• २६ असोज २०८२, आइतबार

बडिगाडमा घरविहीन परिवारको ‘ओडार’मा बास

blog

ओडारमा बस्दै आएको केशव पुनको परिवार । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा
बागलुङ, असोज २६ गते ।
पश्चिम बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर ४ जलजलाको एक परिवारले ओत लाग्न ओडारको सहारा लिन विवश बनेको छ ।

घरधनीले बस्दै आएको घरबाट निष्कन भनेपछि जलजलामा जन्मेपनि सानै उमेरदेखि बडिगाड गाउँपालिका वडा नम्बर ५ ग्वालीचौरको बजार क्षेत्रमा मजदुरी गरेर परिवार पाल्दै आउनुभएका ४६ वर्षिय घरविहीन केशव पुनसहित आठ जना सदस्य रहेको परिवारले ओत लाग्न ओडारको सहारा लिएको हो ।

जीवनको उत्तराद्र्वमा रहनुभएकी ८२ वर्षीय आमा जमुना कुमारी पुन, श्रीमती, तीन छोरी र दुई छोरासहित पुन परिवार अहिले बडिगाड ५ ग्वालीचौरको कालीमाटी खोला किनारको ओडारमा बस्दै आएको छ । ओडारमा बस्दा जङ्गली जनावरको डरसँगै पानी र चट्याङ पर्दा स–साना बालबच्चा निदाउनै नसकेको पुनले दुखेसो पोख्नुभयो ।

‘‘सामान्य ज्याला मजदुरी गरेर खाने मान्छे हो । यसैबाट परिवार पाल्दै आएको छु । श्रीमती र छोरीहरुले पनि होटलमा काम गर्छन्’’ पुनले निराश हुँदै भन्नुभयो, ‘‘अरुको घरमा बसिएको थियो, घरधनीले छोड भनेपछि छोड्नुपर्‍यो, तत्काल भाडाको घर खोजेर बस्ने स्थिती छैन । मलाई बस्ने बासको व्यवस्था गरिदिए धर्मै लाग्ने थियो ।”

ठुलो परिवार भएकाले कहिलेकाहीं कामविहीन हुँदा छोराछोरीलाई भोकै राख्नुपरेको पुनले बताउनुभयो । छोराछोरीलाई पढाउन समेत नसकेपछि स्थानीय पौदीटारी आधारभूत विद्यालयले दुई छोरालाई निशुल्क पोशाक र शैक्षिक सामग्री उपलब्ध गराएर पठनपाठनको व्यवस्था गरेको छ ।

स्थानीय नविन कुवँरले तत्कालको लागि उहाँहरुलाई खाने व्यवस्था गरिदिए पनि उपयुक्त बासको व्यवस्था भने गर्न नसकिएको बताउनुभयो । ‘‘चिसो पनि बढ्दै गएको छ । बुढी आमासहित बालबालिकाको ख्याल गर्नुपर्ने समयमा परिवार यस्तो अवस्थामा पुग्नु दुःखद हो, स्थानीय सरकारले दुखी गरिब नागरिकलाई हेर्नुपर्छ’’ कुँवरले भन्नुभयो ।