स्टकहोम, असोज २१ गते । जोन क्लार्क, मिशेल एच. डेभरेट र जोन एम. मार्टिनिसले क्वान्टम मेकानिकल टनेलिङमा अग्रगामी अनुसन्धानका लागि यस वर्षको भौतिकशास्त्रको नोबेल पुरस्कार प्राप्त गर्नु भएको छ ।
क्लार्कले क्यालिफोर्निया विश्वविद्यालय, बर्कलेमा आफ्नो अनुसन्धान गर्नु भएको हो भने मार्टिनिसले क्यालिफोर्निया विश्वविद्यालय, सान्ता बार्बरामा र डेभरेटले येल विश्वविद्यालय र सान्ता बार्बरामा काम गर्नु भएको थियो । “सामान्य शब्दमा भन्नुपर्दा यो मेरो जीवनको सबैभन्दा ठूलो आश्चर्य हो”, क्लार्कले आफ्नो जितबारे पत्रकारसँग फोनमा प्रतिक्रिया व्यक्त गर्नुभयो ।
नोबेल समितिका अनुसार तीनै वैज्ञानिकको अनुसन्धानले ‘क्वान्टम क्रिप्टोग्राफी, क्वान्टम कम्प्युटर र क्वान्टम सेन्सर जस्ता क्वान्टम प्रविधिको अर्को पुस्ता’ विकास गर्न महत्वपूर्ण आधार तयार गरेको छ । नोबेल कमिटी फर फिजिक्सका अध्यक्ष ओले एरिक्सनले भन्नुभयो, “शताब्दी पुरानो क्वान्टम मेकानिक्सले निरन्तर नयाँ चमत्कार प्रदान गर्दै आएको छ । यो सबै डिजिटल प्रविधिको आधार भएकाले यसको योगदान असाधारण रूपमा उपयोगी छ ।” यो भौतिकशास्त्र पुरस्कार प्रदान गरिएको ११९ औँ पटक हो ।
गत वर्ष कृत्रिम बुद्धिमत्ताका अग्रणी जोन हपफिल्ड र जेफ्री हिन्टनले मेसिन लर्निङका आधारभूत संरचनामा योगदानका लागि फिजिक्स पुरस्कार प्राप्त गर्नु भएको थियो । यसअघि सोमबार मेरी ई. ब्रन्को, फ्रेड रामस्डेल र डा. शिमोन सकागुचीले कसरी मानव शरीरको प्रतिरक्षा प्रणालीले रोगजनकलाई आक्रमण गर्छ र आफैँलाई पहिचान गर्छ भन्ने खोजीका लागि चिकित्सा क्षेत्रमा नोबेल पुरस्कार प्राप्त गर्नु भएको थियो ।
नोबेल पुरस्कारको घोषणा बुधबार रसायनशास्त्र, बिहीबार साहित्य, शुक्रबार शान्ति पुरस्कारका लागि हुँदै जानेछ । अर्थशास्त्रमा नोबेल स्मृति पुरस्कार अक्टोबर १३ मा घोषणा गरिने छ । पुरस्कार वितरण समारोह डिसेम्बर १० मा स्विडेनका उद्योगपति तथा पुरस्कारका संस्थापक, डाइनामाइटका आविष्कारक अल्फ्रेड नोबेलको (निधन सन् १८९६) को पुण्यतिथिमा आयोजना हुने छ । विजेतालाई एक करोड १० लाख स्विडिस क्रोनर (करिब १२ लाख अमेरिकी डलर) सहित प्रतिष्ठित सम्मान प्रदान गरिने छ । रासस/एपी