प्रेम अधिकारी
पशुपतिनगर (इलाम) असोज २१ गते । इलाममा बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको छ ।
सन्दकपुर गाउँपालिका ५ का २४ वर्षीय प्रवेश गुरुट्टको शव फेला परेसँगै मृतकको सङ्ख्या ३९ पुगेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
प्रहरीका अनुसार गुरुङ असोज १८ गतेदेखि बेपत्ता हुनुभएको थियो । स्थानीय खोलाले बगाएको करिब चार सय मिटर तल मङ्गलबार उहाँको शव फेला परेको छ ।
इलाममा असोज १८ गते ३७ जनाको शव फेला परेको थियो । असोज २० गते इलाममा थप एक जनाको शव फेला परेको थियो ।
इलाम नगरपालिका ६ का महेन्द्र लिम्बू अझै बेपत्ता हुनुहुन्छ । जिल्लाका सबै ठाउँमा सडक अवरुद्ध छ । जिल्लाका दुरदराजमा गर्भवती र बिरामीको बिचल्ली भएको छ ।
बिचल्ली भएकालाई लिन गएको नेपाली सेनाको हेलिकाेप्टर समेत अवतरण गर्न सकेको छैन । प्रतिकुल मौसमका कारण उद्धारमा कठिनाई भइरहेको इलामका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिनुभएको छ । स्थानीय पालिकाले सडक खुलाउनका लागि सबै ठाउँमा काम गरिरहेका छन् ।