• २६ असोज २०८२, आइतबार

नजिकिँदै दीपावली : दियो बेचेर उज्यालो पार्ने काममा ग्रामीण महिला

blog

ग्रामीण महिलाहरू राजविराज नगरमा घरघरमा माटोका दियो ल्याउँदा उपभोक्ताले खरिद गर्दै । तस्बिर : धीरेन्द्रप्रसाद साह

धीरेन्द्रप्रसाद साह
राजविराज, असोज २६ गते ।
हिन्दु धर्मावलम्बीहरुको दोस्रो महान् पर्व दीपावली नजिकिँदै गर्दा राजविराज बजारमा उत्सवको चहलपहल सुरु भइसकेको छ । नगरका गल्ली, चौक र पसलहरूमा देखिने माटोका दियो, सुगन्धित बत्ती र रङ्गोलीहरूको बिचमा कतिपयको नजर टोकरी बोकेर हिँड्ने ग्रामीण महिलाहरू देख्छन् । सप्तरीको लालापट्टी गाउँका महिलाहरू, जसले आफ्ना हातले बनेका माटोका दियो लिएर राजविराज सहर उज्यालो पार्ने काम गर्दै आएका छन् ।

राजविराजदेखि दस किलोमिटर टाढाबाट यी महिलाहरू बिहान सबेरै गाउँबाट हिँड्छन् । टाउकोमा ढाकी (टोकरी) बोकेर, जसमा पाँच सयदेखि एक हजारसम्म माटोका दियो हुन्छन् । उनीहरू राजविराजका गल्लीहरूमा पुग्छन् । स्थानीयले उनीहरूलाई घरैमा बोलाएर वा सडकमा नै रोकेर दियो किन्छन् ।

“दियो सयकडामा एक सयदेखि पाँच सय रुपियाँसम्म बिक्री गर्छौं । बेच्दा केही नाफा रहन्छ, त्यसैबाट घरको गर्जो टारिन्छ,” लालापट्टीकी प्रमिला देवीले भन्नुभयो । उहाँकी साथी बुधनी देवी थप्दै भन्नुहुन्छ, “दीपावलीको बेला यो हाम्रो मुख्य आम्दानीको स्रोत हो । पसिना बगाएर कमाएको पैसाले घरमा खाना र नातिनातिनाको खर्च चलाउँछौँ । “दीपावलीमा सबैको घर बल्छ, हामीले बनाएको दियोले त्यो सम्भव हुन्छ भन्नेमा गर्व लाग्छ ।”

फोटोमा देखिएझैं, यी महिलाहरू परम्परागत पोशाकमा, रङ्गीचङ्गी सारी र ओढनी लगाएर, सडक किनारमा बसेर दियो छाँट्ने र बाँध्ने काममा व्यस्त देखिन्छन् । उनीहरूको अनुहारमा थकान देखिए पनि, आफ्नो श्रमले अरूको घर उज्यालो पार्ने गर्व झल्किन्छ ।

दीपावली नजिकिँदै गर्दा बजारमा आधुनिक बिजुलीका लाइट र डिजाइनर मैनबत्तीको भरमार भए पनि, माटोको दियोप्रतिको मोह नघटेको गृहणी रन्जना गिरीले बताउनुभयो । घर, आँगन, बाटोघाटो, पसल, कौसी लगायतको स्थानमा तिहारभरि माटोको दियो बाल्ने गरेको उहाँले एक घरपरिवारले कम्तिमा एक÷दुई दियो किन्ने गरेको बताउनुभयो । स्थानीय उपभोक्ताहरूमा माटोको दियोले घरमा शुभता, शुद्धता र आत्मिक उज्यालो ल्याउँछ भन्ने अझै पनि विश्वास रहेको उहाँले भन्नुभयो ।

दीपावलीका दिन घरघरमा बालिने दियोहरूले केवल अँध्यारो भगाउँदैनन्, यी ग्रामीण महिलाहरूको सङ्घर्ष र श्रमलाई पनि उज्यालो पार्ने गर्दछ, नागरिक समाजका अध्यक्ष थानसिंह भन्सालीको कथन छ ।

सप्तरीको लालापट्टी गाउँबाहेक पथरगाडा, कोइलाडी बर्साइन, पातोलगायत ग्रामीण भेगका दर्जनौँ महिलाहरु ढाकीमा दियो बोकेर नगरका घरघर चहारेका भेटिन्छन् । दियो बेचेर भएको आम्दानीबाट नै उहाँहरुको घरमा दीपावली (तिहार) को उज्यालो आउने आशा र भरोसा छ ।