• २५ असोज २०८२, शनिबार

सूचना नदिएपछि गाउँपालिकामा तालाबन्दी

blog

सूर्नया गाउँपालिकामा तालाबन्दी गर्दै युवाहरू । तस्बिरः गोकर्ण दयाल

गोकर्ण दयाल

बैतडी, असोज २५ गते । सूचना माग गर्दा नदिएपछि युवाहरूको समूहले गाउँपालिकामा तालाबन्दी गरेको छ । जिल्लाको सूर्नया गाउँपालिकाका युवाहरूले गत जेठ महिनामै सूचनाको हक प्रयोग गरी दुई पटक निवेदन दिँदा पनि सूचना नदिएको भन्दै तालाबन्दी गरेको बताएका छन् । 

युवाहरूले तालाबन्दी गरेपछि गाउँपालिकाले शुक्रबार आयोजना गर्न लागेको सार्वजनिक सुनुवाई स्थगित भएको छ । गाउँपालिकाले सूचना नदिएसम्म सार्वजनिक सुनुवाई गर्न नदिने भन्दै युवाहरूले सो कार्यक्रम रोकेका छन् । गाउँपालिकाले गएको दुई वर्षदेखि सार्वजनिक सुनुवाईसमेत नगरेको युवाहरूले आरोप लगाएका छन् ।  

गाउँपालिकाले माग गरे अनुसारको सूचना नदिएपछि तालाबन्दी गरिएको जेनजी समूह सूर्नयाका अगुवा विशाल भट्टले बताउनुभयो । उहाँले गाउँपालिकाभित्र सञ्चालित योजना, बजेट, कार्यपालिकाका निर्णय र कार्यक्रमको पारदर्शी विवरण माग गर्दा सूचना नै नदिएपछि तालाबन्दी गरिएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “गाउँपालिकासँग तीन बुँदे माग राखेर तालाबन्दी गरेका हौं । सूचनामा माग गरेका सबै विषय सार्वजनिक गरिनु पर्ने, गाउँपालिकामा भएका अनियमितता र भ्रष्टाचारको स्वतन्त्र छानबिन समिति गठन, वडास्तरमा नागरिक र युवा सहभागितासहित संवाद र युवाको क्षेत्रमा बजेट विनियोजन मुख्य माग राखेको छौं ।”

गाउँपालिकाले नागरिकलाई सूचना नै नदिएको स्थानीय नागरिक अगुवा देवबहादुर चन्दले बताउनुभयो । उहाँले युवाहरूको आन्दोलनमा आफ्नो पनि समर्थन रहेकाले तालाबन्दीमा सहभागी भएको बताउनुभयो । 

युवाहरूको आन्दोलन र तालाबन्दीले गाउँपालिकाको सार्वजनिक सुनुवाई स्थगित भएको गाउँपालिका अध्यक्ष अम्मर कुँवरले बताउनुभयो । उहाँले गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत र लेखाका कर्मचारी गाउँपालिका बाहिर भएकाले सूचना दिन नसकिएको बताउनुभयो । उहाँले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हाजिर हुने बित्तिकै युवाहरूले मागेका सूचना दिन सकिने बताउनुभयो ।