• २१ असोज २०८२, मङ्गलबार

क्यानाडाका प्रधानमन्त्रीको ह्वाइट हाउस भ्रमण : अमेरिकी करबारे छलफल हुने

blog

क्यानाडाका प्रधानमन्त्री मार्क कार्नी ।

मन्ट्रियल-वासिङ्टन, असोज २१ गते । क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई क्यानाडाको अर्थतन्त्रमा नकारात्मक असर पार्ने कर घटाउन राजी गराउने उद्देश्यका साथ मङ्गलबार पुनः वासिङ्टन भ्रमण गर्न लाग्नुभएको छ । पदभार सम्हालेपछि यो उहाँको दोस्रो ‘कार्य भ्रमण’ हो । 

६० वर्षीय पूर्व बैंकरसमेत रहनुभएका प्रधानमन्त्री कार्नीले यसपटक द्विपक्षीय सम्बन्ध सुधार गर्न र ‘क्यानाडा-अमेरिकाबिचको नयाँ आर्थिक तथा सुरक्षा साझेदारीका साझा प्राथमिकता’ बारे छलफल गर्न खोज्नुहुने ओटावाले एक विज्ञप्तिमा जनाएको छ । ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिन लेभिटले सोमबार भ्रमणको पुष्टि गर्दै भन्नुभयो, “व्यापार भोलिको प्रमुख छलफल विषय हुनेछ, साथै दुवै देशले सामना गरिरहेका अन्य मुद्दा पनि ।”

युरोपेली सङ्घ (इयु) जस्ता अन्य अमेरिकी सहयोगीका विपरीत क्यानाडाले अझै अमेरिकासँग व्यापक व्यापार सम्झौता गर्न सकेको छैन । संयुक्त राज्य अमेरिका क्यानाडाको प्रमुख आर्थिक साझेदार हो, जसमा ओटावाको झन्डै ७५ प्रतिशत निर्यात अमेरिकी बजारमा पुग्छ । क्यानाडाको अर्थतन्त्रमा दबाब बढिरहेको छ । 

दोस्रो त्रैमासिकमा कुल गार्हस्थ उत्पादन (जिडिपी) १.५ प्रतिशतले घटेको छ । राष्ट्रपति ट्रम्पले लम्बर, एल्युमिनियम, स्टिल र अटोमोबाइलमा कर लगाइसक्नु भएको छ र सोमबार उहाँले नोभेम्बर १ देखि भारी ट्रकमा २५ प्रतिशत कर लगाउने घोषणा गर्नुभएको छ । हाल अधिकांश व्यापार युएसएमसिए (संयुक्त राज्य अमेरिका, क्यानाडा र मेक्सिकोबिचको स्वतन्त्र व्यापार सम्झौता) अन्तर्गत सुरक्षित छ । तर उक्त सम्झौता पुनः वार्ताको तयारीमा रहेको छ र राष्ट्रपति ट्रम्पले अमेरिकी उद्योगलाई प्राथमिकता दिने संशोधनको आह्वान गरिसक्नुभएको छ ।

-दबाब र आलोचना-

राजनीतिमा एक वर्षभन्दा कम समय अघि प्रवेश गर्नु भएका पूर्व केन्द्रीय बैंकर कार्नीले अहिले घरेलु स्तरमा पनि आलोचनाको सामना गरिरहनुभएको छ । मन्ट्रियलस्थित म्याकगिल विश्वविद्यालयका राजनीतिक विज्ञ डेनियल बेलान्डका अनुसार प्रधानमन्त्री कार्नीले अहिले कम्तीमा स्टिल र एल्युमिनियमका केही शुल्क घटाउन दबाब बढेको महसुस गर्नुभएको छ । उहाँसँग प्रगति हासिल नगरी फर्कने विकल्प छैन ।

गत जुनमा प्रधानमन्त्री कार्नीले ट्रम्पको दबाबमा अमेरिकी प्रविधि कम्पनीलाई लक्षित गरेको कर फिर्ता लिनुभएको थियो । उक्त करलाई ट्रम्पले ‘अपमानजनक’ भन्नुभएको थियो । उहाँले अघिल्लो सरकारले लगाएका केही भन्सार शुल्क पनि हटाउनुभएको थियो, तर वाशिङ्टनबाट पारस्परिक प्रतिक्रियाको अभावले उहाँलाई विपक्षीबाट आलोचनाको केन्द्रमा पुर्‍याएको छ ।

कन्जरभेटिभ विपक्षी नेता पियरे पोइलिभ्रेले सोमबार खुला पत्र लेख्दै भन्नुभयो, “यदि तपाईं बहाना र फोटो अवसर मात्र लिएर फर्कनुभयो भने तपाईंले हाम्रा कामदार, व्यवसाय र राष्ट्रलाई असफल पार्नुहुनेछ ।” ओटावा विश्वविद्यालयकी राजनीतिक विज्ञ जेनेभिभ टेलियरका अनुसार क्यानाडाली जनता नतिजाको पर्खाइमा छन् । 

तर सबैलाई थाहा छ, राष्ट्रपति ट्रम्पसँग वार्ता सधैँ जोखिमपूर्ण हुन्छ र यस्तो बैठक सजिलै अनपेक्षित दिशामा जान सक्छ । गत हप्ताको एक भाषणमा ७९ वर्षीय राष्ट्रपति ट्रम्पले ‘गोल्डेन डोम’ मिसाइल ढाल योजनामा क्यानाडाको सम्भावित सहभागिता उल्लेख गर्दै पुनः ठट्यौली तरिकाले क्यानाडालाई ‘५१ औँ राज्य’ बनाउन चाहेको दाबी गर्नुभएको थियो ।

“क्यानाडाले केही हप्ता अघि मलाई फोन गरेको थियो, उहाँहरु हाम्रो सुरक्षा प्रणालीको हिस्सा बन्न चाहनुहुन्छ”, ट्रम्पले भन्नुभयो, “मैले भनेँ-किन हाम्रो देशमै सामेल हुनुहुन्न, ५१ औं राज्य बन्नुहोस् र त्यसपछि यो सबै निःशुल्क हुनेछ ।” रासस/एएफपी