राजन रावत
हुम्ला, असोज २६ गते । सिमकोट गाउँपालिकाले आइतबार शोक बिदा दिएको छ । गत असोज यही असोज २४ गते चङ्खेली गाउँपालिका– ४ को देशी खोलामा आफ्नो कर्मचारीको जिप दुर्घटनामा परि निधन भएकोमा गाउँपालिकाले शोक बिदा दिएको हो ।
जिप दुर्घटनामा पनि सिमकोट गाउँपालिका– ८ को स्याँडा स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी बसन्दी बुढाको मृत्यु भएकामा एक दिन गाउँपालिकाभर शोक बिदा दिइएको उपाध्यक्ष शुशिला भाम रोकायाले बताउनुभयो । गाउँपालिकाअन्तर्गतका सबै सरकारी निकाय, स्वास्थ्य संस्था र सामुदायीक तथा संस्थागत विद्यालयमा बिदा दिइएको उहाँले बताउनुभयो ।
दसैँ मनाउन माइत जानुभएकी स्वास्थ्यकर्मी बुढा फिर्ता हुने क्रममा जिप दुर्घटनामा परि मृत्यु भएको भएको थियो । उहाँको नाबालक छोरीको पनि उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको छ भने जिपमा सवार उहाँका श्रीमान महेन्द्र रोकाया र अर्की छोरी पनि घाइते भइ हाल सुर्खेतमा उपचाररत रहनुभएको छ । यसअघि गाउँपालिकाले शोक वक्तव्य निकालेको थियो भने वडा नम्बर ८ का अध्यक्ष कमल बुढाले पनि शोक बक्तव्य निकाल्नु भएको थियो ।