वासिङ्टन, असोज २१ गते । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले यमनमा हुथी विद्रोहीले थप नौ जना संयुक्त राष्ट्रका कर्मचारीलाई मनाेमानी रूपमा पक्राउ गरेको घटनाको कडा निन्दा गर्नुभएको छ ।
उहाँले हुथी नियन्त्रणमा रहेका क्षेत्रमा संयुक्त राष्ट्रसङ्घका सम्पत्ति र सुविधा कब्जा गरिएको घटनाप्रति पनि गम्भीर चिन्ता व्यक्त गर्नुभयो । राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हालै हुथी डि-फ्याक्टो अधिकारीहरूले संयुक्त राष्ट्रसङ्घका नौ जना थप कर्मचारीलाई हिरासतमा लिएका छन्, जसका कारण सन् २०२१ देखि मनमानी रूपमा पक्राउ परेका संयुक्त राष्ट्रसङ्घका कर्मचारीको कुल सङ्ख्या ५३ पुगेको छ ।”
विज्ञप्तिमा भनिएको छ, “यी कार्यले यमनमा संयुक्त राष्ट्रसङ्घको मानवीय तथा विकास सहयोगका कार्यक्रम सञ्चालन गर्ने क्षमतामा गम्भीर असर पारिरहेका छन् ।” गत महिना राष्ट्रसङ्घले हुथीको नियन्त्रणमा रहेको राजधानी सानााबाट आफ्नो शीर्ष मानवीय संयोजकलाई सरकारको नियन्त्रणमा रहेको दक्षिणी सहर एडनमा स्थानान्तरण गरेको थियो ।
स्मरणीय छ, सन् २०१४ मा हुथी विद्रोहीले सानाबाट अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई निष्कासन गरेपछि उक्त सरकारले एडन सहरलाई आफ्नो अस्थायी राजधानी बनाएको छ । यसअघि, गत अगस्टमा राष्ट्रसङ्घले इरान समर्थित हुथी विद्रोहीले इजरायली आक्रमणमा विद्रोही प्रधानमन्त्रीको मृत्यु भएपछि प्रतिशोध स्वरूप कम्तीमा ११ जना राष्ट्रसङ्घीय कर्मचारीलाई पनि पक्राउ गरेको जनाएको थियो ।
डुजारिकले भन्नुभयो, “संयुक्त राष्ट्रसङ्घले मनमानी रूपमा हिरासतमा राखिएका सबै कर्मचारीको तत्काल र सुरक्षित रिहाइका लागि, साथै कब्जा गरिएका सम्पत्ति र कार्यालय फिर्ता गराउन उपलब्ध सबै माध्यम प्रयोग गरी निरन्तर प्रयास जारी राख्नेछ ।” उहाँले यस्ता कदमले यमनमा अत्यावश्यक मानवीय सहायता वितरणमा थप अवरोध सिर्जना गरेको भन्दै तत्काल अन्तर्राष्ट्रिय नियम र मानव अधिकारको सम्मान गर्न हुथी पक्षलाई आग्रह गर्नुभयो । रासस/एएफपी