• २१ असोज २०८२, मङ्गलबार

‘कोजगरा’ पर्व हर्षोल्लासका साथ मनाइँदै

blog

मिथिलाको मौलिकता झल्काउने ‘कोजगरा’ पर्व को दिन जानकी मन्दिरमा आएको भार (कोसेली) । तस्बिर : लक्ष्मी चौधरी

लक्ष्मी चौधरी

जनकपुरधाम, असोज २१ गते । मिथिला क्षेत्रसहित तराई–मधेशमा आज राति कोजाग्रत पूर्णिमाको अवसरमा महालक्ष्मीको पूजापाठ गर्दै रातभर जाग्राम बस्ने परम्परा उल्लासपूर्वक मनाइँदै छ । यसैसँग विजयादशमी पर्वको औपचारिक समापन हुने परम्परा रहँदै आएको छ ।

कोजाग्रत पूर्णिमासँगै विजयादशमीकाे औपचारिक समापन पनि हुने परम्परा अनुसार आज कोजाग्रत पूर्णिमा मनाउन लागिएको हो । मिथिला क्षेत्रमा यो पर्वलाई ‘कोजगरा’ नामले चिनिन्छ र सेतो वस्त्र धारण गर्ने, मखानको खीर बनाएर लक्ष्मीको आराधना गर्ने चलन आज पनि कायम छ ।

प्राचीन कालदेखि चलिआएको यस परम्परामा धार्मिक आस्था मात्र होइन, पारिवारिक एकता र सांस्कृतिक निरन्तरताको सन्देश पनि निहित छ । यस दिन सेतो वस्त्र धारण गर्ने, मखानको खीर बनाएर छतमा अर्पण गर्ने र महालक्ष्मीको आराधना गर्ने चलन मिथिलाको विशेषता हो ।

जनकपुरधामस्थित जानकी मन्दिरमा आज (मङ्गलबार) विशेष कोजगरा पूजाको तयारी गरिएको छ । मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवका अनुसार कोजगरा पूर्णिमा मिथिलाको संस्कार र श्रम–संस्कृतिको प्रतीक हो । उहाँले भन्नुभयो, “कोजगरा केवल पूजाको दिन होइन, यो हाम्रो जीवनशैलीसँग गाँसिएको परम्परा हो । यसलाई निरन्तरता दिन सके मात्रै संस्कृतिको जगेर्ना सम्भव छ ।”

यस अवसरमा महोत्तरीको रतौलीको ठाकुर परिवारबाट भार (कोसेली) ल्याउने परम्परा सदियौँदेखि कायम छ । रतौली निवासी महेन्द्र ठाकुरको परिवारबाट यस वर्ष पनि फलफूल, मिठाइ, दही, चिउरा, पान र मखानसहितका भार जानकी मन्दिरमा अर्पण गरिएको छ ।

कोजगरा मिथिलाको सामाजिक सम्बन्ध सुदृढ पार्ने पर्वका रूपमा पनि परिचित छ । विवाहपछि पहिलो कोजगरा मनाउने नवविवाहित दम्पतीका लागि यो दिन विशेष महत्त्वपूर्ण मानिन्छ । बेहुलीका परिवारले बेहुला पक्षका महिला सदस्यहरूका लागि कपडा र मिठाइ पठाउने परम्परा अझै जीवित छ ।

तर नयाँ पुस्तामा आधुनिकताको प्रभावले यी परम्पराहरू मन्द हुँदै गइरहेको चिन्ता महन्थ दासले व्यक्त गर्नुभयो । उहाँका अनुसार कोजगरा जस्ता पर्वले मिथिलाको सांस्कृतिक पहिचान जोगाउने अवसर दिन्छन्, जसलाई स्थानीय युवाले उत्सवको रूपमा लिन आवश्यक छ ।

यसदिन जनकपुरधामस्थित जानकी मन्दिरमा भक्तजनहरूको घुइँचो लागेको छ । मन्दिर परिसरमा पूजाका सामग्रीहरू पान, मखान, फलफूल र मिठाइ किन्ने श्रद्धालुहरूले चहलपहल समेत बढाएका छ।