नाम दर्ता गराउने कार्यक्रम अन्तर्गत असोज १० गतेबाट फारम दर्ता गर्न सुरु गरेपछि मतदाता नामावलीमा नाम दर्ता गराउने युवाहरुको अहिले प्रत्येक दिन भिड लाग्नेगरेको छ । 

प्रदेश निर्वाचन कार्यालय मधेश प्रदेशका कम्प्युटर ओपरेटर दिलिप दासका अनुसार प्रत्येक दिन अहिले दुई सयदेखि तीन सयसम्मको हराहारीमा युवाहरु नयाँ मतदाता नामावलीमा नाम दर्ता गराउन फारम भर्न प्रदेश निर्वाचन कार्यालय आउनेगरेको छ । 

उहाँले नाम दर्ताका लागि नागरिकतासहितको आवश्यक कागजातबारे कार्यालयमै सूचना टाँस गरिदिएको र नाम दर्ता गराउन आउनेहरुले अनलाईन दर्तागरी भरेको फारम कार्यालयमा बुझाउने गरेको जानकारी दिनुभयो । 

प्रदेश निर्वाचन कार्यालय मधेश प्रदेशका कर्मचारी कृष्ण राउतका अनुसार असोज २६ गते दिउँसो २ बजेसम्ममा एक हजार तीनसय ३१ जना युवाले नयाँ मतदाता नामावलीमा फारम दर्ता गराइसकेका छन् । जसमध्ये १७१ जना अन्य जिल्लाको र बाँकीको धनुषाको रहेको उहाँले बताउनुभयो । 

कर्मचारी राउतका अनुसार नागरिकता प्राप्त गरेका जोकोहीले पनि अहिले फारम भर्न पाउने र निर्वाचनको मितिभन्दा एक दिन अगाडिसम्ममा १८ वर्ष पूरामा मतदान गर्न पाउने बताउनुभयो । 

यता, आइतबार नयाँ मतदाता नामावलीमा नाम दर्ता गराउन प्रदेश निर्वाचन कार्यालय पुगेका जनकपुरधामका शिवम साहले १८ वर्ष उमेर पुगेपछि नयाँ मतदाता नामावलीमा नाम दर्ताका लागि आफू कार्यालय आएर फारम दर्ता गराएको भन्दै अब अगामी निर्वाचनमा पहिलो पटक मतदान गर्न पाउनेमा खुशी व्यक्त गर्नुभयो । 

प्रदेश निर्वाचन कार्यालय मधेश प्रदेशका प्रमुख लुम्बनाथ पोखरेलले कार्यालयले अहिले प्रमुख तीनवटा कार्यलाई प्राथमिकतासाथ अघि बढाइरहेको जानकारी दिनुभयो । उहाँले नयाँ मतदाता नामावलीमा नाम दर्ता, मतदाता नामावलीमा केही त्रुटि भएमा त्यसलाई सच्याउने र एक ठाउँबाट अर्को ठाउँमा मतदाता नामावली सार्न चाहेमा सराइको काम गरी तीन कामलाई प्राथमिकतासाथ निर्वाचन कार्यालयले अघि  बढाएको बताउनुभयो । उहाँले मधेश प्रदेशमा व्यवस्थित र शान्तिपूर्ण रुपमा अहिले नयाँ मतदाता नामावलीमा नाम दर्ता गराउने काम भइरहेको बताउनुभयो ।