• २६ असोज २०८२, आइतबार

बाँकेमा बढ्यो कालिजको माग

blog

तुला बुढाको फार्ममा उत्पादन भएका कालिज । तस्बिर : सिराज खान

सिराज खान
नेपालगन्ज, असोज २६ गते ।
पछिल्लो समयमा आएर बाँकेमा कालिजको माग बढ्दै जाँदा कालिजपालनमा लागेका किसान उत्साहित बनेका छन् । माग पूरा गर्न उनिहरुलाई भ्याइनभ्याई छ ।

जाडोको मौसममा कालिजको माग झनै बढ्ने भएकोले उत्पादन दोब्बर वृद्धि गरेको उनीहरुको भनाइ छ । बाँकेको बैजनाथ गाउँपालिका–१, चिसापानीका तुला बुढा कालिज पालन व्यवसायमा सफल उदाहरण बन्नुभएको छ । जङ्गलमा पाइने बोटबिरुवा, झारपात र किरा–फट्याङ्ग्रा खाएर हुर्किने कालिजलाई उहाँले व्यवस्थित खोरमा पाली व्यावसायिक रूपमा अगाडि बढाउनुभएको हो ।

करिब डेढ सय कालिज पालेर गत वर्षबाट कालिज पालनको सुरुवात गर्नु भएका बुढाको फार्ममा अहिले तीन सयभन्दा बढी कालिज छन् । उहाँले जाडोको मौसमलाई लक्षित गरेर कालिज उत्पादन दोब्बर गरेको बताउनुभयो ।

“मागअनुसार कालिज पुर्‍याउन गाह्रो परेपछि यो वर्ष सङ्ख्या बढाएर तीन सय पुर्‍याएका हौं” बुढाले भन्नुभयो । उहाँका अनुसार उत्पादन भएका कालिज बाँके, बर्दिया, सुर्खेत र काठमाडौँसम्म पनि पठाइन्छ । “काजिल किन्न ठाउँ–ठाउँबाट मानिसहरू आउँछन्, धेरैजसोले त फोन गरेरै अर्डर गर्छन्” उहाँले थप्नुभयो ।

स्वादिलो र स्वास्थ्यका हिसाबले फाइदाजनक भएकाले नेपालगन्ज र कोहलपुर लगायत यस क्षेत्रका बजारमा कालिजको माग बढ्दो क्रममा छ । सोही कारणले व्यवसायिक रुपमा पालन गर्ने उदेश्यका साथ करिब १० लाख रुपियाँको लगानीमा बुढाले कालिजका लागि आधुनिक खोर बनाउनुभएको छ ।

फलामको जालीले घेरेको खोरको माथिल्लो भागमा पनि धागोको जाली लगाइएको छ जसबाट कालिज उडेर भाग्न नपाओस् । “कालिज उड्ने पक्षी भएकाले माथि पनि जाली अनिवार्य हुन्छ” उहाँले बताउनुभयो ।

कालिजलाई कुखुराको दानासँगै हरियो घाँस, रुखबिरुवाको पात तथा स्थानीय बोटबिरुवाका फल खुवाइन्छ । बुढाले कालिजका लागि आफ्नै बारीमा किम्बु, सरिफा, इपिल, कटहर, बकाइनो र नीमलगायतका बिरुवा रोप्नुभएको छ । उहाँका अनुसार कालिजले बिरुवाको बोक्रासम्म खाइदिने भएकाले बेलाबेलामा नयाँ बोट रोप्नुपर्छ ।

अहिले भाले कालिज प्रतिवटा तीन हजार रुपियाँ र पोथी कालिज दुई हजार ५०० रुपियाँमा बिक्री भइरहेको बुढाको भनाइ छ । उहाँका अनुसार भालेको तौल बढी हुने र मासु स्वादिलो भएकाले त्यसको माग पोथीभन्दा धेरै हुने गरेको छ ।

गत वर्ष लगानीको अधिकांश रकम खोर निर्माणमा खर्च भएपनि यस वर्षदेखि नाफा हुने अपेक्षा गरिएको बुढाले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिलो वर्ष लगानी उठ्यो, अब फाइदा हुने विश्वास छ ।”

बुढाले हाल अण्डाबाट चल्ला निकाल्ने मेसिन खरिद गर्नुभएको छ र अण्डा तथा चल्ला दुबै बिक्री गर्दै व्यवसाय विस्तारमा लाग्नुभएको छ । उहाँका अनुसार माग वृद्धि हुँदै गएकाले यो व्यवसायमा राम्रो भविष्य देखिएको छ ।