• २१ असोज २०८२, मङ्गलबार

इलामका बाढी पीडितलाई प्रदेश सरकारको राहत सामग्री

blog

प्रेम अधिकारी 

पशुपतिनगर (इलाम), असोज २१ गते । इलामका बाढी पहिरो पीडितलाई कोशी प्रदेश सरकारले राहत सामग्री वितरण सुरु गरेको छ । 

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की मङ्गलबार नेपाली सेनाको हेलिकाेप्टरमा राहत सामग्री लिएर इलामको माङ्सेबुङ गाउँपालिकाको गजुरमुखी र इलाम नगरपालिका पुग्नु भएको हो । 

प्रदेश सरकारले प्रारम्भिक चरणमा चामल, त्रिपाल, ब्ल्याङ्केट, दाल लगायतका सामग्री वितरण गरेको मुख्यमन्त्री कार्कीका प्रेस संयोजक बिक्रम लुइटेलले जानकारी दिनुभयो ।

उहाँले बुधबार इलामको देउमाई , सन्दकपुर , माईजोगमाई लगायतका क्षेत्रमा राहत सामग्री लगिने जानकारी दिनुभयो । प्रेस संयोजक लुइटेलले सेनाको हेलिकाेप्टरको क्षमता एक हजार किलोग्राम मात्र बोक्ने भएकाले त्यहि बराबरको दरले सामग्री लगिएको जानकारी दिनुभयो । 

उहाँले प्रदेश सरकारले इलाममा राहत सामग्री पठाउनका लागि गाडीमा लोड गरी सामग्री पैदलमार्गबाट समेत पठाइएको जानकारी दिनुभयो । राहत वितरण गर्न आउनु भएका मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले बाढी पीडितलाई सक्दो सहयोग गर्ने बताउनुभयो । 

यसअघि कोशी प्रदेश सरकारले बाढी पहिरोमा परी मृत्यु हुने प्रत्येक व्यक्तिका परिवारलाई एक लाख रुपियाँका दरले सहयोग गर्ने घोषणा गरिसकेको छ ।