काठमाडौँ, असोज २१ गते । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले भारत र इरानसँगै अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ ।
यसअघि नेपालले भारतसँग सिक्किममा कात्तिक १० गते खेल्ने तय भए पनि उक्त खेल सिक्किमबाट सिलोङमा सारिएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।
एन्फाकोअनुसार नेपाले कात्तिक ७ गते इरानसँग खेल्ने तय भएको छ । नेपालले फिफा विन्डो अन्तर्गत इरान र भारतसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफा वरीयतामा भारत ६३औँ, इरान ७०औँ र नेपाल ८९औँ स्थानमा छ ।
एन्फाले मैत्रीपूर्ण खेलका लागि यसअघि नै ३५ जना महिला खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । राष्ट्रिय महिला टोलीका नवनियुक्त मुख्य प्रशिक्षक नवीन न्यौपानेले खेलाडीलाई प्रशिक्षण गराइरहनुभएको छ ।