• २१ असोज २०८२, मङ्गलबार

उत्तरगण्डकी महामेला-दामोदर धर्मोत्सव सुरु

blog

पाल्पा र स्याङ्जाको सिमाना गल्याङ नगरपालिका–१ मा धर्माेत्सव तथा महामेलाको शुभारम्भ गरिँदै । तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे

वालिङ (स्याङ्जा), असोज २१ गते । गण्डकी र लुम्बिनी प्रदेशको सिमानामा पर्ने कालीगण्डकी नदीमा ‘उत्तर गण्डकी महामेला दामोदर धर्मोत्सव-२०८२’ सुरु भएको छ । 

कालीगण्डकीको महिमालाई विश्वभर प्रचारप्रसार गरि धार्मिक पर्यटन प्रवर्धन गर्ने योजनाका साथ स्याङ्जाको गल्याङ नगरपालिका–१, मालुङ्गा र पाल्पाको रम्भा गाउँपालिका–१ को सङ्गमस्थल उत्तरवाहिनी क्षेत्र (कालीगण्डकी तट)मा मेला गरिएको हो । 

कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानको आयोजनामा एक महिने महामेला सुरु भएको हो । उत्तरवाहिनी क्षेत्रको धार्मिक विकासको दीर्घकालीन सोचसहित महामेलाको आयोजना गरिएको ज्ञान विज्ञान प्रतिष्ठानका संरक्षक शङ्कर पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो,“महामेलाले सनातन धर्म, संस्कार र संस्कृति संरक्षण गर्ने छ ।”

कार्यक्रम अवधिभरमा एक करोडभन्दा धेरै खर्च हुने अनुमान गरिएको प्रतिष्ठानका अध्यक्ष चैतन्य कृष्णले जानकारी दिनुभयो । धर्मोत्सवबाट बचत दान रकमबाट उद्देश्य अनुरूपका पवित्र कार्यहरूमा लगानी गरिने उहाँको भनाइ छ ।

अध्यक्ष चैतन्य कृष्णका अनुसार शास्त्रमा उत्तरतर्फ फर्केको नदीलाई सर्वतीर्थ भनिन्छ । कालीगण्डकी उत्तर भएर बगेकी हुनाले यहाँ उत्तरवाहिनी भनिएको हो । जहाँ ब्रह्ममयी गङ्गा नदी उत्तरवाहिनी मूर्ती भएर विद्यमान हुनुहुन्छ, त्यहाँ उहाँलाई दर्शन गर्दा, स्नान गर्दा र प्रणाम गर्दा समस्त पापहरूको नाश हुन्छ, उहाँले भन्नुभयो ।

महामेलाको गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराइले समुद्घाटन गर्नुभएको हो । धर्मोत्सवका लागि हरिद्वार लगायतका नेपाल र भारतका विभिन्न स्थानहरूबाट प्रशिद्ध सन्तगुरुहरू कालीगण्डकी तटमा आइपुग्नु भएको छ । महामेलामा सहभागी हुने भक्तजनहरूलाई देवघाट, रुरुक्षेत्र, सेतीवेणी शीला, मुक्तिनाथ लगायतका तीर्थस्थल दर्शनको व्यवस्था मिलाइएको अध्यक्ष चैतन्य कृष्णले बताउनुभयो । 

महामेला अवधिभर तुलसीदल, गण्डकीजलद्वारा सवालाख शालग्राम भगवानको अभिषेक पूजन, दीपदान तथा श्रृङ्गारिक गङ्गा आरती, विश्वविख्यात संत एवं गुरुहरूद्वारा प्रवचन, उत्तरवाहिनी महास्नान, उत्तरवाहिनी पूजन, लगायतका गतिविधि गरिने आयोजकले जानकारी दिएको छ । 

यस्तै राष्ट्रिय लोकभजन प्रतियोगिता, राष्ट्रिय वतृत्वकला प्रतियोगिता, धार्मिक तथा सांस्कृतिक हाजिरीजवाफ, निबन्ध लेखन, कविता प्रतियोगिता सञ्चालन गरीने प्रतिष्ठानले जनाएको छ । उत्तरगण्डकी महामेला,दामोदर धर्मोत्सव आगामी कार्तिक १९ गतेसम्म सञ्चालन हुने छ ।