• २१ असोज २०८२, मङ्गलबार

एक वर्षमै थिलथिलियो बिपी राजमार्ग

blog

राजकुमार पराजुली /रासस

काभ्रेपलाञ्चोक, असोज २१ गते । सङ्घीय राजधानी काठमाडौँलाई पूर्वी नेपालसँग जोड्ने छोटो, एकमात्र वैकल्पिक र अत्यन्त महत्त्वपूर्ण सडक मार्ग हो बिपी राजमार्ग । 

गत वर्षको बाढी, पहिरोबाट क्षत् विक्षत बनेको राजमार्ग अस्थायी ढङ्गबाट निर्माण गरी यातायात सञ्चालन हुँदै आएकामा यही असोज १८ र १९ गतेको बाढीपहिरोले पुनः थिलथिलो बनेको छ । राजमार्गको मध्यक्षेत्र अर्थात् काभ्रेपलाञ्चोकतर्फको सडकखण्ड भत्किएर क्षत्विक्षत भएपछि हाल यस राजमार्गको सडक सम्पर्कविच्छेद भएको छ । 

वर्षायाममा केही भागमा क्षति पुर्‍याए पनि अघिल्लो साताको अविरल वर्षामा काभ्रेपलाञ्चोकको रोशी खोलामा आएको बाढीले राजमार्गका सडकखण्ड क्षतिग्रस्त बनाएको हो । यस वर्ष पनि असोजमै राजमार्गको विभिन्न सडकखण्डमा सडकको नामोनिसानै मेटिने गरी, पैदलसमेत हिँड्न नसक्ने गरी बाढीपहिरोले तहसनहस बनाइदियो । 

गत साल असोजमा क्षत् विक्षत राजमार्गमा अस्थायी सडक एवं डाइभर्सन बनाई सञ्चालन गरिए पनि स्थायी बनाउने प्रक्रियामै रहेका बेला राजमार्ग पुनः थिलथिलो बनेको छ । डिभिजन सडक कार्यालय भक्तपुरको प्रारम्भिक अनुगमन निरीक्षणअनुसार बाढीले करिब चार किलोमिटर सडक बगाएको छ । 

पुनः अस्थायी डाइभर्सन बनाउन काम थालिएको कार्यालयको इन्जिनियर विन्दु अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेको बाढीले गत सालको बाढी पहिरोपछि बनाइएको डाइभर्सन पूर्णरूपमा कटान गरेको छ ।

 विसं २०७२ को विनाशकारी भूकम्पले केही सडकखण्ड क्षतिग्रस्त बनाएको थियो भने केही सडकखण्ड जोखिमकै अवस्थामा रहेका थिए । राजमार्ग जापान सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा धुलिखेल–सिन्धुली–बर्दिबास १६० किलोमिटर लामो राजमार्ग बनेको हो । 

विसं २०७२ असार १८ गते औपचारिक रूपमा यो राजमार्ग जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । करिब २६ अर्ब जापानी येन बराबरको लागतमा खण्डखण्डमा निर्माण सम्पन्न यस राजमार्गले पूर्वी नेपाललाई राजधानीसँग छोटो र सिधा जोड्को छ । यस राजमार्गको निर्माण सम्पन्न भएपछि पूर्व–पश्चिम राजमार्ग हुँदै नारायणघाट–मुग्लिन–काठमाडौं घुम्नुपर्ने झन्झट अन्त्य भएको थियो । गत वर्षको असोज १०, ११ र १२ गते परेको अबिरल वर्षाका कारण रोशी खोला बढीले बर्दिबासदेखि धुलिखेलसम्म १० किलोमिटर सडक क्षतिग्रस्त भएको थियो । त्यसलाई अस्थायी मर्मत गरेर सञ्चालनमा ल्याएको वर्ष दिन नपुग्दै यही असोज १७ र १८ मा वर्षाले पुनःक्षति गराएको हो ।

सङ्घीय राजधानी काठमाडौँबाट बागमती प्रदेशअन्तर्गत अरनिको राजमार्गअन्तर्गत धुलिखेलबाट सुरु भएको यस राजमार्ग मध्यपहाडीको हाल निर्माणाधीन पुष्पलाल रार्जमार्गसँग समेत जोडिएको छ । तर, भूकम्पले केही दूरीका सडक भत्काएको यस मार्गलाई २०८१ र २०८२ सालको बाढी पहिरोले थप क्षतिग्रस्त बनाएको हो । राजमार्गअन्तर्गत यस क्षेत्रमा पुल नबनेका भ्याकुरे, घ्याम्पे र रोशी खोला बारम्बार समस्या बन्दै आइरहेका छन् । वर्षा भएकाबेला यी खोलाबाट आउने खहरे र बाढीले हरेक दिनजसो सडक बन्द हुने अवस्था निम्तिएको छ ।

गत सालको वर्षाले काभ्रेपलाञ्चोकेको भकुण्डेबेँसीदेखि सिन्धुलीको नेपालथोकसम्म करिब ३० किलोमिटर सडकमा बाढीले क्षति पुर्‍याएको थियो । 

विशेषगरी नेपालथोक–आँपटार, कालढुङ्गा, डालाबेँसी, चिउरीबास, एक नम्बर पुललगायतका ठाउँमा सयौँ मिटर सडक बगाएको छ । त्यसबेला सानो खोलाले पनि डाइभर्सनसमेत बगाएको थियो । गतसाल राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक तर्फको नार्के बजार, चौकीडाँडा, दाउन्ने, माम्ती खोला र बेँसीका सडकखण्ड पूर्णरूपमा बगाएका थियो । गत सालको वर्षाले बगाएको सडकमा अस्थायी ट्रयाक खोलिएको भए पनि गत वैशाख अन्तिम साताको बाढीले फेरि डाइभर्सनलगायत अस्थायी सडक बगाएको थियो । 

यही असोज १७ गते रातिदेखि निरन्तर परेको वर्षाले उक्त राजमार्गको भकुण्डे–नेपालथोक सडकखण्डमा धेरै क्षति पुर्‍याएको कार्यालयले जनाएको छ । इन्जिनियर अधिकारीका अनुसार बिपी राजमार्गअन्तर्गत यस सडकखण्डको १७ स्थानमा रोशी खोलाले क्षति पुर्‍याएको छ भने राजमागको चौकीडाँडा, बोक्सेकुना, माम्ती, चार सयबेँसी, घुमाउनेलगायतका स्थानमा निकै नै जोखिम रहेको छ । यी स्थानमा अब शून्यबाटै फेरि मर्मत सुरु गर्नुपर्ने अधिकारीको भनाइ छ । अस्थायी रूपमा मर्मतगरी सकेसम्म छिट्टै यातायात सञ्चालन गर्ने तयारी भइरहेको पनि उहाँले बताउनुभयो । हिजो सोमबारदेखि नै काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाको सीमा क्षेत्र चौकीडाँडाबाट मर्मत कार्यको थालनी गरिएको छ । 

कार्यालयका अनुसार रोशी खोलालाई पूर्वतर्फ डाइभर्ट गरी ट्र्याक बनाउन सुरु गरिएको हो । नेपालथोकदेखि सिन्धुलीतर्फ बर्खेखोलासम्म करिब ६०० मिटर रोशी खोलाले बगाएको छ । ट्रयाक खुलेपछि काभ्रेपलाञ्चोकको माम्तीसम्म यातायात सञ्चालन हुने छ । कार्यालयका अनुसार हाल ११० किलोमिटर सडकमा यातायात सञ्चालन रहेको र ५० किलोमिटर पुनर्निर्माणको चरणमा रहेको छ । 

कार्यालयले गत साल असोजको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गअन्तर्गत २९ किलोमिटर सडकखण्डलाई चार खण्डमा पुनर्निर्माण गर्नेगरी यस वर्ष प्रक्रिया अघि बढाइएको थियो । त्यतिबेला बाढीपहिरोले आठ किलोमिटर सडक पुरै बगाएको थियो ।

क्षतिग्रस्त बिपी राजमार्गको पुनर्निर्माणका लागि काभ्रेपलाञ्चोक क्षेत्रमा तीन खण्ड र सिन्धुलीतर्फ एक खण्डमा दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित काम हुने भएको थियो । कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार हाललाई अस्थायी सडक बनाएर सञ्चालनमा ल्याउने योजना अघि बढाइएको हो । “स्थायी पुनःनिर्माणबारे त्यसपछि के गर्ने भन्ने विषयमा मन्त्रालय र विभागको निर्णयअनुसार अघि बढिने छ”, योगशेले भन्नुभयो । 

यस राजमार्ग दुई वर्षमा पुनर्निर्माणका लागि हाल काभ्रेपलाञ्चोकतर्फ दुई र सिन्धुलीतर्फ एक गरी तीन प्याकेज बनाएर ठेक्का सम्झौता गरिएको थियो । स्थायी निर्माणको काम भने मनसुन बाहिरिएपछि मात्र सुरु हुने जनाइएको थियो । क्षतिग्रस्त राजमार्गको पाँच किमी सडकखण्डमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले काम गर्ने छ । जाइकाले पिप्लेदेखि बर्खे खोलासम्म ३ दशमलव २ किमी सडक निर्माण गर्ने छ । त्यसका लागि फाइनल सर्भेको काम सकिएको र ठेक्का सम्झौताको चरणमा रहेको योगेशले बताउनुभयो । बाँकी सिन्धुलीतर्फको एक सडकखण्ड र काभ्रेपलाञ्चोकतर्फको दुई सडकखण्डमा ठेक्का सम्झौताको तयारी भइरहेको उहाँको भनाइ छ ।

यस्तै, क्षतिग्रस्त राजमार्ग स्थायी पुनर्निर्माण गर्दा इन्टरमिडियट लेनबाट कम्तीमा दुई वटा गाडी सहज रूपमा गुड्ने गरी सात मिटर चौडाइको कालोपत्र भएको र अर्को रोशी खोलामा बाढी आउँदा बाढीले खोल्नसक्ने नदीको सतहभन्दा तलबाट आरसिसी पर्खाल लगाएर सडक निर्माण गरिने जनाइएको छ । कार्यालयले पहिलो चरणमा भकुण्डेदेखि नेपालथोकसम्मको २८ किलोमिटर सडक दुई लेनको बनाउने छ । 

यस राजमार्गमा जोखिमका कारण गत असार ७ गतेदेखि राति सवारी सञ्चालनमा रोक लगाउँदै आइएकामा यही असोज १ गतेदेखि २४सै घण्टा सञ्चालनमा ल्याइएको थियो । त्यसअघि राजमार्गमा साँझ ५ः०० देखि बिहान ५ः०० बजेसम्म १२ घण्टा राजमार्गमा यात्रुवाहक तथा निजी सवारी सञ्चालनमा रोक लगाउँदै आइएको थियो । पुनः मनसुन सक्रिय रहने भएपछि असोज १६ गतेदेखि रातको समयमा १२ घण्डा रोक लगाइए पनि असोज १८ र १९ गतेको बाढीपहिरोले यस राजमार्गको सडक सम्पर्कबिच्छेद पारिदिएको छ ।

दैनिक करिब तीन हजार सवारी साधन आवतजावत गर्ने यस राजमार्गमा चाडबाडका बखत तेब्बर सवारी साधन ओहोरदोहोर गर्छन् । यस राजमार्ग हाल इन्टरमिडियट लेनको छ भने अब दुई लेनको निर्माण हुने भएको हो । सरकारले क्षतिग्रस्त बिपी राजमार्गको स्थायी निर्माण र मर्मतका लागि सडक डिभिजन भक्तपुरलाई सात अर्ब ५० करोड र सिन्धुलीको खुर्कोट सडकखण्डलाई एक अर्ब उपलब्ध गराएको थियो । त्यसो त जाइकाको प्राविधिक अध्ययनले बिपी राजमार्गमा १६ टनभन्दा माथिको सवारी साधन सञ्चालन गर्न रोक लगाएको छ । तर व्यापारीले प्रशासनलाई प्रभावमा पारेर २५ टनसम्मका सवारी साधन सञ्चालन गर्दै आइरहेका छन् । बिपी राजमार्गमा टिप्परले २५ टनसम्म गिटी बालुवा लिएर निर्वाध रूपमा सञ्चालन हुने गरे पनि सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन ।

बिपी राजमार्गको संरचना भत्काउने मुख्य कारकका रूपमा यस सडकमा सञ्चालन हुने टिप्पर पनि रहेका छन् । दैनिक यस सडकमा छ सयभन्दा बढी टिपर क्षमताभन्दा बढी लोड लिएर सञ्चालन भइरहेका छन् । सङ्गठित रूपमा टिपर सञ्चालक र क्रसर व्यवसायीले स्थानीय प्रशासनलाई प्रभाव पार्दै बिपी राजमार्गको संरचनालाई जोखिममा पार्दै आए छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार हाल बिपी राजमार्गमा साना ठुला गरी दैनिक तीन हजार बढी सवारी साधन आवतजावत गर्ने गरेका छन् । मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध हुँदा पूर्वबाट आउने अधिकांश साना सवारी साधन बिपी राजमार्ग हुँदै सञ्चालन हुने गरेका छन् । यस सडकमा टिप्पर, मिनीबस, टाटासुमो र माइक्रोबस बढी सञ्चालन हुने गरेका छन् ।