• २१ असोज २०८२, मङ्गलबार

इन्डोनेसियाको विद्यालय दुर्घटनामा मृतकको सङ्ख्या ६७ पुग्यो

blog

सिडोआरजो (इन्डोनेसिया), असोज २१ गते । इन्डोनेसियामा गत हप्ताको विद्यालय दुर्घटनाका पीडितको खोजी मङ्गलबार समाप्त भएको र मृतकको सङ्ख्या ६७ पुगेको एक अधिकारीले पुष्टि गरेका छन् ।

इन्डोनेसियाको जाभा टापुमा रहेको बहुतले इस्लामिक बोर्डिङ स्कुलको एक भाग २९ सेप्टेम्बरमा दिउँसो प्रार्थनाका लागि १७० भन्दा बढी विद्यार्थी भेला हुँदा ढलेको थियो । “नवौँ दिनमा प्रवेश गर्दै हामीले पीडितका लागि खोजी र उद्धार अभियान सम्पन्न गरेका छौँ”, राष्ट्रिय खोजी र उद्धार एजेन्सी (बसरनास) का प्रमुख मोहम्मद सियाफीले पत्रकार सम्मेलनमा भन्नुभयो ।

एजेन्सीका अपरेसन निर्देशक युधि ब्रामान्ट्योले भन्नुभयो, “उद्धार गरिएका पीडितको कुल सङ्ख्या १७१ छ । यसमा ६७ जनाको मृत्यु भएको छ, आठ शरीरका अङ्गसहित र १०४ जना बाँचेका छन् । उद्धारकर्ताले दुर्घटना स्थलमा रहेका सबै भग्नावशेष सफा गरेका छन् र थप शव फेला पर्ने सम्भावना कम छ ।”

राष्ट्रिय विपद एजेन्सी (बिएनपिबी) का उप प्रमुख बुदी इरावानले भन्नुभयो, “त्यहाँ अझै शव रहेको सम्भावना धेरै कम छ ।” अहिलेसम्म १७ शव मात्र पहिचान भएका छन् । यो वर्ष इन्डोनेसियामा भएको सबैभन्दा घातक प्रकोप भएको बिएनपिबीले जनाएको छ । अनुसन्धान कर्ताले दुर्घटनाको कारणको जाँच गरिरहेका छन् ।

प्रारम्भिक सङ्केतले भवन निर्माण मापदण्डको उल्लङ्घन र संरचनागत कमजोरीलाई सम्भावित कारणको रूपमा देखाएका छन् । घटनापछि ७२ घण्टाको ‘सुनौलो अवधि’ पछि बेपत्ता भएका परिवारका सदस्यले भारी उपकरण प्रयोग गर्न सहमति जनाएका थिए । सेप्टेम्बरमा पश्चिम जाभामा प्रार्थनाको समयमा अर्को भवन ढलेपछि कम्तीमा तीनको मृत्यु र दर्जनौँ घाइते भएका थिए । रासस/एएफपी