सिराज खान
नेपालगन्ज, असोज २५ गते । नेपालगन्जका विभिन्न चार होटलबाट आपत्तिजनक कार्यमा संलग्न ४५ जनालाई प्रहरीले नियन्त्रणमा दिएको छ । यसअघि जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्जकै एक होटलमा छापा मारेर १३ लाख रुपियाँ नगदसहित १४ जना हाइप्रोफाइल जुवाडेलाई पक्राउ गरेको थियो ।
सो घटना सेलाउन नपाउँदै थप चार वटा होटलमा छापा मारेर आपत्तिजनक कार्यमा संलग्न ४५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
होटलमा अनैतिक कार्य भइरहेको गोप्य सूचनाको आधारमा प्रहरीले छापा मारेर ४५ जना महिला र पुरुषलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अङ्गुर जिसीले बताउनुभयो ।
उहाँले नेपालगन्जका केही होटलहरूमा अनैतिक कार्य भइरहेको गोप्य सूचनाको आधारमा छापा मार्दा एकैदिन ३१ महिला १४ पुरुष गरेर ४५ जनालाई नियन्त्रणमा लिइएको बताउनुभयो । पक्राउ परेकाहरू मध्ये पुरुषहरू अधिकांश भारतीय नागरिक भएको जनाइएको छ ।
होटलहरूबाट यसरी रङ्गेहात अनैतिक कार्य गरिरहेको अवस्थामा महिला पुरुष पक्राउ पर्नुले नेपालगन्जका केही होटलमा अवैध कार्य निरन्तर भइरहेको प्रमाणित भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीले जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक जिसीको निर्देशनमा शुक्रबार साँझ नेपालगन्जको मिलन कटेल, दङ्गाली होटल, भेरी कर्णाली होटल र रिभर साइड होटलमा छापा मार्दा ४५ जना महिला पुरुष आपत्तिजनक अवस्थामा पक्राउ परेको बताउनुभयो ।
पक्राउ परेकाहरूको बारेमा अनुसन्धान भइरहेको उहाँको भनाइ छ । ‘‘वेश्यावृत्तिमा संलग्न भएको पुष्टि भएमा कानुन बमोजिम कारबाही हुने छ,’’ प्रहरी प्रवक्ता पातलीले भन्नुभयो ।
प्रहरीले छापा मारेका मध्ये मिलन कटेजमा धेरै पहिलेदेखि यस्तो कार्य भइरहेको र सो कार्यमा पूर्व प्रहरीकै संलग्नता रहेकोले पटक पटक छापा मारेर पक्राउ गरिए पनि कारबाही नहुँदा यौनधन्दा निरन्तर जारी रहेको स्थानीयले जनाएका छन् ।
यस्ता कार्यमा संलग्न होटलहरूको भारतका सहरहरूमा सम्पर्क रहेको र उनिहरूलेनै उता बाट मानिसहरू पठाउने गरेको पनि बताइएको छ ।
जेनजी आन्दोलनपछि गठन भएको सरकारले बाँकेमा सरुवा गरेर पठाएको प्रहरी प्रमुख जिसी जिल्लामा आए पनि उहाँले सुरक्षा व्यवस्था निकै कडा पार्नु भएको स्थानीयको भनाइ छ ।
प्रहरी सक्रियताकै कारण दसैँको बेलामा दुर्गामूर्ति बिसर्जन गर्ने क्रममा दुई सम्प्रदायबिच उत्पन्न विवादले ठुलो रूप लिन सकेन भने जुवातास, तस्करी लगायत अन्य गैर कानुनी कार्यमा संलग्नहरू धमाधम पक्राउ परिरहेका छन् ।
जिल्ला प्रहरी प्रमुखको कार्यभार सम्हाल्दै उहाँले प्रहरीलाई पीडितमैत्री बनाउने जनाउँदै बाँकेको शान्ति सुरक्षामा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।